|

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियामा आएपछि पार्टी मधेसमा कमजोर भएको बताएका छन्। शान्ति प्रक्रियामा आउनुअघि सिंगो मधेस माओवादीमय भए पनि अहिले त्यसलाई जोगाउन नसकेको उनले स्वीकार गरे।

'शान्ति प्रक्रियामा आउनुअघि मधेस माओवादी मय थियो, शान्ति प्रक्रियामा त्यसलाई जोगाउन सकिएन, प्रतिक्रियावादी खेल्न सफल भए। माओवादी आफै पनि विभाजित भयौं' वाईसीएलको एकताको दोस्रो सम्मेलनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने। 

माओवादी पार्टी एजेण्डाको हिसाबले अहिले पनि एक नम्बर रहेको भन्दै प्रचण्डले हिम्मत नहार्ने हो भने फेरि ठूलो पार्टी बन्न सक्ने दावी गरेका छन्। 'हामी एजेण्डाको हिसाबले अझै एक नम्बरमा छौं। हिम्मत नहार्ने हो भने फेरि एक नम्बर हुन सक्छौं' उनले भने 'वैद्य, बाबुराम र विप्लव सबैलाई जनताले हैसियत देखाइदिए।' उनले सबै माओवादी शक्ति एक भएर जानुपर्ने बताए।

वाईसीएल जनमुक्ति सेनाकै पुनर्गठित रुप हो

अहिलेको वाईसीएल युद्धकालमा पार्टीको जनमुक्ति सेनाको पुनर्गठित रुप भएको बताएका छन्। युद्धबाट शान्ति प्रक्रियामा आएपछि जनमुक्ति सेनालाई त्यही रुपमा राख्न नसकिने भएपछि वाईसीएलको रुपमा पुनर्गठित गरेको उनले बताए। 

'शान्ति प्रक्रियामा आउँदा जनमुक्ति सेनालाई त्यसै रुपमा राख्न सकिदैनथ्यो। हजारौं कमाण्डरलाई शान्ति प्रक्रियामा कसरी जोडिराख्ने भनेर मैले यसमा (वाईसीएलमा) जोडेको हो' उनले भने 'युद्धलाई शान्तिमा फेर्न सक्ने र शान्ति प्रक्रियामा पनि भूमिका निर्वाह गर्न सक्ने शक्ति भनेको वाईसीएल नै हो।' 

अध्यक्ष प्रचण्डले अब वाईसीएललाई मेसिन गन चलाउने बिग्रेड नभई समृद्धिमा लाग्ने युवाहरुको फौज बनाउने बताए। 'समृद्धिका लागि युवाहरुको विशाल फौज चाहिएको छ। जसले प्रतिक्रियावादीको परास्त गर्न सकोस्।'

परिवर्तन नचाहने शक्तिले अहिले पनि चुनाव हुन नदिने षड्यन्त्र गरेको भन्दै प्रचण्डले तीनवटै तहको चुनाव गरेर त्यसलाई पराजित गर्ने बताए। तीन तहको चुनाव भएपछि मात्र मुलुक संविधान कार्यान्वयनको दिशामा जाने उनले बताए।

मुलुकमा ठूला राजनीतिक परिवर्तन भए पनि शासन प्रणाली नफेरिएको भन्दै अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा पार्टीले उठाएको बताए। 'देशमा प्रमुख कार्यकारी आवश्यकता छ। यो ७० वर्षको इतिहासले देखाएको छ। पहिले पञ्चायत कालमा, पछि बहुदलकालमा स्थिरता होला कि भनियो, संविधान आएपछि पनि ३ वटा सरकार बन्यो।  त्यसैले शासन प्रणालीमा नै सुधार नगरी भएन' प्रचण्डले भने। उनले यसको लागि युवाहरुले अभियान चलाउनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.