निर्वाचन पर्यवेक्षणमा भूमिका नदिएकोमा इयुको गुनासो

|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र युरोपियन युनियनको 'डेमोक्रेसी एन्ड इलेक्ट्रोरल अब्जरभेजन डिभिजन' का प्रमुख निकोले पाउसको टोलीबीच भेटवार्ता भएको छ।

युरोपियन युनियन (इयु) का राजदूत रिन्चे तेरिङ्क सहितको उपस्थितिमा भएको भेटमा उनीहरूले संविधान संशोधन र निर्वाचनबारे चासो राखेको अध्यक्ष ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए। संविधान संशोधन प्रकृया कसरी अगाडि बढिरहेको छ र नेपालको राजनीतिक दिशा कसरी अगाडि बढ्छ लगायतका विषयमा उनीहरूले चासो व्यक्त गरेका थिए।

टोलीले प्रतिपक्षी दलको नेताको रुपमा ओलीको नेतृत्व र भूमिकाको प्रसंसा गरेका थिए। उनीहरूले नेपालको निर्वाचन प्रक्रियामा पनि सहयोग गर्ने इच्छा व्यक्त गरेका छन्। निर्वाचन पर्यवेक्षण र अनुगमनमा सरकारले आफूहरूलाई भूमिका नदिएको गुनासो उनीहरूले गरेको ओलीका स्वकीय सचिव दाहालले जानकारी दिए।

अध्यक्ष ओलीले नेपालको राजनीतिक अवस्था, निर्वाचनमा भएका धाँधलीका विषय, निष्पक्षतामा उठेका प्रश्न, संविधान संशोधन, राष्ट्रियता लगायतका विषयमा आफ्ना कुरा राखेका थिए। 'सरकारले अहिले पनि संविधान संशोधनको विषय उठाइरहेको छ। तपाईँहरुले पनि चासो राख्नुभयो', ओलीले भने, 'तर संविधान संशोधन प्रस्तावका सन्दर्भमा सहमति हुँदैन। यो संसदमा पेश भए पनि फेल हुन्छ।'

ओलीले राजनीतिक र संवैधानिक जटिलताबारे समेत युरोपियन युनियनको टोलीलाई जानकारी गराए। ओलीले बुधवार प्रधानमन्त्री शेरबहादुर देउवा लगायत तीन दलीय छलफलमा भएका बुँदाका बारेमा जानकारी गराएका थिए।

'तीन दलको छलफलमा तेस्रो चरणको स्थानीय निर्वाचन समयमा गर्ने, बाँकी रहेका दुई चरणका निर्वाचन पनि समयमै हुनुपर्छ, प्रदेश र केन्द्रीय चुनाव एकै समयमा गराएर संविधान अनुरुप कार्यान्वय हुनुपर्ने वातावरण बनाउनुपर्छ भन्ने विषयमा छलफल भएको छ', ओलीले भने, 'यस विषयमा आज पनि छलफल हुँदैछ। त्यसपछि निर्वाचनसम्बन्धी कार्यतालिका आउला।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.