|

काठमाडौँ: १५ अगस्ट, 'विश्वको ठूलो लोकतन्त्र' भारतको स्वतन्त्रता दिवस। भारतको नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी 'सबका साथ सबका विकास' को नारासहित धुमधामसँग स्वतन्त्रता दिवसमा सहभागी भइरहँदा भारतको प्रतिष्ठित साहित्य अकादमी पुरस्कार, १९९८ बाट सम्मानित दार्जिलिङका कवि मनप्रसाद सुब्बा भन्दै थिए, 'हामी आन्तरिक उपनिवेशमा छौँ।' काठमाडौँको भृकुटीमण्डपमा कवि महेश पौड्यालले सम्पादन गरेको 'मनप्रसाद सुब्बाका प्रतिनिधि कविता' संग्रहको विमोचन समारोहमा उनी भनिरहेका थिए, 'भारतको स्वतन्त्रता दिवस मनाउने चाहना दार्जिलिङका जनतामा पनि छ तर त्यसबाट हामीलाई वञ्चित गरिएको छ।' 

नेपालका मूर्धन्य कवि वैरागी काइँलाको बायाँपट्टि बसेका उनले यस पटक नेपाल आउने क्रममा भोगेको दुःख पनि बाँडे: 'अनुमति लिएर आउनुपर्‍यो।' विगत २९ वर्षदेखि साहित्यिक चर्चाका लागि र इष्टमित्र भेट्न वर्षमा तीन पटकसम्म नेपाल आउजाउ गरिरहेका उनले यो पटक नेपाल छिर्दा हातमा 'अनुमतिपत्र' बोक्नुपर्‍यो। यता आएपछि भने साहित्यकार र पुराना साथीहरू भेटेर 'ऊर्जा थपिएको' उनले बताए। 

समयानुकूल फरक शैलीमा कविता लेख्ने र कवितामा अधिकांश जनताको अधिकारका कुरा उठाउने मनप्रसाद सुब्बासँग जयसिंह महराले दार्जिलिङका दुःखबारे गरेको कुराकानीः 

तपाईंका कवितामा पाइने प्रेम र प्रकृतिका कुरामा अधिकार र मान्छेका कुरा आउँछन्, यसरी कविता रचना गर्नुको ध्येय के हो?

'यो समयको माग हो है! म समय जुन प्रकारले बाँचिरहेको छु, अथवा जुन किसिमको समयमा आफूलाई बाँचेको पाइरहेको छु, त्यो समयप्रतिको चेतना वा समय चेत हो। भनौँ न, त्यो समय चेतको कारणले गर्दाखेरि पनि मेरो लेखनमा त्यो प्रकारको समसामयिक कुराहरूलाई समसामयिक पाराले नै लेख्ने, समसामयिक प्रस्तुति दिने र समसामयिक पाठकहरूलाई लक्ष्य गरेर रचना गर्दा त्यसो हुन पुगेको हो। 

हुनत मेरा कवितामा अधिकार र विद्रोह मात्रै नभएर विविध विषयवस्तु छन्। पछिल्ला समकालीन स्वर भएका कविताहरूमा अधिकारका कुरा पाउनुहुन्छ। १५ वर्ष यतादेखि लेखिएका कविताहरूमा त्यस्ता स्वरहरू देखिन्छ। त्योभन्दा अघिका कविताहरूमा अरूअरू किसिमका स्वरहरू पाइन्छ। 

कुरा दार्जिलिङको गरौँ, दार्जिलिङ आन्दोलित छ। यो आन्दोलनको जरो भाषा र साहित्यसँग जोडिएको छ... (बीचैमा)

