|

दमक : झापा गाउँपालिका–३  का टेक बहादुर दर्नाल २०६१ सालमा श्रीमतीको निधनपछि निकै पीडामा थिए। उपचार अभावमा श्रीमतीको मृत्यु भएको घटना उनले अझै भुल्न सकेका छैनन्।  ‘पुरानो घाउ कोट्याउँदा जति चर्‍याउँछ। त्योभन्दा धेरै पीडा त आलो घाउ दुख्दा भएको छ। दैवले यस्तै लेखेको रहेछ,’ ६५ वर्षका टेकबहादुरले भने।

जेठी श्रीमतीबाट उनका ४ छोरी र १ छोरा छन्। पत्नी वियोगको पीडा बिर्सनका लागि टेकबहादुरले ६० वर्षको उमेरमा २०६९ सालमा दोस्रो बिहे गरे। ३१ वर्षकी कमलासँग बिहे गरेपछि उनको जीवन हाँसीखुसीले चल्दै थियो। तीन वर्षअघि छोरी जन्मिइन्। बुढेसकालमा लक्ष्मी भित्र्एिपछि दंग बनेका टेकबहादुरले नाम राखे, ‘खुसी।’

तर श्रीमती कमला र छोरीसँगै उनको खुसी गत शुक्रबार सानो माई खोलामा बग्यो। शुक्रबार राती १२ बजे टेकबहादुरले एक्कासी ओछ्यान चिसो भएको अनुभव गरेका थिए। घरमा खाट नभएका कारण उनीको परिवार भुइँमै ओछ्यान लगाएर सुत्ने गर्दथ्र्यो।

एकैछिनमा गाई–वस्तु कराउन थाले। मानिसहरुको चिच्याहट सुनियो। ‘बाढी आयो भागौं’ भन्दै चिच्याइरहेको आवाज उनको कानमा पर्‍यो। श्रीमतीलाई उठाए। सानी छोरीलाई श्रीमतीेले सलमा बाँधिन् र सललाई छातिमा च्यापेर बेरिन्। त्यसपछि हातमा टर्च बोकेर यो परिवार घरबाट बिस्थापित भयो।

गोठमा गोरु कराइरहेको थियो। टेकबहादुरले संझिए,‘कमलाले तपाई गोरु छाडेर आउनुस् भनिन्।’

टेकबहादुरले सुरुमा मानेनन्। ‘गोरुभन्दा ज्यान ठूलो हो भन्दै उसलाई संझाउन खोजेको थिएँ। उ सरासर खोलामा पसी। सबै हतारमा भएको थियो, म पनि गोरु फुकाउन पुगेछु,’ टेकबहादुरले भने।

गोरु फुकाएर फर्कदा टेकबहादुरको खुसी गायब भइसकेको थियो। उनी श्रीमती कमला र छोरी खुसीलाई खोज्दै खोला किनारमा गए। यता,उता,जता खोजेपनि  भेटेनन्।

टर्चलाईट समेत श्रीमतीले लगिसकेकी थिइन्। अन्धकारमा उनका आँखा घरतर्फ सोझिए। ‘बेरा सबै लगेछ, छानो मात्र बाँकी थियो,’ टेकबहादुरले भने।

उनले २ घण्टा खोला किनारमै बिताए। यतिबेलासम्म बाँच्ने आशा मरिसकेको थियो। ‘पारी तरेर जाने सोचेको थिएँ। पुल पनि बगाई सकेको रहेछ। एकछिनपछि पारीबाट दुई चार जना केटाहरु आए र मलाई खोला तारेर लगे,’ उनले भने।

हराएको खुसी फर्किएन

बाढीमा बेपत्ता भएकी श्रीमती कमला र छोरी खुसी फर्किएनन्। उनीहरुको शव शनिबार बिहानै स्थानीयले फेला पारे। तर पनि समयमै दाहसंस्कार गर्न पाएनन्। ‘ पोष्टमार्टम नगरी लान हुँदैन भनेर स्थानीयले भनेका कारण २ दिनसम्म कुरे। तर कोही आएनन्। त्यसपछि सोमबार दाहसंस्कार गरियो,’ रुँदै टेकबहादुरले भने। टेकबहादुरकी श्रीमती कमलाको ३६ वर्षको अल्पायुमै मृत्यु भएको हो। उनकी छोरी खुसी केवल ३ वर्षकी थिइन्।

घरको न घाटको

बुढेसकालमा जवान श्रीमती र कान्छी छोरी गुमाउनुपर्दाको पीडामा रहेका टेकबहादुर घर समेत बाढीमा बगेपछि आफन्तको घरमा किरिया बस्न बाध्य छन्। मेचीनगर¬–१२ स्थित भाई (फूपुका छोरा) सरमान बराईलीको घरमा उनी श्रीमती र छोरीको किरिया बसेका छन्। उनीसँगै जेठी श्रीमतीपट्टीकी साँइली छोरी पनि किरिया बसेकी छिन्।

आर्थिक अवस्था कमजोर भएका कारण श्रीमती र छोरीको किरिया खर्च कसरी तिर्ने भन्ने चिन्तामा टेकबहादुर छन्। ‘मलाई कमलाले बचाई, उसले गोरु सार्न जानु नभनेको भए म पनि खोलामा पस्थेँ होला,’ शुक्रबार मध्यरातीको कहालीलाग्दो घटना संझदैँ उनले भने,‘पहिलो श्रीमतीको पीडा बिर्सन दोस्रो बिहे गरेँ। बाढीले बगाएपछि न छोरी बाँची न श्रीमती नै। बुढेसकालमा घरको न घाटको भइयो।’

उनले दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका थिए। ‘हाम्रो पुख्र्यौली पेशा आरनको काम गरेर परिवार पाल्दै आएको थिएँ। अब सहारा विहीन भइयो। छोरीहरु विवाह गरेर गइसके। छोरा पनि दमक बस्छ,’ रुँदै टेकबहादुरले भने।

उनले अहिलेसम्म राहत पाएका छैनन्। ‘गाउँ (झापा गाउँपालिका) मा गएर धेरै संघ–संस्थाले राहत बाँडे रे। म यता (मेचीनगर) छु। त्यही भएर केही पाइएन,’ उनले भने।

कान्छी श्रीमतीको नागरिकता र छोरी ‘खुसी’ को जन्मदर्ता समेत नगरेका कारण सरकारी निकायले राहत वितरण गर्दा टेकबहादुरको नाम छुट्न सक्ने उनका चिन्ता उनका भाई (फूपुका छोरा) सरमान दराइलीलाई छ। ‘दाजुले भाउजुको नागरिकता पनि बनाईदिनु भएको रहेनछ। अब राहतमा छुट्ने होकी भन्ने चिन्ता छ,’ सरमानले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.