|
प्रतीकात्मक तस्विर

रौतहट : जिल्लाको देवाहीगुनाही गाउँपालिका–२ दोहोराटोलका १ सय ४० घरपरिवार पाँच दिनदेखि चिउराका भरमा गुजारा चलाइरहेका छन्।

गत आइतबार गाउँमा पसेको बाढीले दोहोराटोलका १ सय ४० घर जलमग्न भएपछि स्थानीयले गाँस र बास त गुमाए नै कतिपयले बुढेसकालको सहारासमेत गुमाएका छन्। पाँच दिनदेखि खुला आकाशमुनि रात बिताउँदै आएका स्थानीयले बुधबार केही थान त्रिपालबाहेक अरू केही पाएका छैनन् । बाढीले स्थानीय ८० वर्षीय जिम्दार रायले श्रीमती नै गुमाए। किरिया बसेको राय परिवार चिउरा खाएर गुजारा गर्दै  अाएको छ।

आइतबार आएको बाढीले घरभित्रै पर्खालले थिचेर श्रीमती ६५ वर्षीया जगियादेवीको ज्यान गएपछि घरवार र खाना मात्र होइन बुढेसकालको सहारा गुमाएको राय बताउँछन्। ‘यस्तो विपत् कसैलाई नपरोस्, श्रीमतीको किरिया गर्न  साधनस्रोत त छैन नै शुद्ध खानेकुरा खानुपर्नेमा बासी चिउरा खान बाध्य छौं,’ उनले दुखेसो पोखे। रायका छोरा हवल्दार बाढीले जगलग्न घरमा आमाको काजकिरिया गर्न बसेका छन्। ‘किरियापुत्री बस्ने घर र आसपास खुट्टा टेक्ने जमिनसमेत छैन। ‘घरभरी हिलो र पानी मात्र छ,’ स्थानीय युवा जोगिन्द्रयादवले बताए ।

अर्का बाढीपीडित ८० वर्षीय रामरतन राय यादवको घरलाई बाढीले माटोमा मिलाइदिएको छ । ‘मैले दुःखले बनाएको घर बाढीले सखाप बनाइदियो, अब म कहाँ बस्ने रु’ उनी भन्छन्, ‘अब मेरो गाँस, बास, कपास केही रहेन। ’स्थानीय मौजेलाल राय, लीलादेवी, पनिलाल राय, राजाराम रायलगायतका घर बाढीमय छन्। तर अहिलेसम्म राज्यको उपस्थिति नभएको उनीहरूको दुखेसो छ।

आइतबार दिउँसो नजिकै रहेको लालबकैया नदी फुटेर दोहोराटोलमा पसेपछि सो टोलका करिब १ सय ४० घरधुरीलाई एकैछिनमा खुला आकाशमुनिको बासमा पुर्‍याएको छ । स्थानीय युवा जोगेन्द्र रायले आक्रोश पोख्दै भने, ‘आकाशमा दर्जन बढी हेलिकोप्टर उड्छन् तर गाउँमा कसैले राहत र बासको प्रबन्धको कुरा उठाउँदैनन् ।’

घरवारविहीन भएपछि स्थानियवासी छिमेकी गाउँमा गएर खाना पकाएर ल्याएर बकैया नदीको डिलमा बसेर खाँदै आएका छन्। प्लान नेपालले राहतस्वरुप त्रिपाल, १० किलो चामललगायतको सामग्री दिएपछि केही दिनका लागि हातमुख जोर्न सहज हुने स्थानीय राजनीतिकर्मी सियारामप्रसाद साहले बताए । बाढीपीडित दोहोरावासी धमाधम बकैया नदी किनारको ड्याममा त्रिपालमुनि दैनिकी गुजार्दै आएका छन्।

मंगलबार हेलिकोप्टरले समनपुर, गरुडा, गौर, गंगापिपरा, औरैया, मौलापुरमा केही राहत सामग्री खसालेको छ। हजारौं जना बाढीप्रभावित बसोबास गर्ने गढीमाई गाउँपालिकामा हेलिकोप्टरले १२ बोरा चामल र चिउरा मात्र खसालेर गएको स्थानीयले बताए। बाढीले जिल्लाका कम्तीमा ६० हजार घरपरिवार प्रभावित भएको प्रहरीको प्रारम्भिक तथ्यांक छ। जिल्लामा कम्तीमा ४ लाख मानिस प्रभावित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.