|

काठमाडौं : सरकारले बाढी, पहिरो र डुबानमा परी सवा १० अर्ब रुपैयाँ बराबरको पशुधनको क्षति भएको जनाएको छ। पशुपन्छी विकास मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १० अर्ब १७ करोड ८८ लाख बराबरको पशुधन क्षतिको अनुमानित विवरण सार्वजनिक गरेको हो।

शुक्रबार विहान १० बजेसम्म प्राप्त वितरण अनुसार पशु र पशुजन्य सामग्री नष्ट हुँदा करिव १ अर्ब ३७ करोड ७८ लाखको क्षति भएको पशुपंक्षी विकास मन्त्री सन्तकुमार थारुले जानकारी दिए। त्यसैगरी पशुजन्य उत्पादनतर्फ २ अर्ब ५० करोड १० लाख बराबरको क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ। मन्त्री थारुले पशुधनको क्षतिको विवरण सम्बन्धित जिल्ला पशु कार्यालयबाट लिइएको पनि स्पष्ट पारे। मन्त्रालयले पशुजन्य उत्पादनमा पर्ने असरबाट ६ अर्ब बराबरको क्षति भएको पनि अनुमान गरेको छ।

मन्त्रालयले पशुधनको नोक्सानबाट भएको क्षतिपूर्ति तत्काल पीडितलाई उपलब्ध गराउने प्रतिवद्धता पनि जनाएको छ। मन्त्री थारुले पशुधन नष्ट भई फैलन सक्ने महामारी नियन्त्रणका लागि विशेषज्ञहरुको टोली बाढी पीडित क्षेत्रमा परिचालन गरिएको पनि स्पष्ट पारे। उनले कृषकहरुलाई क्षतिपूर्ति तत्काल उपलब्ध गराउन दाता राष्ट्रहरुलाई पनि सहयोगका लागि अपिल गर्ने तयारी भइरहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.