|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विधेयक पारित हुने दाबी गरेका छन्। जनकपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले विधेयक पारित गर्न सरकार र सत्तारुढ दलहरु लागिपरेको बताए। विधेयक पारित गर्न कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सकारात्मक रहेको उनको भनाइ छ।

सरकारले आगामी सोमबार संसदमा संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्ने तयारी गरिरहेको छ। विधेयकलाई प्रक्रियामा लैजान प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि सहमत रहेको उनले बताए।

साथै प्रचण्डले प्रदेश र प्रतिनिधिसभा निर्वाचन एउटै मितिमा गर्ने सहमति पनि दलहरुबीच भइसकेको जानकारी दिए।

जनकपुरमा आयोजित पार्टीको एक कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका प्रचण्डले बाढी र डुबानबाट तराईमा जनधनको ठूलो क्षति भएको उल्लेख गर्दै राहत, उद्धार र पुनर्स्थापनाको काममा जुट्न पनि सबैमा आह्वान गरे। तराईका जनतालाई राहत उपलब्ध गराउन पहाडका जनता आतुर रहेको उनको भनाइ थियो।

प्रचण्डले पीडितको राहत, उद्धार र पुनर्स्थापनाको काममा सत्ता पक्ष, प्रतिपक्ष सबै मिलेर अघि बढनुपर्ने आवश्यकता पनि औंल्याए। उनले बुधबार डुबान प्रभावित सप्तरी, सर्लाही र रौतहटको स्थलगत अवलोकन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.