नेपाली भन्नेबित्तिकै हामी जाति बुझ्छौँ। नेपाली भाषा बुझ्छौँ। नेपाली भाषा भन्नेबित्तिकै सम्पूर्ण नेपाली जातिको मातृभाषा हो भन्ने अर्थमा बुझ्छौँ। र, हाम्रो नेपाली जातिमाथि, भाषामाथि कसैले हेला होचो गर्न खोज्छ भन्देखिन् त्यसले हामी आहत हुन्छौँ। हामी त्यसप्रति विरोध प्रकट गरिहाल्छौँ। प्रतिवाद गरिहाल्छौँ। त्यहाँका जनता उठ्छन्। सुरुदेखि जति पनि राजनीतिक मागहरू उठेका छन्, ती जम्मै राजनीतिक मागहरू यही जाति, नेपाली जातीय धारणा र नेपाली भाषाप्रतिको जुन प्रेम छ, त्यहाँबाट नै उठेर आएको आन्दोलन हो। चाहे त्यो भाषा आन्दोलन होस्, चाहे त्यो गोर्खाल्यान्डको आन्दोलन होस्। कुनै पनि राजनीतिक मागको आन्दोलन नेपाली जातिको कारणले नै नेपाली जातिको सुरक्षाको निमित्त, नेपाली भाषा र संस्कृतिको सुरक्षा र राष्ट्रिय पहिचान, भारतमा नेपाली जातिको राष्ट्रिय पहिचान उभ्याउने उद्देश्यले नै त्यो आन्दोलन उठेको छ। 

भारत स्वतन्त्रता दिवस मनाइरहेको छ। दार्जिलिङले कसरी 'सेलिब्रेट' गरिरहेको छ यसलाई?

दार्जिलिङमा अघिल्ला वर्षहरू जस्तो उल्लास र उत्साह हुन्थ्यो, त्यो त यसपालि हुँदैन। आन्दोलनको अवस्थामा र स्थितिमा त्यो उत्साह आउने त कुरै आएन। तथापि, त्यसलाई बहिष्कार गर्ने कुरा पनि छैन। त्यसलाई पालन गर्ने हो किनकि हामी भारतका हौँ। भारतीय नागरिक हौँ र भारतको राष्ट्रिय पर्व १५ अगस्ट, गणतन्त्र दिवस २६ जनवरीलाई हामी बहिष्कार गर्दैनौँ। त्यसलाई हामी स्थितिअनुसार जस्तो प्रकारले मनाउनुपर्छ, जुन आस्था दिएर मनाउनुपर्छ, त्यसरी नै मनाउछौँ। तर त्यसमा भारतमा नेपाली जातिको प्रासंगिकतासँग जोडेर नै जानुपर्छ। 

तपाईंले हामी भारतमा 'आन्तरिक रूपमा कोलोनाइज्ड (अौपनिवेशिक) अवस्थामा छौँ' भन्नुभएको थियो... (बीचैमा)

त्यो त अवश्य छौँ। बहुसंख्यकले अल्पसंख्यकलाई हेप्ने, अल्पसंख्यकको भाषा, साहित्य र संस्कृतिमाथि अतिक्रमण गर्ने कुचक्रहरू चली नै रहन्छन्। त्यसको जसले विरोध गर्न सक्यो, त्यो टिकेर बसेको छ, जसले विरोध गर्न सक्दैन, त्यसको भाषा, संस्कृति मासिएर जान्छ। 

पश्चिम बंगालभित्रै पनि हामी एउटा अल्पसंख्यक हौँ। जहाँसम्म हाम्रो भाषा, संस्कृति, जातिको कुरा छ, बंगालीहरूको बाहुल्यमा हामीचाहिँ अल्पसंख्यक हौँ। उनीहरूको बाहुल्य, अतिविशाल बाहुल्य जो छ, त्यसले जहिले पनि हामीलाई पर किनारातिर धकेल्न चाहन्छ। किनारीकृत गर्न चाहान्छ हामीलाई। हामी त्यसप्रति सचेत छौँ। त्यहाँनेर नेपाली जाति अर्थात् गोर्खा जाति आफ्नो नेपाली भाषा, संस्कृतिको निमित्त सधैँ नै अत्यन्त सचेत छ। जति उनीहरूले नेपाली जातिलाई फुटाउन खोजे तापनि हाम्रो सोलिडारिटी (एेक्यवद्धता) सधैँ नै आवश्यक परेको बेलामा देखापरेकै छ। 

