|

भनिन्छ, बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन। आजको चुनौतीपूर्ण र प्रतिस्पर्धी संसारमा आफ्नो भनाइ प्रष्ट रूपमा राख्न सक्नु तथा मंचमा गएर जनमानसको अगाडि संयमित भई विना कुनै संकोच तर्कपूर्ण अभिव्यक्ति प्रस्तुत गर्न सक्नु एउटा अपरिहार्य गुण हुनपुगेको छ। अनौपचारिक कुराकानी गर्नु र मंचमा गई कुनै विषयवस्तुमा सारपूर्ण धारा प्रवाह अभिव्यक्ति दिनु नितान्त फरक विषय हुन्।

ठोस विषयवस्तुमा समयको पावन्दीमा रही कुशल वक्ताको भूमिका निर्वाह गर्नका लागि भाषामा दखल, पर्याप्त अभ्यास तथा धेरै विधाको ज्ञानको आवश्यकता पर्छ। विकसित देशहरूमा यस विषयमा तालिम दिने विभिन्न गैरनाफामूलक संस्थाहरूको उपस्थिति पाइन्छ। नेपालमा पनि बिस्तारै यससम्बन्धी अभ्यासहरू सुरु हुन थालेका पाइएको छ।

टोस्टमास्टर इन्टरनेसनल एक यस्तो अमेरिकी गैरनाफामूलक संस्था हो, जसले आफ्ना सदस्यहरूलाई नेतृत्व क्षमता तथा वाकशैलीको बारेमा तालिम प्रदान गर्छ। यस संस्थाका सदस्यहरूले एकआपसमा अन्तर्क्रिया तथा अभ्यास गरी आफ्नो वक्तृत्वकला निखार्छन्। नेपालमा पनि यस संस्थाका अहिलेसम्म दशवटा शाखा संचालनमा छन्। प्रत्येक शाखामा उल्लेखनीय संख्यामा सदस्यहरू रहेका छन्।

कुशल वक्ता बन्न चाहने तथा नेतृत्वशैली विकास गर्न चाहनेहरूले विना कुनै शुल्क यस्ता संस्थाहरूमा आवद्ध भएर लाभान्वित हुन सक्छन्। वक्तृत्वकलालाई कर्पोरेट क्षेत्रले पनि एक महत्त्वपूर्ण विधाको रूपमा स्वीकार गरिरहेका पनि छन्। विभिन्न बैंकहरूले टोस्टमास्टरको अभ्यास गरेबाटै यसको पुष्टि हुन्छ।

वक्तृत्वकलालाई मुख्यतः दुई भागमा विभाजन गरेर हेर्न सकिन्छ। पहिलो वर्गमा अभ्यासमूलक प्रस्तुति पर्दछ, जसमा वक्ताले उपयुक्त विषयवस्तु छान्दछ र त्यसमा भरपुर अध्ययन गरी सामग्री तयार पार्दछ। तत्पश्चात मनग्य अभ्यास गरी आफूलाई विषयवस्तुका मुख्य बुँदाहरू र त्यसका व्याख्याहरूमा दक्ष बनाउँछ। विषयवस्तुबाहेक अभ्यासको क्रममा भावभंगीमा, स्वर आरोह अवरोह, आंगिक इशारा तथा आँखा सम्पर्कको अभ्यास पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। दोस्रो वर्गमा दिइएको विषयवस्तुमा तत्काल अभिव्यक्ति दिन सक्ने कला तथा क्षमता पर्दछ, जसमा पनि अभ्यासमूलक प्रस्तुतिका लागि आवश्यक सबै अभ्यासहरूको जरुरत पर्दछ।

