|

बागलुङ : घाँटीको क्यान्सरले थलिएकी गलकोट नगरपालिका–७ सिरवारेकी ५४ वर्षीया कौशिला दर्जीको उपचार रकम अभावका कारण रोकिएको छ। 

उपचारमा प्रयोग हुने ‘किमो’ चढाउन नसकेपछि दर्जीका आफन्त सहयोगको आशामा सदरमुकाम आएका छन्। ‘दुई वटा किमो चढाइयो, बाँकी चार वटाका लागि पैसा छैन’, दर्जीका श्रीमान् टेकबहादुरले दुखेसो पोखे। 

भरतपुरस्थित बिपी मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत दर्जीलाई एउटा किमो चढाउँदा ४५ हजार रुपैयाँ खर्च हुने गरेको छ। चिकित्सकले रोग निको हुने बताए पनि पैसा अभावमा श्रीमतीको उपचार गर्न नसकिने हो कि भन्ने चिन्ता छ, टेकबहादुरलाई। नाताले भाइ पर्ने खेमराज भित्रीकोटीको पहलमा गाउँमा सहयोग जुटाएर दर्जीको उपचार शुरु गरिएको थियो।

निसन्तान कौशिलाको उपचारमा सघाउन भित्रीकोटी पनि अहिले सदरमुकाम आएका छन्। ‘यहाँबाट केही सहयोग जुट्छ कि भनेर आएका हौँ’, भित्रीकोटीले भने, ‘तत्काल पैसा जुटाउन नसके अस्पतालले बिरामीलाई फिर्ता पठाउने भनेको छ।’ 

सामान्य काम गरेर दैनन्दिन  चलाउनेबाहेक दर्जी दम्पतीको आयआर्जनको अर्को कुनै बाटो छैन। मजदुरी गरेर जीवन धानेको दर्जी दम्पतीलाई खर्चिलो रोग लागेपछि  विपत्ति थपिएको छ। श्रीमती अस्पताल भर्ना भएकै दिन टेकबहादुरको घाँस काट्ने क्रममा लडेर हात भाँचिएपछि घर सम्हाल्न धौधौ छ। 

गत जेठ २४ गते अस्पताल पुगेकी दर्जी भरतपुरमा रहेका आफन्तका घरमा बसी अस्पतालबाट किमो लिइरहेकी छिन्। हालसम्म डेढ लाख जति खर्च भएको र थप चार लाख रुपैयाँ खर्च हुने अस्पतालले जनाएको छ। उपचारमा आर्थिक समस्या भएपछि जिल्लाबाट केही सहयोग मिल्छ कि भनेर सदरमुकाम आएको दर्जीका भाइ भित्रीकोटीले बताए। दर्जीका श्रीमान् र भाइले जिल्ला जनस्वास्थ्य कार्यालयलगायत कार्यालयमा धाएर सहयोगको याचना गर्नुभएको छ। 

‘घरको आम्दानी केही छैन, काम गरेर खाने हामीलाई यस्तो आइलाग्यो’, टेकबहादुरले भने,  ‘यस्तो कसैलाई नपरोस्, गरिबले उपचार गर्न पनि नसकिने भयो।’ दुःख, सुखमा सघाउने श्रीमती नै अस्पतालमा पुगेपछि टेकबहादुरलाई चिन्ताले पिरोलेको छ। थोरै बारीमा छिमेकीले आएर कोदो रोपिदिए पनि अहिले पाकेको मकै भाँच्ने र कोदाको झार फाल्ने कोही नभएको दुखेसो पोखे,टेकबहादुरले । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.