|
फोटो साभार : www.enayapatrika.com

धरान : बर्खाको बाढीमा चार घण्टा लगातार बगेर पनि जीवित रहनु असम्भव नै हो। बाढीले झण्डै १० किलोमिटर टाढासम्म बगाउँदा साहस र संयोगले साथ दियो, त्यसैले बाँचिन् सानुमाया राई। तर, त्यही घटना उनका दिदी भिनाजुका लागि दुर्भाग्य बन्यो। दिदीको शव भेटिएको छ भने भिनाजु अझै बेपत्ता छन्। 

इटहरी गैरीगाउँकी सानुमायालाई इटहरीकै जनता वस्तीस्थित दिदीको घरमा मध्यरातमा सुतिरहेकै बेला बाढीले बगाएको थियो। सानुमाया छुट्टीका बेलामा दिदीको घरमा जान्थिन्। यसपाली पनि दिदीका तीन वर्षीय छोरा निमेशको शनिबार वर्थ डे (जन्मदिन) मनाउने भनेर अघिल्लै दिन दिदीको घरमा पुगेकी थिइन्। अर्को दिन वर्थ डे मनाउने तयारी गरेर राति ११ बजे उनीहरु सुतेका थिए। रातको १२ बजे सुसाउँदै खोला आयो। बाढी आइरहेकाले बाहिर मान्छेहरु चिच्याइरहेका थिए। तर आफूहरु सुरक्षित रहनेमा सानुमाया ढुक्क थिइन्। टिनको छानो र इँटाको गारो भएकाले घर दरिलै छ भन्ने उनको सोचाइ थियो। 

बाढी घरमा पसेको सबैभन्दा पहिले आफूले थाहा पाएको उनले बताइन्। थाहा पाउन्जेल बाढी घरको माथिमाथिसम्म पुगिसकेको थियो। हेर्दाहेर्दै बाढीले घरको गारो भत्कायो। उनीहरु अत्ताल्लिए। बचाउ बचाउ भन्दै गुहार मागे। बाढीले उनीहरुलाई बगाउँदै लग्यो। बगाउँदै गर्दा सानुमायाले एउटा रुख समात्न सकिन् र त्यसमा चढिन्। अब बाँचिन्छजस्तो भएको थियो।

त्यसैले रुखमै चढिरहेका बेला सानुमायाले काठमाडौंमा रहेकी आमालाई फोन गरेर बाढीले बगाएको, तर आफू रुखमा चढेर बाँच्न सफल भएको जानकारी दिइन्। तर त्यही रुखले पनि बाढीको बेग थाम्न सकेन र केही बेरमै ढल्यो। अब बाढीले रुखसँगै सानुमायालाई बगाउन थाल्यो। सानुमायालाई पौडी खेल्न आउँदैन। तर बाढीमा फसेपछि रुखका हाँगाबिँगा समाउदै उनले पौडने कोसिस गरिन्। ' मलाइ बाँच्न लेखेको रहेछ' सानुमायाले भनिन्, 'जे जे भेटेँ समात्दै हातखुट्टा चलाउँदै गएँ।'

उनलाई बाढीले ठूलो झड्काका साथ बगाएको थियो। बाढीमा आएका मुढा त पटक पटक उनको खुट्टामा नराम्रोसँग ठोक्किए। तैपनि, यस्तै मुढाको भरमा उनले आफूलाई किनारसम्म पुर्‍याउन सकिन्। सानुमायालाई शनिबार बिहान साढे पाँच बजे हात्तीमुडाको खोलामा दाउरा टिप्न आएका स्थानीय विरुऋषि देवले उद्दार गरेका थिए। यतिन्जेलसम्म उनी १० किलोमिटर तल पुगेकी थिइन्।

'मेरा आँखामा बालुवा परेर हेर्न सक्ने अवस्था थिएन' उनले भनिन् 'आफू कहाँ छु भन्ने पनि थाहा पाइनँ मान्छेहरु बोलेको सुनेँ, मलाइ कसैले बचाउन लागेको छ भन्ने लाग्यो त्यसैले थप गुहार पनि माग्न खोजेँ, तर मुखमा माटो र बालुवा भरिएकाले बोल्न सकिनँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.