|
फाइल फोटो

धरान : २७ साउन मध्यरातबाट तीन दिनसम्म परेको अविरल वर्षाका कारण डुबानमा परी सुनसरीमा ८ करोड बराबरको कृषि उपज नष्ट भएको छ। लगातारको वर्षासँगै आएको बाढीले सुनसरीको अधिकांश भूभाग जलमग्न हुँदा कृषकले लगाएको तरकारी बाली, धान लगायतका कृषि उपज नष्ट भएको हो।

जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएअनुसार ३६ हजार ५ सय हेक्टरमा लगाइएको धानबाली डुबानमा परेको थियो। जसमा १७ हजार ५ सय हेक्टरको धानबाली नष्ट हुँदा १ करोड ९२ लाख १२ हजार बराबरको क्षति भएको जिल्ला कृषि विकास कार्यालय सुनसरीका वरिष्ठ कृषि विकास अधिकृत राजकान्त झाले जानकारी दिए।

यसैगरी, तरकारीवालीतर्फ ९ हजार २ सय हेक्टरमा लगाइएको तरकारी पूर्ण रुपमा काम नलाग्ने भएको छ। केही ठाउँमा आंशिक रुपमा तरकारी बचेको भए पनि कृषकलाई ठूलो मर्का परेको झाले बताए। झाका अनुसार सुनसरीमा कुल २ करोड ७ लाख बराबरको तरकारीवाली नष्ट भएको छ।

यसैगरी, केरा खेतीको लागिसमेत राम्रो स्थल मानिएको सुनसरीमा कुल १ सय ३५ हेक्टरमा लगाएको केरा नष्ट हँुदा २ करोड १५ लाख बराबरको क्षति भएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार १ सय २० हेक्टरमा लगाएको माछा नष्ट हुँदा १ करोड ८५ लाख ३२ हजारको क्षति भएको छ।

सुनसरीमा बाढीका कारण क्षति व्यहोरेको कृषकहरुको नामवली संकलन गरी राहतको लागि जिल्ला दैविप्रकोप उद्धार समितिमा पठाउने काम भइरहेको वरिष्ठ कृषि विकास अधिकृत राजकान्त झाले बताए। उनका अनुसार कृषि बिमा गरेको कृषकहरुले बिमा गरिएको मूल्यअनुसार क्षतिपूर्ति पाउनेसमेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.