|

विराटनगर : विराटनगर महानगरपालिकाले लगातारको वर्षापछि बाढीबाट विस्थापित भएका १२ हजार बाढीपीडितलाई करिब १० लाख मूल्य बराबरको राहत सामाग्री वितरण गरेको जनाएको छ। हिसाब गर्ने हो भने यो राहत प्रतिव्यक्ति जम्मा ८३ रुपैयाँ हुन आउँछ।

महानगरपालिकाले पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार महानगरका ५७ स्थानबाट उक्त राहत सामाग्री वितरण गरिएको हो। पीडितको उद्धार तथा राहत वितरणमा प्रभावकारी कदम चाल्न नसकेको गुनासो बिढिरहेको बेला महानगर राहत वितरणमा निकै कमजोर देखिएको हो।

विराटनगरका बाढी प्रभावित वडामा तत्कालै मेस सञ्चालन गर्न नसकेको, बाढीपीडितको विचल्ली हुँदा ३ दिनसम्म उक्त स्थानमा पुग्न नसकेको भन्दै आलोचना भइरहेको छ। गुनासोका बीच नगरपालिकाले प्रस्तुत गरेको तथ्याङ्कअनुसार १ जना बाढीपीडितको भागमा ५ दिनमा महानगरले १ सय रुपैयाँ पनि खर्च गर्न नसकेको देखिएको छ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले महानगरको स्रोतसाधनबाट करिब १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री तथा त्रिपाल वितरण गरिएको बताए। पुनस्र्थापनाका लागि पनि काम भइरहेको उनको भनाइ छ। ‘अहिले बाढीपीडितका लागि चिउरा र भूजा मात्र बढी आएको छ,’ पराजुलीले भने, ‘बाढीपीडित सुत्केरी र साना बालबालिमा पनि भएकोले उनीहरूको लागि पोषिलो खानाको आवश्य परेको छ।’

पराजुलीले आवश्यक सहयोग गर्ने निकाय तथा संस्थालाई चिउरा, भूजा मात्र नभए पोशिलो खानाको लागि खाद्य वस्तु र ओत लाग्ने त्रिपाल सहयोग गर्न आग्रह गरे। बाढीले बगाएर विराटनगरमा– ६ जनाको मृत्यु भएको थियो। महानगरपालिको बोर्ड मिटिङ्गले उनीहरूको परिवारको लागि राहत रकमबारे निर्णय गर्ने पराजुलीले जानकारी दिए। ‘पीडत परिवारलाई सहयोग गरी स्थानीय सरकार भएको अनुभूति दिलाउने प्रयास गर्नेछौं,’ पराजुलीले भने।

महानगरको घुम्ती शिविर

यद्यपि महानगरका १९ वटै वडामा घुम्ती शिविर भने सञ्चालन गरिएको छ। महानगरको आयोजनामा भएको शिविरमा १ हजार ६ सय ५८ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा झाडपखाला, चिलाउने, रुघा खोकी, टाइफाइड, स्वास–प्रस्वासमा समस्या, छातीको समस्या भएका बिरामी भेटिएको उपचारमा संलग्न डा. रोशन खड्काले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी चिलाउने र झाडापखालाका बिरामी देखा परेका छन्।

विराटनगरको विभिन्न हस्पिटल, निजी अस्पतालको संगठन (अफिन) सँगको सहकार्यमा बाढीबाट संक्रमित फैलिएको क्षेत्रमा घुम्ती शिवि सञ्चालन गरिएको महानगरपालिको जनस्वास्थ्य शाखा अधिकृत दशीलाल माझीले जानकारी दिए। शिविरबाट ६ जना बिरामीलाई हस्पिटल भर्ना गराइएको छ। भर्ना भएका ती बिरामीलाई विराटनरको सबै हस्पिटलमा उपचार निःशुल्क गरिने विराटनगर महानगर प्रमुख पराजुलीले जानकारी दिए।


३ लाखको औषधि वितरण

नेपाल औषधि व्यवसायी संघ कोसीले विराटनगरका बाढीपीडितलाई करिब ३ लाख मूल्य बराबरको निःशुल्क औषधि वितरण गरेको जनाएको छ। स्वास्थ्य परीक्षणपछि बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क वितरण गरिएको संघको दाबी छ। पीडितलाई २५ हजार मूल्य बराबरको पानी सफा गर्ने पिउषसमेत वितरण गरिएको संघका महासचिव हरिमोहन श्रेष्ठले जानकारी दिए। यससँगै १४ हजार लिटर पिउने पानी पनि वितरण गरिएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.