बंगालमा नेपाली जाति/गोर्खा जातिबाहेक अन्य अल्पसंख्यक आदिवासी जस्तै: राजवंशी, कोचे, मेचे, सन्थालको भाषाको संरक्षण कहिल्यै भएको छैन। राजवंशी भन्ने आदिवासी छ, धेरै पुरानो। राजवंशी जातिको आफ्नै भाषा थियो। आफ्नै संस्कृति थियो। अहिले राजवंशी जाति सम्पूर्ण जाति नै बंगालीकरण भइसक्यो। बंगाली बहुसंख्यक यस्तो प्रकारले उनीहरूमाथि हावी भइदियो कि उनीहरूले आफ्नो भाषा, संस्कृतिलाई बचाउन सकेनन्। अहिले राजवंशी जाति बंगाली जातिसँग मिलिसक्यो मोटामोटी। उसको छुट्टै पहिचान छैन। पहिचान हराइसक्यो। उनीहरूको जो भाषा थियो, त्यो पनि हराइसक्यो। र, उनीहरू बंगला भाषा नै लेख्छन्, बोल्छन्, त्यस्तो भइसक्यो। यस्तै गर्न चाहन्छन् यिनीहरूले। 

राजवंशीलाई बंगाली भाषामा विलय गराएको भूतले नेपालीभाषी गोर्खालाई जगाएको हो?

हुन सक्छ। उनीहरू (बंगाल राज्य सरकार)ले पहिला पनि असममा त्यसो गर्न खोजे। मणिपुरमा त्यसो गर्न खोजे। केही हदसम्म सफल पनि भए। जस्तै: मणिपुरमा बंगला लिपि, ब्राह्मी लिपि उनीहरूले चलनमा ल्याए र मणिपुरीहरूले आफ्नो भाषा ब्राह्मी लिपिमा लेख्छन्। आफ्नै भाषा ब्राह्मी लिपिमा लेख्छन्। उनीहरूको आफ्नै लिपि थियो नि त! पछिल्लो पुस्ताकाहरूले १०-१२ वर्षदेखि, बढीमा १५ वर्षदेखि उनीहरू निकै सचेत भएर आफ्नो लिपिलाई उद्धार गर्ने कोसिसमा लागेका छन्। 

मणिपुरकाहरूको मेतेई लिपि हो। अहिले प्राथमिक तहदेखि नै त्यही पढ्ने पढाउने कार्यक्रम सुरु गरेको छ। बिस्तारै अहिले १२ कक्षासम्म पुगिसकेको छ यो। बंगाली लिपि/ब्राह्मी लिपि लेख्न छाडे अब। अबको पुस्ताले लेख्दैन। यसरी उनीहरूले आफ्नो लिपिलाई उद्धार गरे। 

बंगालीहरूले मणिपुरेहरूमाथि ब्राह्मी लिपि लादेका थिए। असममा पनि त्यो गर्न खोजेको थियो। असमीहरू पनि निकै सचेत भएपछि बंगालीहरूलाई त्यहाँबाट उच्छेद गर्ने, असमबाट हटाउने अभियान चलाए र आफ्नो भाषा, संस्कृति बचाए, जसका कारण उनीहरू उन्नत र समृद्ध अवस्थामा छन्। यसैगरी बंगालमा उनीहरूले सुरुदेखि नै यसो गर्न (भाषामाथि हमला) खोजिराखेका छन्। 

के त्यो संभव छ वा बंगाल सरकारले संभव देखेर चालेको कदम हो त्यो?

अहिले गरेर तीनपल्ट भइसकेको छ। प्रत्येक पल्ट जोडदार प्रतिवाद, विरोध, आन्दोलन जन्माएको छ। अहिले त्यही कारणले गोर्खाल्यान्ड आन्दोलन रिभाइव (पुनर्जागृत) भएर आयो। 

दार्जिलिङमाथि राजनीति बढी भइरहेको हो कि! जस्तो: पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी दार्जिलिङ आन्दोलनसँग आतंककारीको गठजोड रहेको भन्दै छन् र भारतीय जनता पार्टी (बीजेपी) पनि केन्द्रीय सरकारमा छ, राष्ट्रपतिलगायत सबै महत्त्वपूर्ण संवैधानिक निकायमा हुँदा पनि माग पूरा नगर्ने तर आन्दोलनप्रति संवेदना जनाउने गरेको देखिन्छ। यसलाई कसरी हेर्नुभएको छ?

