मासिक ४० देखि ७० हजारसम्म पैसा उठाउने धन्दा नै गर्छ प्रहरी

|

उदयपुर :  व्यापारी केन्द्रको रुपमा विकसित हुँदै गरेका तथा यातायात सवारीसाधनको संख्या बढ्दै गएका केन्द्र प्रहरीको कमाइखाने भाँडो भन्दै गएका छन्। जिल्लाको घुर्मी, रुपाटार, नेपालटार तथा मुख्य गरेर ग्रामीण सडक विस्तारसँगै व्यापारी नाका बनेका बजार प्रहरीको कमाइखाने भाडो बनेका हुन्।

नयाँ बजारमा सवारीसाधनको समेत संख्या बढ्दै जानु अवैधानिक रुपमा ढुवानी हुने विभिन्न उपभोग्य वस्तुमा प्रहरीको आँखा सक्रियताका साथ पुग्ने गरेको छ। सुनकोसीको किनारमा पर्ने ओखलढुंगा, सिन्धुली, खोटाङ जोड्ने उदयपुरको घुर्मीबजार उदयपुरको मुख्या रुपमा प्रहरीको कमाइखाने भाँडो बनेको हो। कटारी नगरपालिका १४ नम्बर वडामा पर्ने लेखानीको घुर्मी बजारमा ट्राफिक प्रहरी नहुँदा प्रहरीको कमाइखाने भाँडोका रुपमा प्रयोग हुँदै आएको ७/८ वर्ष भइसकेको छ।

मध्यपहाडी लोकमार्गले घुर्मीकै बाटो भएर सिधै उदयपुरको पश्चिमी क्षेत्र, सिन्धुलीको उत्तरी क्षेत्र अनि ओखलढुंगा र खोटाङ र सोलुखम्बुलाई सिधा रुपमा राजधानीसँग जोड्ने गर्दछ। यता, कटारी हुँदै ओखलढुंगा र खोटाङ जोड्ने सिद्धिचरण लोकमार्ग केन्द्र पनि यहीँ पर्छ। पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङ हलेसी जाने सबैभन्दा सजिलो सडक यातायात पनि घुर्मीबाटै जोडिन्छ। उदयपुरको नयाँ व्यापारी केन्द्रको रुपमा विकास भएको घुर्मी सबैभन्दा ठूलो व्यापारी नाका हो।

घुर्मीमा एउटा प्रहरी चौकी, ट्राफिकको समेत भूमिका

घुर्मीमा एउटा प्रहरी चौकी छ जसले प्रहरी चौकीले ट्राफिक प्रहरीको भूमिका समेत निर्वाह गर्दै आएको छ। ट्राफिक राजस्व संकलनभन्दा बाहेकका सबै काम गर्ने गरेको छ। ‘यहाँबाट प्रहरीले अवैध रुपमा पैसा संकलन गरिरहेको हुन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने, ‘चोरीका मोटरसाइकल यहीँ कुद्छन, त्यसबाट पनि प्रहरीलाई फाइदै हुन्छ, ओखलढुंगा, सिन्धुली, खोटाङमा जाने लागुऔषधदेखि अवैध सामानको समेतमा प्रहरीले मात्र पैसा लिने गर्छ।’

मासिक ४० देखि ७० हजारसम्म पैसा उठाउने धन्दा नै गर्छ प्रहरी

अझ दसैंतिहारमा घुर्मीका प्रहरीले जिल्ला पठाउनु पर्ने भन्दै पैसासमेत असुल्ने गरेको सर्वसाधरणको गुनासो छ। ‘प्रहरी चौकी मात्र छ,’ स्थानीय कुमार धमलाले भने, ‘त्यसलाई पनि गाली गरे कसको आश गर्ने, प्रहरीले धन्दा चलाए पनि सर्वसाधारण मौन छन्।’ जसले कालोधन्दा गर्छ, उसैले प्रहरीलाई तिर्नेछ पैसा, हामीले दिने होइन के को सरोकार र चिन्ता गर्नु’ पुन धमलाले थपे।

यता, ताप्ली गाँउपालिकामा पर्ने रुपाटार बजार होस्, या त रौतमाई गाँउपालिका लगायतका विभिन्न साना बजार हुन् प्रहरीको आँखा मुख्य गरी भित्री रुपमा त्यतै केन्द्रित हुने गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका एक स्रोतका अनुसार उदयपुरमा सरुवा भएर आउने प्रत्येक प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीले समेत घुर्मीबजार लगायतका पहाडी बजारलाई दुहुनो गाई बनाएका छन्।

‘नयाँ प्रहरी प्रमुख आएपछि घुर्मी लगायतमा आफू अनुकूलको असई पठाउनेसमेत गरिएको छ,’ मेरो जागिर जान्छ नाम उल्लेख नगरिदिनु भन्दै एक प्रहरीले भने, ‘मासिक रुपमा ४० हजारदेखि ७० हजारसम्म घुर्मीबजारबाट पैसा असुलिन्छ भने अन्य ठाँउबाट कति हो त्यसको लेखाजोख ल्याएर दिनेलाई मात्र थाहा होला।’

भर्खरै सरुवा भएर गएका उदयपुरका प्रहरी प्रमुख एसपी नरबहादुर केसीले समेत घुर्मीबजारबाट लाखौं रुपैयाँ असुलेको प्रहरी स्रोतको दाबी छ। ‘एसपी नरबहादुर सावको कुरै छाडौं,’ गोप्य कुराकानीमा एक प्रहरी हवल्दारले भने, ‘घुर्मी, मैनामैनी, तपेश्वरी, रामपुर लगायतका बजार प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारीको दुध दुहुने गाई नै भएको छ।’

के भन्छन् सम्बन्धित निकायका प्रमुख?

