|

काठमाडौं : स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ। चीरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनाविरुद्ध समग्रमा ५-१ को जित निकाल्दै रियलले उपाधि उचालेको हो। पहिलो लेग ३-१ ले जितेको रियल गएराति भएको दोस्रो लेगमा २-० ले विजयी भयो।

घरेलु मैदानमा रियललाई जित दिलाउने क्रममा मार्को एसेन्सियो र करिम बेञ्जेमाले १-१ गोल गरे। टिमका स्टार क्रिस्टियानो रोनाल्डो भने ५ खेलको प्रतिबन्धका कारण मैदानमा उपस्थित थिएनन्। यसै प्रतियोगिताको पहिलो लेगमा रेफ्रीलाई धकेलेपछि रोनाल्डोमाथि प्रतिबन्ध लागेको हो।

रियलले ला लिगा च्याम्पियन र बार्सिलोनाले कोपा डेल रे विजेताको हैसियतमा प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएका हुन्। स्पेनिस लिगको नयाँ सिजन यसै साता सुरु हुँदैछ। सिजनको सुरुवातमा मिलेको यो जितले रियलको मनोबल निकै उच्च बनाएको छ।

आफ्ना स्टार खेलाडी नेयमारलाई गुमाएको बार्सिलोनाको लय भने सिजनको सुरुवातमा निकै खराब देखिएको छ। नेयमार किर्तिमानी २२२ मिलियन युरोमा यसै सिजन फ्रेन्च टोली पेरिस सेन्ट जर्मेनमा आबद्ध भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.