दूषित खानेपानीका कारण समस्या आएको चिकित्सकको भनाइ

|

दमक : झापाको दमक-७ का वडा सदस्य श्याम कार्कीलाई गत शनिबार साँझदेखि निरन्तर ज्वरो आयो। सुरुमा आँखा सुनियो। त्यसपछि ढाडको मेरुदण्ड दुख्न थाल्यो अनि क्रमशः ज्वरो आयो। उनी भन्छन्, ‘गत शुक्रबार राति ठूलो पानी आएपछि पानीमा भिजियो, जनताहरुलाई उद्धार गर्न गइयो, भोलिपल्टदेखि बिरामी परेँ।’ सुरुमा उनलाई आफैँ निको हुन्छ जस्तो लाग्यो र अस्पताल आएनन्। तर, एक हप्ता बित्न लाग्दा पनि निको हुने छाँटकाट भएन। त्यसपछि उनी शुक्रबार अस्पताल आए।

यस्तै, दमक-४ का ४८ वर्षीय गणेश खट्कालाई पनि बाढी आएयता निरन्तर घाँटी दुख्ने, छाती दुख्ने र खोकी लाग्ने समस्या आयो। उनलाई आफू पानीमा भिजेको पनि थाहा छैन तर पनि बिरामी भए। त्यसपछि उनी अस्पताल आए। अस्पताल आउँदा उनलाई डाक्टरले मौसमी बिराम हो भने। उनी भन्छन्, ‘अस्पताल आउँदा मात्र थाहा भयो मलाई भाइरल ज्वरोले भेटेको रहेछ, म जस्ता बिरामी अस्पतालमा धेरै रहेछन्।’

पछिल्लो समय झापाको दमकस्थित सरकारी अस्पताल दमक अस्पतालमा भाईरल ज्वरोका विरामीको चाप बढेको छ। केही दिन अघि आएको लगातारको वर्षापछि भाइरलका बिरामी बढेको अस्पतालले जनाएको छ।

अस्पतालमा दैनिक १ सय २० भन्दा धेरै भाईरलका बिरामीहरु आउन थालेको निमित्त अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर विपिन पाण्डेले बताए। उनका अनुसार अहिले मौसमी बिरामीको संख्या ह्वातै बढेको छ। रुघाखोकी, ज्वरो, टाइफाइड तथा छाला सम्बन्धीका बिरामी अस्पतालमा दैनिक आउने गरेको उनले बताए।

उनले भने, ‘एक हप्ता अघिसम्म दिनको ६० देखि ७० जना बिरामीहरु आउँथे अहिले दोब्बरको संख्यामा बिरामी आउन थालेका छन्।’ उनका अनुसार तराई क्षेत्रमा आएको बाढीले खाने पनि दूषित बनाउँदा यस्तो समस्या देखा परेको हो। यस्तै, दूषित पानीका कारण छालासम्बन्धी रोगहरु पनि त्यतिकै मात्रामा देखे पर्न थालेको छ। उनी भन्छन्, ‘बाढी पछाडि भाइरलका बिरामी बढेका छन्, यो दूषित पानीका कारण हो यस्तो रोग सर्ने सम्भावना हुन्छ, त्यसैले सतर्क रहन सबैलाई आग्रह गर्दछु।’ 

डेंगु किट छैन अस्पतालमा

गत वर्ष ६ सयभन्दा धेरैलाई डेंगु लागेको दमकको सरकारी अस्पतालमा हालसम्म डेंगुको जाँच गर्ने किट छैन। अस्पतालले जिल्ला जनस्वास्थ्य कार्यालयबाट किट माग गरेको जनाएको छ। गत वर्ष पनि सुरुका समयमा किट नहँुदा समस्या भएको थियो डाक्टर पाण्डे भन्छन्,‘अब डेंगु फैलने समय सुरु हुँदै छ, गत वर्ष पनि दमकमा डेंगु फैलिएको हो, यस वर्ष पनि नफैलने भन्न सकिन्न त्यसकारण हामीले किट मगाएका छौँ।’

किट नहुँदा लक्षणकै भरमा डेंगु हो कि होइन भनेर छुट्याउनु पर्ने अवस्था रहेको बताए। तर यो वर्ष अहिलेसम्म डेंगु फेला परेको छैन। अन्य रोगका लागि भने आफूहरुसँग पर्याप्त औषधि रहेको उनले बताए। उनले भने, ‘किट पनि मगाउँदै छौँ तर, हामीसँग अहिले औषधि चाँहि पर्याप्त छ, नेपाल सरकारले निःशुल्क बितरण गर्ने ७० प्रकारका औषधी हामीसंग छन्।’

अस्पतालप्रति यस्तो छ स्थानीयको गुनासो

भाइरलको संक्रमण बढेको बेला दमकको एक मात्र सरकारी अस्पतालले प्रभावकारी सेवा नदिएको स्थानीयले गुनासो गरेका छन्। यस्तो समयमा पनि डाक्टरहरु छिनछिनमै कार्यालय समयमै हराउने गरेको स्थानीय बताउँछन्। स्थानीय दमक–१ का खगेन्द्र राईले अस्पतालले बिरामी जाँचका लागि १२ बजेदेखि उता पुर्जा नकाटेको गुनासो गरे। उनले भने, ‘हाम्रो पनि कति काम हुन्छ, ढिलो आयो भने टिकट नै काटिँदैन रहेछ, म यहाँ १२ बजे आइपुगें पुर्जी काट्न दिएनन्, बल्ल काट्न दिए, बिरामीले सरकारी अस्पतालबाट राम्रो सेवा पाउनुपर्ने हाम्रो माग हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.