|

चितवन : चितवनमा स्क्रब टाइफस र स्वाइनफ्लुका २ सय ६७ जना बिरामी भेटिएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिनामा मात्रै स्क्रब टाइफसबाट ९५ जना संक्रमित भएका हुन्। गएको जेठदेखि साउन तेस्रो साता सम्मको प्राप्त प्रतिवेदनअनुसार इन्फ्लुएन्जा ए एचवान एनवान (स्वाइन्फ्लु) बाट १ सय ७२ जना बिरामी फेला परेको  कार्यालयले जनाएको छ।

कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले टाइफस भएमध्ये ८ जनाको ठेगाना नखुलेकाले अस्पतालमा पुन प्रतिवेदन माग गरिएको बताए। यसअघि, चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीय एक महिलाको उक्त रोगका कारण साउन २२ गते मृत्यु भएको केसीले जानकारी दिए।

केसीका अनुसार भरतपुर अस्पतालमा २३, बकुलहर रत्ननगर अस्पतालमा ४, चितवन मेडिकल कलेजमा २३, नारायणी सामुदायिक अस्पतालमा ३५ र मनकामना अस्पतालमा २ जनामा स्क्रब टाइफस देखिएको हो। जसमा ५४ जना महिला रहेको कार्यालयले जनाएको छ। ०७२ सालमा नेपालमा पहिलोपटक र ०७३ सालमा चितवनमा पहिलोपटक देखिएको यो रोग त्यसपछि लगातार देखिँदै आएको छ।

यसअघि, अघिल्लो आर्थिक वर्षमा चितवनमा ५ सय ९ जनामा रोग देखिएकोमा ४ जनाको मृत्यु भएको थियो। नेपालमा विभिन्न २७ जिल्लाभन्दा बढीमा स्क्रब टाइफस रोगको संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत इपिडिमियोलोजी शाखाका प्रमुख डा. गुणनिधि शर्माले जानकारी दिए। मुसाको कानमा बस्ने माइट नामको सूक्ष्म किरा (किर्ना) ले टोकेमा स्क्रब टाइफस सर्छ। मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्छ।

यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने भरतपुर अस्पतालमा फिजिसियन डा. भोजराज अधिकारीको भनाइ छ। त्यसैले अहिलेको भाइरल ज्वरो भनेर घरमै नबसी तुरुन्त चिकित्सकलाई भेट्नुपर्ने उनले बताए।

स्वाइनफ्लुका १ सय ७२ बिरामी  

चितवनमा स्वाइनफ्लु भनेर चिनिने इन्फ्लुएन्जा ए एचवान एनवानका १ सय ७२ जना बिरामी भेटिएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले गएको १९ जेठदेखि अहिले साउन तेस्रो हप्ता सम्मको प्राप्त विवरणअनुसार यसरी स्वाइनफ्लुका बिरामी भेटिएका हुन्।

जसमा १ सय २१ जना चितवन घर भएका बिरामी हुन् भने अन्य बिरामी जिल्ला बाहिरबाट उपचारका लागि आएका बिरामी रहेको जनाइएको छ। केही अस्पतालबाट विवरण आउन बाँकी रहेको केसीले जानकारी दिए। डा. भोजराज अधिकारी बढी गर्मी र पानी पर्ने मिश्रित समयमा यस्ता खालको बिरामी बढी आउने गरेको जानकारी दिए। उनका अनुसार स्वाइनफ्लु लागेका बिरामीमा सुरुमा रुघा लाग्ने, ज्यान दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्षण देखा पर्छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.