कुशल वक्ता बन्ने अभ्यास बालबालिकाका लागि पनि उत्तिकै आवश्यक छ। आजकालको न्युक्लियर परिवारमा बच्चाले आफ्ना परिवार तथा छिमेकीसँग अन्तर्क्रिया गर्ने अवसर कमै मात्र पाउने अवस्था छ। यसले गर्दा बालबालिकाहरू विद्युतीय माध्यमका मनोरंजन तथा मोबाइल/कम्प्युटरमा सीमित हुन्छन् र उनीहरूको बोल्ने शैली तथा क्षमतामा ह्रास आउने संभावना बलियो हुन जान्छ। आजका बालबालिकाहरूलाई अभिभावकहरूले यान्त्रिक मनोरंजनभन्दा शारीरिक गतिविधि उन्मुख कार्यहरूमा अल्झाइराख्नु जरुरी हुँदै आएको देखिन्छ। कम्प्युटर तथा इन्टरनेटमा बढी संलग्न हुँदा 'ब्लु ह्वेल' जस्ता आत्महत्याप्रेरक सामाजिक संजाल तथा अश्लील साइटहरूको लत लाग्ने तथ्य त भर्खरै भारतमा देखिएको बालबालिकाहरूको सामाजिक विचलनले पुष्टि गरिसकेको छ।

जनमानसको अगाडि बोल्न लजाउने तथा संकोच महसुस गर्ने बच्चाहरूका लागि पनि धेरै किसिमका कार्यक्रम काठमाडौँमा उपलब्ध हुन थालेका छन्। ग्रुमिङ टेल्स जस्ता संस्थाले बालबालिकाको लागि यस्ता खाले थुप्रै कार्यक्रमहरू संचालन गर्ने गरेका छन्, जसमा बालबालिकाहरूले आफूसरहका साथीहरूसँग सहकार्य गरी आफ्नो व्यक्तित्व विकास तथा वाककला क्षमता अभिवृद्धि गर्दछन्। त्यसैगरी बालबालिकाहरूले पनि सामाजिक संजालमा आफ्ना प्रस्तुतिहरू राखी आफूसरहका अरू साथीभाइहरूलाई कुशल वक्ता बन्न प्रेरित गरिरहेको पाइएको छ।

नेपालमा पनि बालबालिकामा खुलेर नबोल्ने, नखुल्ने तथा आफ्नो प्रतिभा प्रस्तुत गर्न हिचकिचाउने समस्या बढेको छ। राजधानीमा पर्याप्त खेल्ने ठाउँ नहुनु र कोठामा ग्याजेटसँगमात्रै समय बिताउनु पर्दा बालबालिका टोलाउने र नखुल्ने समस्या देखिएको छ। मनोविद डा. गंगा पाठकले भनेकी छिन्- यसले बालबालिकामा जिद्दी हुने र एकालकाँटे स्वभाव पाइने गरेको छ।

पछिल्ला दिनहरुमा अभिभावले प्रविधिबाटै बालबालिकालाई रचनात्मक बनाउने प्रयास पनि थालेका छन्। कतिपय बालबालिका स्वयंले प्रविधिको प्रयोगबाट आफ्नो प्रतिभा पस्कन थालेका छन्। आफ्ना बक्तृत्वकला पनि रेकर्ड गर्ने र अरुलाई शेयर गरी आफूलाई खार्ने जमर्कोसमेत कतिपयले गरेको पाइन्छ। eDewcate Nepali लगायतले बालबालिकाका लागि भिडयो सामग्री बनाउने गरेका छन्। तर ती गीतसंगीत र कार्टुन सम्बन्धीमात्र छन्। फेसबुकमा एउटा पेज बनाइएको छ https://www.facebook.com/kidnepali । त्यसमा एक बालकले कसरी जनमानसको सामुन्ने कुशल वक्ताको रूपमा प्रस्तुत हुने भनी आफ्ना प्रस्तुतिहरू राख्ने प्रयास गरेका छन्। 

यी केही उदाहरण हुन् बालबालिकामा बढ्दो एकलकाँटेपन हटाउन र उनीहरुको बक्तृत्वकला र कौशलको विकास गर्न अभिभावक सचेत हुन जरुरी छ। त्यसका लागि बालबालिकालाई ग्याजेटलगायतका प्रविधिको निषेध होइन नियन्त्रण आवश्यक छ। तर त्यहीभित्रबाट रचनात्मक बन्ने संभावनाको फूललाई ओइलन पनि दिनु हुँदैन।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.