|

काठमाडौँ: संचारकर्मी, कवि एवं कथाकार फूलमान बलले निर्देशन गरेको फिल्म ‘नीरफूल’ यतिबेला धमाधम छायांकन भइरहेको छ। फिल्म युनिटले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर ‘नीरफूल’को ७० प्रतिशत छायांकन पूरा भएको जानकारी दियो। 

भूकम्पले छिन्नभिन्न भएको परिवारले पुनर्मिलनको लागि गर्ने संघर्षको कथा यस फिल्ममा प्रस्तुत गरिएको निर्देशक बलले बताए। फिल्म गणेश हिमालमुनिको रुबी भ्याली र काठमाडौँमा छायांकन भइरहेको छ। 

यस फिल्ममा मुख्य भूमिका निर्वाह गरेका नायक दयाहाङ राईले पटकथा मनपरेर आफूले फिल्म खेलेको बताए। उनले भने, ‘यो फिल्मको कथावस्तु निकै बलियो र मन छुने छ र यसमा मैले निकै फरक र चुनौतीपूर्ण भूमिका गरेको छु।’ 

फिल्ममा विशेष भूमिकामा नायिका रेखा थापा पनि देखिनेछन्। यसको कथाले आफूलाई तानेको उनले बताइन्। फिल्ममा दयाहाङको जोडीको रूपमा नवनायिका शान्ति वाइबा देखिँदै छन् । ‘नीरफूल’मा आफूले मन फुकाएर काम गर्न पाएको शान्तिले बताइन् । बाल गायिका जिग्मे छ्योइकी घिसिङ पनि फिल्मको मुख्य भूमिकामा छन्। 

फिल्मको कथा, पटकथा र गीत निर्देशक बल स्वयंले लेखेका हुन्। पटकथामा उनलाई सहायक निर्देशक सचिन घिमिरेले पनि साथ दिएका छन्। 

निर्देशक बलले दुई वर्षअघिको विनाशकारी भूकम्पपछि दिमागमा कथा ‘क्लिक’ भएको बताउँदै फिल्ममा राज्य प्रणालीको भ्रष्टता पनि उठाउन खोजिएको बताए। ‘यो धादिङ रुबी भ्यालीको एउटा परिवारको कथा हो’, उनले भने, ‘यो ठाउँको भूगोल, प्रकृति र संस्कृतिबारे अहिलेसम्म बाहिर आएको छैन । यस हिसाबले यो फिल्मले रुबी भ्यालीलाई पनि चिनाउनेछ।’

फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको उनले बताए। फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल र अमेरिकास्थित ग्रिनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको यस फिल्मका कार्यकारी निर्माता भने डोमा सोनाम हुन्। 

व्यवसायको सिलसिलामा डोमा दुबईमा रहेकी छन्। यस फिल्मका निर्माता कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अशोक थापा छन्। 

फिल्म सामाजिक विषयवस्तुमा आधारित रहेकोले आफूहरूले सहकार्य गरेको नेपाल–म्यान्मार फ्रेण्डसिप काउन्सिलका अध्यक्ष शंकर घिमिरेले बताए। ‘हाम्रो लगानी गैरनाफामुखी हो’, उनले भने, ‘यो फिल्मले समाजको कथा भन्नेछ। सामाजिक क्षेत्रमा काम गर्दै आएको काउन्सिलले यही कारण सहकार्य गरेको हो।’ 

फिल्ममा बुद्धि तामाङ, पुस्कर गुरुङ, सरिता गिरी, राजन खतिवडा, सरोज अर्याल, मानस राज, लक्ष्मी बर्देवा, जीवन बराल, रोशन फ्युबा, खेम मोक्तानलगायतका कलाकारले अभिनय गर्नेछन् । फिल्ममा प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत रहनेछ। फिल्मको ३० प्रतिशत छायांकन बाँकी रहेको र आउँदो माघमा रिलिजको योजना रहेको निर्देशक बलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.