|

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको २२ औं वार्षिक उत्सवको कार्यक्रममा उर्जामन्त्री महेन्द्रबहादुर शाहीले कर्मचारीहरुको कामप्रति गुनासो र आक्रोश पोखेका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कर्मचारीहरुले आफ्नो जिम्मेवारी अनुसार काम नगर्दा प्राधिकरणले उन्नती गर्न नसकेको भन्दै आफ्नो दायित्व बुझेर काम गर्न निर्देशन दिए। 

मन्त्री शाहीले कर्मचारीले छोटो समयमा गर्ने कामलाई पनि अनावश्यक लम्ब्याएर सर्वसाधारणलाई दुख दिएको भन्दै विद्युत मिटर जडान गर्न कति दिन लाग्छ भनी प्रश्न गरे। एउटा घरमा मिटर जोड्न कति   समय लाग्छ? उनले सोधे '२ घण्टा, ४ घण्टा, १ महिना कि एक दिन? भनिदिनुपर्‍यो। अनावश्यक दुख दिने  काम गर्नु हुन्न, सेवाग्राहीले दुख पाउनु हुँदैन।'

मन्त्री शाहीले प्राधिकरणका कर्मचारीले सही ढंगले काम नगर्दा संस्था वर्षौैदेखि घाटामा रहेको बताए। 'एउटा फाइलको टिप्पणी उठाउन कति दिन लाग्छ? कहाँ कहाँ जानुपर्छ?' उनले भने 'एक वर्षमा हुने काम गर्न ५ वर्षसम्म लगाइएको छ।'

विद्युत महसुल तिर्न घण्टौंसम्म सेवाग्राहीले लाइन बस्नुपर्ने र कर्मचारीको दुर्ब्यवहार सहनुपरेको भन्दै मन्त्री शाहीले आक्रोश पोखे। 'अब प्रत्येक काउन्टर बाहिर पानी खाने व्यवस्था गरेको हुनुपर्छ। प्रत्येक काउन्टरमा शौचालयको व्यवस्था हुनुपर्छ। बस्ने वेञ्च हुनुपर्छ। देशभरीको विद्युत प्राधिकरणका अफिस एउटै कलर (रंग) म भोलिदेखि नै अनुगमन गर्छु, रत्नपार्कको अफिसदेखि नै काम गर्नुपर्छ' उनले भने।

प्राधिकरणमा ग्राहकले २४ घण्टा नै सम्पर्क गर्न सक्ने हटलाइन टेलिफोन हुनुपर्ने पनि मन्त्री शाहीले बताए। अब पैसा तिर्न नयाँ प्रविधिको सुरुवात गरेर ग्राहकले दुख पाउने प्रणालीको अन्त्य गर्न पनि उनले निर्देशन दिए। 'पैसा तिर्न घण्टौंसम्म किन लाइन लगाउने? संसारमा कस्ता कस्ता प्रविधि आइसक्यो, अब देशभरी स्मार्ट सिष्टम सुरु गर्नुपर्छ। अनलाइन पेमेन्ट लागू गर्नुपर्छ' उर्जामन्त्रीले भने। 

अहिले विद्युत खरिद बिक्री गर्ने एकाधिकार विद्युत प्राधिकरणसँग मात्र रहेको भन्दै मन्त्री शाहीले सँधै एकाधिकार कायम हुन नसक्ने बताए। 'भोलि निजी कम्पनी पनि आउन सक्छ। कसैले २ रुपैयाँमा दिन्छु भनेर आउला' उनले भने 'त्यसैले कर्मचारीहरुले ग्राहकलाई अनावश्यक दुख दिने काम गर्नुहुन्न।'

उर्जामन्त्री शर्माले अब विजुलीको ट्रान्सफर्मर पड्किएमा सम्बन्धित वितरण केन्द्रका प्रमुखलाई कारबाही गर्ने चेतावनी दिए। 'ट्रान्सफर्मर किन पड्किन्छ? उनले प्रश्न गरे 'जहाँ ट्रान्सफर्मर पड्किन्छ त्यहाँ छानबिन हुन्छ कहीँ ट्रान्सफर्मर पड्कियो भने त्यो वितरण केन्द्रका प्रमुखलाई कारबाही हुन्छ।' 

ट्रान्सफर्मर जडानमा सचेतता नअपनाउँदा पड्किएको भन्दै उनले सँधै ट्रान्सफर्मर किनेको किन्यै गर्न नसकिने बताए। 'प्राइभेट कम्पनीमा चम्चा हरायो भने पनि छानबिन हुन्छ, विद्युत प्राधिकरणमा यस्ता कति 'चम्चा' हरायो होला' मन्त्री शाहीले प्रश्न गरे।

कर्मचारीको सूची म सँग पनि छ

आफूले नेपाल विद्युत प्राधिकरणका कर्मचारीको सरुवाको सूची तयार पारेको भन्दै कसैको 'सोर्सफोर्स' लाई नमान्ने बताएका छन्। कर्मचारीहरु सरुवा माग्दै प्रधानमन्त्री र विभिन्न दलका नेताहरुको 'पावर' लगाउने गरेको भन्दै कसैले भनेको पनि नमान्ने बताएका हुन्। 

उनले आफूलाई कर्मचारी सरुवामा दबाब आए पद नै छोड्न पनि तयार रहेको दावी गरे। 'अहिले पनि मलाइ एसएमएस आइरहेको छ। मेरै अध्यक्ष र प्रधानमन्त्रीको  पावर आओस् तर म मान्दिन' मन्त्री शाहीले भने, 'बरु मन्त्री पद छोडिदिन्छु।'

उनले आफूले विद्युत प्राधिकरणका राम्रा कर्मचारीहरुको लिस्ट बनाउन प्रबन्ध निर्देशक कुलमान घिसिङलाई लगाएको बताए। 'मेरोमा पनि छ कर्मचारीको लिस्ट' उर्जामन्त्रीले भने 'तर मेरोमा राम्रा र धेरै कमाइ हुने ठाउँमा जाने कर्मचारीको लिस्ट छैन, हुम्ला, मनाङ, मुस्ताङ र धेरै विजुली चोरी हुने ठाउँमा जाने कर्मचारीको लिस्ट छ।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.