|

काठमाडौं : तराइका बाढी प्रभावित जिल्लामा स्वास्थ्य मन्त्रालयले थप चिकित्सकको टोली पठाएको छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा. चुडामणि भण्डारीले पाँच जना चिकित्सकको टोली बाढी प्रभावित क्षेत्रमा औषधीसहित पठाएको जानकारी दिए। 

उनका अनुसार डा.रामराज पन्थीको टोलीलाई बारा र पर्सा, डा. नरेन्द्र झाको टोलीलाई रौतहट र सर्लाही, डा. माधव लम्सालको टोलीलाई धनुषा र महोत्तरी,  डा.भीम सापकोटाको टोलीलाई सिरहा र सप्तरी पठाइएको छ भने डा. सागर दाहालको टोलीलाई विराटनगर पठाइएको छ। 

यस्तै मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बासुदेव पाण्डेको टोली पनि ‍औषधीसहित रौतहट, महोत्तरी र सर्लाहीको बाढी प्रभावित क्षेत्रमा पुगेका डा.भण्डारीले बताए।

मन्त्रालयले यसअघि विराटनगरमा डा. गुणनिधि शर्मा, जनकपुरमा भीम सापकोटा, रौतहट र सर्लाहीमा सागर घिमिरे र नेपालगञ्जका लागि परशुराम श्रेष्ठको टोलीलाई पठाइसकेको छ। बाढीबाट पीडित भएका ३० जिल्लाका २१ हजार ५ सय ६९ जनामध्ये ८० प्रतिशत मानिस हाल स्वास्थ्यको हिसाबले जोखिममा रहेका विभागले जनाएको छ।

गृह मन्त्रालयको तथ्यांक अनुसार तराईका ३० जिल्ला बाढीबाट बढी प्रभावित रहेकोमा हालसम्म १२२ जनाको मृत्यु भइसकेको छ भने ३२ जना बेपत्ता छन्। त्यस्तै ३८ जना गम्भीर घाइते छन्। २१ हजारभन्दा बढी विस्थापित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.