यो आन्दोलन जबजब उठ्छ, त्यतिबेला विदेशीको हात छ भनेर आरोप लगाउने उनीहरूको पहिलेदेखिको बानी नै हो। निराधार आरोप लगाउनु खेल हो। निराधार आरोप लगाएर यिनीहरू आन्दोलनलाई निष्क्रिय पार्ने चाहन्छन्। आन्दोलनलाई अर्कोतिर मोड्ने, दबाउने कोसिस भइरहेकै हुन्छ नि जहिले पनि, तर प्रमाणित गर्नुपर्‍यो नि त! अहिलेसम्म प्रमाणित गरेर देखाउन सकेका छैनन्। बाहिरको कुन शक्तिको हात छ त यो आन्दोलनमा भन्ने उनीहरूले ठोस प्रमाण दिन सकेनन्। 

बीजेपीको भूमिका सुरुसुरुमा हामीप्रति निकै सहानुभूति रहेको देखिन्थ्यो। आन्दोलन भएको झण्डै अढाई महिना पुग्न लाग्यो तर पनि उनीहरूले कुनै ठोस मन्तव्य दिएको छैन। केन्द्रबाट त्यो धारणा सार्वजनिक भएको छैन। 

बीजेपी एनडीए (केन्द्रमा) सरकारको प्रमुख दल हो। यसले आफ्नो पार्टी बिस्तारको काम गरिराखेको छ। विभिन्न राज्यहरूमा विपक्षीलाई कसरी हुन्छ कमजोर तुल्याउने र आफ्नो शक्ति बिस्तार गर्दै जाने खालको उनीहरूको राजनीतिक खेल त भइराखेकै छ। बीजेपी जहाँ सबभन्दा कमजोर छ, त्यहाँ आएर केन्द्रको सत्ताको शक्तिलाई हतियार बनाएर आफ्नो शक्ति स्थापित गर्ने र पार्टी फैलाएर जाने अभियान चलाइरहेको छ। बंगालमा बीजेपी कमजोर छ र उनीहरू यही हतियार चलाउने रणनीतिमा छन्। त्यो रणनीतिमध्येमा बंगालमा पार्टी बिस्तार गर्न भनेर बंगालीहरूलाई सोझै गोर्खाल्यान्डको कुरा गरेर बिच्काउन चाहँदैन। 

बीजेपीले दार्जिलिङमा के गरिरहेको छ, के रणनीति अपनाइरहेको छ?

प्रजातन्त्र नम्बरको खेला हो। मेजोरिटी र माइनोरिटी (बहुमत र अल्पमत) को खेला हो। मेजोरिटीले अझै झन शक्ति बटुल्न माइनोरिटीलाई दमन गरिराखेकै हुन्छ। बंगालमा जति पार्लियामेन्ट्री सिट छ, जस्तै: ४२ सांसदको सिट छ, त्यहाँबाट आठदेखि १० सिटसम्म हत्याइहालौँ भन्ने रणनीति छ। यता, दार्जिलिङ क्षेत्रमा उनीहरूले सांसदको सिट पाउने भनेको एउटा मात्रै हो। त्यो एउटा सिटको लागि उनीहरूले धेरै समय खर्च गर्न र धेरै परिश्रम खर्च गर्न चाहँदैनन्। त्यतिको परिश्रम बंगालमा गर्‍यो भने ८-१० सिट आउला भन्ने पनि हुन सक्छ। त्यो राजनीतिक रणनीतिले गर्दाखेरि पनि दार्जिलिङको मुद्दालाई उनीहरूले त्यति गम्भीरतापूर्वक लिएका छैनन्।

दार्जिलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनका नेतृत्वकर्ता कस्ता छन्? 

आन्दोलनको निमित्त नेतृत्वमा जुन सुनियोजित राजनीतिक कार्यक्रम हुनुपर्ने, आन्दोलनलाई दूरगामी कार्यक्रमका लागि सस्टेनेवल (दिगो) कार्यक्रम ल्याउन सक्ने नेतृत्वमा अभाव छ। आन्दोलन अहिले सकिन्छ, भरे सकिन्छ, एक महिना, दुई महिनामा सकिन्छ भन्ने आन्दोलन त होइन नि यो त! यो एक वर्ष, दुई वर्ष जाला, तीन वर्षसम्म जाला, सयौँ वर्षसम्म होला। यी सबै कुराहरू विचार गरेर सुनियोजित ढंगका कार्यक्रम हुनुपर्‍यो नि नेतृत्वमा, यो भएको छैन।

