|

सप्तरी : कोशीको पानी नेपाली भू–भागमा छिरेका कारण सप्तरीको भारदहदेखि तिलाठीसम्मको करिब एक सय ६० वर्ग किलोमिटर क्षेत्र डुबानमा परेको पाइएको छ। यसका कारण ६ सय परिवारको उठिबास भएको छ भने हजारौं बिघाको धानबाली सखाप भएको छ।

भारतले बनाएको पश्चिमी तटबन्ध (भारदहदेखि तिलाठीसम्म) राखिएका ६ वटा जलद्वार (स्लुइस गेट) बाट कोशीको पानी नेपाली भू–भागमा छिरेको हो। यी जलद्वारबाट केही वर्षअघिसम्म नेपाली भू–भागको पानी कोशीमा गएर मिसिन्थ्यो। यी क्षेत्रमा पानी नपस्ने र डुबान नहुने भएकाले यिनलाई ‘सुरक्षित क्षेत्र’ का रूपमा ‘चर्चित’ रहेको रम्पुरा मल्हनियाँका बासिन्दा तथा अधिवक्ता देवनारायण यादवले बताए।

यादवका अनुसार ‘च्यानलाइज’ गरेपछि कोशीको पानीले भारदह, हनुमाननगर हुँदै इनरवा, को को.बर्साइन, रम्पुरा मल्हानियाँ, कोइलाडी, सकरपुरा, तिलाठी, जोगनिया वडा नं. १ र २, लाई डुबानमा पारेको हो। कोशीको पानीले मात्र १० किलोमिटर चौडाइ र १६ किलोमिटर लम्बाइको नेपाली भू–भाग डुबानमा परेको उनले बताए।

नेपालमै उत्पत्ति भएको मौलीको पानीसमेत कोशीमा मिसिने गरेको थियो। तर, मौलीको पानीसमेत डुबानको कारक बन्यो। ‘सुरुदेखि नै कोसीका ५६ ढोकामध्ये पश्चिमतर्फ (नेपाली भू–भाग आउने) का ढोका खोलिदियो, जसले गर्दा पानी यतै (नेपालतर्फ) आयो’, उनले भने।

भारतले गत वर्ष ‘कोशी पश्चिमी तटबन्ध बाढी नियन्त्रण आयोजना’ कोशीको पानीलाई मध्यभागबाट बगाउने उद्देश्यले ब्यारेजदेखि तल तीन किलोमिटर ‘च्यानल’ खनेपछि कोसीको पानी मध्यतिर नगई पश्चिमी (नेपाली क्षेत्र) तर्फ सोहोरिएर नेपाली भू–भाग डुबानमा परेको हो । ‘भारतले कोशीको मध्यभागमा च्यानल बनाएर बीचबीचै कोशीको पानी बगाउन खोज्यो’, यादवले भने,‘तर पानी मध्यतिर नगई नेपाली भू–भाग भएको पश्चिमी तटबन्धमा हानियो, जसले गर्दा त्यो पानी हामीकहाँ छिर्‍यो

एकातिर कोशीको पानी पश्चिमी तटबन्ध हुँदै नेपाली भूभागतर्फ सोहोरिएर आयो भने अर्कोतर्फ रम्पुरा मल्हनियाँ, तिलाठीलगायत नेपाली भू–भागको पानी कोसी नदीमा नगई उल्टै कोशीको पानी छिर्न पुगेकाले बढी डुबान भएको स्थानीयको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.