|

जनकपुरधाम : खडेरीका कारण लामो समयसम्म धान रोपाइँ गर्न नपाएका धनुषाका किसान बाढीका कारण दोहोरो मारमा परेका छन्। बाढीले बालीनालीमा ठूलो क्षति गरेपछि किसानहरु चिन्तित बनेका छन्।

गत बुधबारदेखि सोमबारसम्म लगातार ६ दिनको वर्षासहित आएको बाढीले बालीनाली नष्ट गरेपछि धनुषा फुलगामाका ५० वर्षीय रामकुमार महतो निकै चिन्तित भएका छन्। ४५ हजार रुपैयाँ खर्चेर डेढ बिघा जग्गामा लगाएको धानबाली नष्ट भएपछि वर्ष भरी के खाने, के लाउने भन्ने चिन्ताले महतोलाई सताएको छ। 'हाम्रो त सप्पै धान सखाप भो, बाढी कम भएपछि कति बाँच्यो वा सबै खत्तम भने भने कुरा मात्र थाहा हुन्छ। यस वर्षको पानीको रेतले त शुन्य धान बाँचेको होला ' उनले भने।

बाढीले धनुषाको २७ हजार ६ सय हेक्टरमा लगाइएको धानबालीलाई क्षति पुर्‍याएपछि महतोजस्तै धनुषाका १० हजार भन्दा बढी किसान समस्यामा परेका छन्। समयमा पानी नपरेपछि दमकलबाट खेतमा पानी पुर्‍याएर रोपेको धान बाढीले नष्ट भएको किसानहरुको दुःखसो छ।

यता जनकपुरमा बाढीको अनुगमन गर्न आएका बेला कृषिमन्त्री रामकृष्ण यादवले कृषिको क्षति अनुसार तथ्याङ्क लिएर प्रतिवेदनको आधारमा क्षतिपूर्ति उपलब्ध गराइने बताए पनि हालसम्म कुनै कार्यालय वा संस्थाले सोधखोज गर्न नआएको किसानहरुले दुखेसो गरेका छन्।

लामो खडेरीपछि परेको अविरल वर्षाका कारण बाढीले माछा व्यवसायीहरु पनि निकै मारमा परेका छन्। ३ सय ४३ हेक्टरमा रहेको पोखरीमा पानी पसेपछि एक हजार ३० मेट्रिक टन भन्दा बढी माछा र एक करोड भन्दा बढी भुरा बगेको जिल्ला कृषि विकास कार्यालय धनुषाका प्रमुख प्रदीप ठाकुरले बताए। उनका अनुसार धनुषामा २५ करोड भन्दा बढीको माछामा मात्र बगेर गएको छ। उनले भने 'क्षतिको लागत सहित प्रतिवेदन हामीले अनुमान सहित क्षेत्रीय निर्देशनालय र कृषि विभागमा पठाएका छौं, मलाई आशा छ, नेपाल सरकारले किसान किसानको लागि केही न केही राहतको व्यवस्था गर्छ।'

धान, मकै, रहर, तरकारी, माछा लगायत २ अर्ब ३ करोड भन्दा बढिको क्षति भएको जिल्ला कृषि विकास कार्यालयको प्रारम्भिक अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.