घुर्मी प्रहरी चौकीका प्रमुख सई विदेश्वर राउतले आपूm भर्खर आएकाले केही थाहा नपाएको बताएका छन्। ‘म प्रहरी चौकी घुर्मीमा आएको एक हप्ता मात्र भयो,’ सई राउतले भने, ‘पहिला पहिला के के हुन्थ्यो त्यो मलाई थाहा छैन।’ राउतले घुर्मीमा ट्राफिक प्रहरीको काम पनि नेपाल प्रहरीले नै गर्दै आएको थाहा पाएको बताए। घुर्मीबारे धेरै कुरा थाहा नपाएको गुनासो गरे।

यता, भर्खरै आएका जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले आपूmले जिल्लाभरीको समस्या बुझिनसकेको र त्यसबारे फिल्डमा जान नपाएको बताएका छन्। ‘म आफंै घुर्मी लगायतका क्षेत्रमा जाने तयारी गरिरहेको छु,’ उनले भने, ‘त्यहाँ नगएसम्म समस्या के हो त्यसको अहिले बोल्न मिल्दैन।’ कसैले आरोप लगाउँदैमा सबै सत्य नै हुन्छ भन्ने नभएको एसपी भट्टले दाबीसमेत गरेका छन्।

थाहा खबरको कुराकानीमा भट्टले घुर्मीमा कस्तो अवैध उपभोग्य सामान ढुवानी हुन्छ र? भन्दै प्रतिप्रश्न गरेका थिए। यसबारे सहायक तथा हालका निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाशजंग कार्कीले घुर्मी मुख्य रुपमा प्रशासनको नजरमा पर्न नसकेको भन्दै त्यसको समस्याबारे जिल्ला प्रहरी कार्यालयमासमेत बुझ्ने बताए। ‘अब ट्राफिक प्रहरी नै नभएकोसम्म भर्खर सुन्दै छु’ कार्कीले भने, ‘पछिल्लो समयमा विस्तार भएका बजरामा अझै पनि ट्राफिक प्रहरी छैनन्, घुर्मीमा अनिवार्य हुनुपर्छ।

कार्कीका अनुसार घुर्मी लगायतबाट आउने विभिन्न प्रकारका गुनासोहरु समाधान खोजिनेसमेत भएको छ। ‘प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई समेत पैसा आउने कुरा जसले आरोप लगाएको छ,’ उनले भने, ‘त्यसले प्रामाणित गर्नुपर्छ।’ उदयपुर भौगोलिक रुपमा कठिनाइ भएको जिल्ला हो।

घुर्मीमा ट्राफिक प्रहरी अभाव

घुर्मी बजार दैनिक सयौँ सवारी सञ्चालन हुने मध्यपहाडी लोकमार्गमा ट्राफिक प्रहरी नहुँदा सवारी नियमन हुन सकेको छैन। सिन्धुली, खोटाङ, ओखलढुंगाको सीमामा पर्ने उदयपुरको घुर्मी बजारमा ट्राफिक प्रहरी नुहुँदा     सवारीको नियमित चेकजाँच र अनुगमनमा समस्या परेको हो।

काठमाडौंबाट घुर्मीबजार हुँदै दैनिक करिब चार सयको संख्यामा खोटाङ, ओखलढुंगा, सोलु जिल्लामा जाने  सवारी सञ्चालन हुने गर्दछन्। ट्राफिक नहुँदा सवारीसाधनहरुले नियम उल्लंघन हुनुको साथै दुर्घटनाको जोखिमसमेत बढेको गुनासो घुर्मीका स्थानीयहरुले गरेका छन्।

ट्राफिक प्रहरी नभएको कारण सवारी चालक अनुमति पत्र, सवारी धनी प्रमाणपत्र, रुट परमिटको चेकजाँच गर्न समस्या परेको प्रहरी चौकी घुर्मीले जनाएको छ। कुनै दुर्घटना भए ६० किलोमिटर टाढाको सिन्धुलीको खुर्कोट ट्राफिक प्रहरीको सहयोग माग्नुपर्ने बाध्यता रहेको चौकीले जनाएको छ। जिल्ला ट्राफिक कार्यालयका अनुसार घुर्मीबजारमा केही समयभित्रै ट्राफिकको दरबन्दी तोकिने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.