जस्तै: अहिले अनिश्चितकालीन बन्द भन्या छ त्यो कहिले खुलाउने, कुन अवसरमा खोल्ने, त्यस्तो केही छैन। आमरण भोक हड्ताल भनेको छ। अन्त्यमा चलाउनुपर्ने हतियार पहिल्यै चलाइदिइहालेपछि त्यो आन्दोलन कस्तो हुन्छ? बिथोलिन्छ नि! यस्तो भइरहेको छ। हुनचाहिँ आन्दोलनको लागि सारा नेपालीभाषी मात्र नभएर अनेपालीभाषी समुदाय, जस्तै: बिहारी, मुस्लिम, भोटे, सबैले सहयोग गरिरहेका छन्। उनीहरू पनि चाहन्छन् कि गोर्खाल्याण्ड होस्। यसमा उनीहरूको पूर्ण समर्थन छ। जनताको जुन विराट समर्थन छ नि, यो समर्थनलाई ठीकसँगले दिशानिर्देश गर्ने कार्यक्रम बनेको छैन। सबैभन्दा ठूलो कमजोरी यहीँ होला जस्तो छ। 

तपाईं भर्खरै मात्र दार्जिलिङबाट आउनुभएको छ, दार्जिलिङको वास्तविक अवस्था के छ?

आन्दोलनको सुरुसुरुमा राज्यले आतंक मच्चायो। स्टेट टेरोरिजम (राज्य आतंक) चलायो। प्रहरीले जथाभावी गोली चलाएर आन्दोलनकारीलाई मारिदियो, जसको एफआरआई (उजुरी) दर्ता पनि भएन। उसले हाम्रो प्रहरीले मारेको होइन भन्यो। मारामार परेको हुन्छ। आन्दोलनलाई घरि माओवादीसँग लिंक (जोड्न) गर्न खोज्छ (राज्य सरकार) घरि चाइनासँग जोड्न खोज्छ। 

इन्टरनेट सेवा बन्द गरेको दुई महिना नाघ्यो। फोन सेवा बेलाबेला अवरुद्ध हुन्छ। अनिश्चितकालीन बन्द सुरु भएपछि आवतजावतमा कठिनाइ छ। आन्दोलनसँग जडित प्रमुख पार्टीका नेताहरू जो हुन्छ, उनीहरूबाट चिठी लिनुपर्छ। 'म डाक्टर देखाउन जाँदै छु। मेरो मान्छे बिमारी अवस्थामा छ, उसलाई लगेर अस्पताल जानुपर्नेछ', भनेर त्यो प्रकारले अलिअलि निस्किने मेलो हुँदै छ। रासन ल्याउने कामहरू भइरहेको छ। रासनका गाडीहरूलाई रोक्दैन। 

राज्यले नै नाकाबन्दी गर्‍यो भन्ने कुरा आएको थियो नि! 

रासन ल्याउन राज्यले नाकाबन्दी गरेको हो। सिलगढीमा प्रहरीले नै गाडीहरू रोकेको छ। पुलिसले त जनसुरक्षाको काम गर्नुपर्ने तर आतंकवादीहरूले जस्तो अर्थात् स्टेट (ममता बनर्जीको) को पार्टीको क्याडर (कार्यकर्ता)ले जस्तो काम गरिराखेको छ। राज्यले यो खालको दमन गर्ने हरेक किसिमका उपायहरू गरिराखेकै छ। 

दार्जिलिङको कला साहित्य वृत्तले आन्दोलनलाई कसरी लिएको छ?

कलाकार, साहित्यकार यो आन्दोलनमा सरिक भइराखेकै छन्। साहित्यमा पनि यसबारेमा कविताहरू लेखिइरहेका छन्। सडकमा कवितावाचन भइरहेका छन्। कलाकारहरू पनि जुलुस लिएर आन्दोलनमा सहभागी भइरहेका छन्। 

आन्दोलनको बैठान कसरी र कहिले होला भन्ने केही अनुमान गर्नुभएको छ?

यो आन्दोलन कहिलेसम्म चल्छ र के निष्कर्षमा पुग्छ भन्नै सकिने अवस्था छैन।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.