|

काठमाडौं : तराईका जिल्लामा अविरल वर्षापछि यसैसाता आएको बाढीका कारण ठूलो मात्रामा जनधनको क्षतिसँगै करिब २० हजार स्यालो ट्युवेलको पानी प्रदुषित भएको छ। खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी खानेपानी दुषित भएका करिब २० हजार स्यालो ट्युवेलको पानी परीक्षण पछि मात्र पिउनको लागि योग्य हुने बताए।

मन्त्री यादवले प्रभावित जिल्लामा १८ जना ईञ्जिनियर खटाइएको र हालसम्म बाढीपीडितमध्ये कसैले पनि खानेपानीको अभाव झेल्नु नपरेको दाबी गरे।

‘बाढी प्रभावित १६ जिल्लामामा शुद्ध खानेपानीको अभाव हुन नदिन पानी परीक्षण सवारी (वाटर एम्वुलेन्स) परिचालन र शुद्ध पानी वितरण गरिएको छ,’ मन्त्री यादवले भने ‘बाढी पीडित कसैलाई पनि खानेपानीको अभाव हुन नदिन मन्त्रालयले प्रत्येक जिल्लालाई पाँच लाख रुपैयाँ खर्च गर्न अख्तियारी दिएको छ।'

उनले शुद्ध पिउने पानी र सरसफाईको लागि मन्त्रालयले १४ ठाउँमा ‘वास स्टक’ राखेर आवश्यक सामग्री वितरण गरेको बताए। उनले बाढी प्रभावित क्षाेत्रमा शुद्ध खानेपानीको अभाव भएमा सम्बन्धित क्षेत्रको कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए। यादवले भने ‘बाढीको प्रकोप भएको सबै जिल्लाका केन्द्रबाटै कर्मचारी खटाएका छौं। यदी कुनै ठाउँमा पानी भएन भने त्यसको व्यवस्था गर्न रकम र स्रोत जुटाई दिएका छौं,। यति गर्दा पनि कुनै जनताले पानी पाइन भन्छ भने त्यो क्षेत्रको जिम्मेवारी पाएको कर्मचारीले कारबाही भोग्छ।’

खानेपानी तथा सरसफाई सचिव भीमप्रसाद उपाध्यायले ६० वर्षपछि आएको ठूलो बाढीका कारण ठूलो विपद् सिर्जना भएको बताए। उनले  मन्त्रालयको सजकताका कारण बाढी पीडित कसैले पनि दुषित पानीको कारण बिरामी हुनु नपरेको दाबी गरे। उनले भने ‘दुषित पानीका कारण कसैको निधन भएको छैन। यो सिजन नैं भाइरल ज्वरोको हो। यो बाढीले होइन तर अब मरेका पशुपंक्षीलाई व्यवस्थित तरिकाले गाडिएन भने दुर्गन्धले समस्या ल्याउन सक्छ।’

मन्त्रालयले सप्तरीमा तीन सय ८० थान क्यान्डल फिल्टर बर्दिया, रौतहट र सप्तरीमा पाँच हजार तीन सय थान बाल्टिन, बर्दिया, धनुषा र सप्तरीमा एक हजार थान जग तथा १५ जिल्लामा ११ लाख ९३ हजार आठ सय ४० अक्वाट्याव (ट्याव्लेट),आठ हजार नौं सय १७ हाइजेनिक किट र अधिकांश जिल्लामा एक लाख २३ हजार तीन सय ६० थान फ्लोकुलेन्ट (धमेलिएको पानी शुद्ध पार्ने) ट्याव्लेट वितरण गरिएको जानकारी दिएको छ।

मन्त्रालयले ति जिल्लाहरुमा पाँच हजार चार सय चार थान साबुन, १३ हजार चार सय ५० वटा पियुस (पानी शुद्ध पार्ने),आठ सय पाउडर (पानी शुद्ध पार्ने) र सुनसरी जिल्लामा एक हजार थान जेरी क्यान वितरण गरेको छ। मन्त्रालयले ‘वास क्लसटर आइटम’ भन्दै १५ वटा वाढी प्रभावित जिल्लामा ११ किसिमका सामग्रीहरु वितरण गरेको छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.