|

विराटनगरः गत शुक्रबार रातीदेखि आएको बाढीले धेरैलाई विचल्ली बनायो। धेरै बिस्थापित भए। पक्की घर भएकाको क्षति सामान्य भयो। कच्ची घर हुनेको घर भत्कियो। बाढीका कारण विराटनगर– १ का लालबहादुर श्रेष्ठको सबै सकियो, बाँकी दुई सय ६५ रूपैयाँ रह्यो। 

शुक्रबार लालबहादुरको बस्ती परोपकार घाटमा एक हुल मानिस सरसफाई तथा भत्केका घर निर्माण गर्ने भन्दै पुग्यो। लालबहादुर विस्थापित भएर भर्खरै घर आउँदै थिए। उनको सानो झुप्रो भत्किएर माटोको लेदोले पुरेको थियो भने घुम्ती हिलाम्य थियो। उनकै घर सफाई गर्दै गर्दा टोलीले एउटा बाकस भेट्टायो। लगत्तै लालबहादुरले त्यो बाकस पाए। लालबहादुर हौसिए, धेरै पाएको जस्तो भए, मुहारमा खुसी छायो। 

गरिव, सुकुम्बासीका लागि बाढीले के नै लान सक्थ्यो र! भएको सानो घर लगेर केही हुँदैन तर बाकस! बाकसमा लालबहादुरको नागरिकता थियो, श्रीमतीको नयाँ सारी थियो र केही पैसा थियो। त्यति फेला पर्दा उनी खुसी देखिए। उनले भने, ‘बाकसका सारी श्रीमतीलाई लगेर देखाउँछु।’ बाकस खोल्दै जाँदा हिलाम्य भएको दुई सय ६५ रूपैयाँ भेटियो, फेरि उनले भने, ‘पैसा पनि पो रहेछ!’ 

मुटु रोगी ६३ वर्षका लालबहादुरकी श्रीमती सुशीला श्रेष्ठ (७२) को दाहिने पाटो चल्दैन, खाने, बस्ने, उठाउने, सुताउने उनै लालबहादुरले गर्नुपर्छ। बाढी आएपछि श्रीमतीलाई जोगाउन पिठ्युँमा बोकेर पानी नभएको ठाउँतिर लगे। त्यसपछि घर आउन सकेनन्। लगाएको लुगाबाहेक केही जोगिएन। तर, बाकसमा उनले नागरिकता, मतदाता परिचयपत्र भेटेका छन्। ‘दैवको लीला मान्नै पर्ने’, उनले भने, ‘अहिले श्रीमतीसँगै परोपकार घाटमा किरियापुत्रीले खाजा खाने ठाउँमा बसिरहेको छु, मनकारीहरूले सहयोग गर्दै छन्।’ उनी आफैँ पनि कठिन काम गर्न सक्दैनन्। ‘ज्यालादारी गरौँ भन्यो मुटु फुलिहाल्छ’, उनले भने। 

भएको एउटा छोरो दीपक श्रेष्ठको ३२ वर्षको उमेरमै मृत्यु भयो। ‘नाति जन्मिएको दुई महिना पुग्न दुई दिन बाँकी थियो, छोरो म¥यो’, दुःख पोख्दै उनले भने, ‘केही समयपछि नातिलाई लिएर बुहारी पनि माइततिर लागिन्, अहिलेसम्म खोजी खबर छैन, दुई जना बूढाबूढी बसेका छौँ।’ ऐलानी जग्गामा बनाएको घुम्तीबाट चिया बेचेर खाइरहेका थिए उनीहरू। ‘अब त त्यो घुम्ती पनि बाढीले लग्यो’, उनको दुःख पोखियो।

बुहारीसँग सम्पर्क नभएको चार वर्ष भएको उनले बताए। उमेर हिसाब गर्ने हो भने नाति १७ वर्षको भयो होला। तर, खोजीनीति गर्न आफूसँग पहुँच नभएको उनको भनाइ छ। ‘बाढी आएपछि खै बुहारी र नातिलाई केही भयो कि केही थाहा छैन, फोन नम्बर पनि बाढीले लगिदियो’, उनले भने, ‘बुहारी र नातिले पनि आफूलाई सम्पर्क गरेका छैनन्।’ 

जीवनको नियति भोगिरहेका उनलाई बस्ने घरको खाँचो छ। ‘खै कसलाई भनौँ र! सबैलाई यस्तै दुःख त होला नि!’, उनले भने। राहत र उद्धारमा खटिएको टोलीले सहयोग गर्नुपर्ने भावना पोखे पनि उनी बस्ने घर कहिले बन्ने हो कुनै टुंगो छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.