सार्वजनिक शौचालय हो कि पसल छुट्याउनै समस्या

|

डडेल्धुरा : डडेल्धुरामा खुला दिसामुक्त जिल्ला घोषणामै सीमित देखिन्छ।अहिले चारैतिर सरसफाइ र हराभरा वातावरण बनाउने होडबाजी देखिन्छ। तर, डडेल्धुरा सदरमुकामको मुख्य व्यापारिक केन्द्रमा रहेको सार्वजनिक शौचालय आमनागरिकलाई सार्वजनिक शौचालय हो कि पसल ? भनी ठम्याउनै गाह्रो हुने गरेको छ।

जसका कारण सार्वजनिक शौचालयको प्रयोग नभई आसपासका क्षेत्रमा खुला रुपमा दिसा पिसाब गर्न थालेपछि सो क्षेत्र दुर्गन्धित बन्दै गएको छ। खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा खुला रुपमा शौच गर्दा फेरि दुर्गन्धित बन्दै गएको हो।

पहाडी जिल्लाहरुको केन्द्रबिन्दुको रुपमा रहेको डडेल्धुराको बसपार्कमा दैनिक जसो धरै यात्रु तथा सर्वसाधारणहरु आवतजावत गर्ने गर्दछन्। तर वरपर फलफूल तथा तरकारी पसल र होटल सञ्चालनमा रहेका कारण बसपार्क क्षेत्रमा रहेको एक मात्र सार्वजनिक शौचालयमाथि सर्वसाधारणको नजर पर्न सकेको छैन।

शौचालयको दायाँ वायाँ थुप्रै पसलका खोकाहरु सञ्चालनमा रहेकाले शौचालय ओझेलमा परेको र प्रयोगविहीन भएको छ। फलस्वरुप कतिपय मानिसले उद्योग वाणिज्य संघ जाने सडक छेउमा शौच गर्ने गरेको पाइएको स्थानीयहरुले गुनासो गरेका छन्।

यस्तै, जिल्लामा भएका सम्पूर्ण घरधुरीमा शौचालय निर्माण भई प्रयोगमा आएको भए पनि बजार आउने केही नागरिकले खुला रुपमा शौच गर्ने गरेको व्यापारीहरुको भनाइ छ। नागरिकमा सचेतनाको कमीले र पैसा तिनुपर्ने झन्झटले गर्दा पनि सार्वजनिक शौचालयमा शौच नगर्ने बानी बसेको उनीहरुले बताए।

तर, शौचालय सफा, सुग्घर राख्न र शौचालयको रेखदेख गर्न शौच गरेबापतको शुल्क उठाउनु परेको अमरगढी नगरपालिका डडेल्धुराका प्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिएका छन्। खुला दिसामुक्त जिल्ला घोषणा गरिएपछि सम्बन्धित निकायले गाँउ–गाउँमा समेत अनुगमन नगर्दा अन्य ठाउँहरुमा पनि प्रभावकारी ढंगबाट प्रयोग हुन नसकिरहेको बताइएको छ।

यस्तै, सोही सडक क्षेत्रमा नगरपालिका तथा उद्योग वाणिज्य संघ डडेल्धुरा लगायतका सरोकारवाला निकायहरुद्वारा व्यापारिक दर्जनौ खोकाहरु निर्माण गरिए पनि तिनीहरु पनि अहिले प्रयोगविहीन अवस्थामा छन्। बजार क्षेत्रमा सडक छेउमै व्यापार गर्ने गरिए पनि अहिले सो क्षेत्रका दर्जनांै व्यापारिक खोकाहरु प्रयोगविहीन अवस्थामा छन्।

उद्योग वाणिज्य संघ डडेल्धुरा र स्थानीयहरुसँग छलफल गरी प्रयोगविहीन अवस्थामा रहेका खोकाहरुलाई सञ्चालनमा ल्याउन पहल चाल्ने नगर प्रमुख ओझाले बताएका छन्। अपि हस्पिटल खुलेसँगै सञ्चालनमा ल्याइएका ती खोकाहरु हस्पिटल बन्द भएसँगै बन्द भएका थिए। व्यापार सञ्चालन हुँदा सो सडक क्षेत्र सफा सुग्घर भए पनि अहिले भने दूरावस्था आएको हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.