|

काठमाडौँः नेपाली गजलको विकास, बिस्तार र परिष्कारमा एक दशकभन्दा अगाडिदेखि सक्रिय अनाममण्डलीले हरेक वर्ष प्रदान गर्दै आएको 'मोतीराम-सेतुराम गजल पुरस्कार' यस वर्ष संगीतकार चण्डीप्रसाद काफ्ले र लोकेन्द्र बञ्जारालाई दिइने भएको छ।

संगीतकार काफ्ले शास्त्रीय संगीतको प्रशिक्षणमा लामो समयदेखि क्रियाशील छन्। उनी पछिल्लो समय गजल संगीतमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन्।

युवागजलकार लोकेन्द्र बञ्जारा दुई दशकदेखि नेपाली गजललेखनमा सक्रिय छन्। उनका 'आँखाभरि सपना', २०६२ र 'जैतुन', २०७३ गजलकृति प्रकाशित छन्। यस पटकको पुरस्कार बञ्जाराले 'जैतुन' गजलकृतिका लागि प्राप्त गरेका हुन्।

अनाममण्डलीले आदिगजलकार मोतीराम भट्ट र आदिसंगीतकार सेतुरामको सम्मानमा गजलकृतितर्फ र गजल संगीततर्फ गरी दुईवटा पुरस्कार प्रदान गर्दै आएको अनाममण्डलीका अध्यक्ष रुपक अलंकारले जानकारी दिए। यी दुवै पुरस्कारको राशि पाँच हजार रुपैयाँ रहेको छ।

डा. देवी नेपालको संयोजकत्वमा गठित प्रभाती किरण र घनेन्द्र ओझा सदस्य रहेको पुरस्कार छनोट समितिले बिहीबार उक्त निर्णय गरेको अनाममण्डलीले बताएको छ। दुवै पुरस्कार मोतीजयन्तीको अवसरमा भदौ ५ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजना गरिने कार्यक्रममा प्रदान गरिने अध्यक्ष अलंकारले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट