|

संखुवासभा : पाँचखपन नगरपालिका ८ मा ८८ लाख रुपैयाँ लागतमा निर्माणाधीन खानेपानी योजना मुहानको विवादका कारण अन्योलमा परेको छ। साविक जलजला गाविसको ५ र ६ नम्बर वडामा पर्ने जलजला खानेपानी तथा सरसफाइ आयोजनाको मुहानमा दुई गाउँको विवाद भएपछि अलपत्र परेको हो।

उक्त आयोजनाको मुहान पाँचखपन नगरपालिका १ को कुसुवा खोला हो। खोलाको पानी लैजाँदा हिउँदमा आफूहरुलाई समस्या हुने भन्दै वडा नम्बर १ र २ का वासिन्दाले विरोध गरेपछि आयोजनाको काम रोकिएको छ। वडा नम्बर २ का वासिन्दाले खोलाबाट कुलो सञ्चालन गरी झन्डै दुई हजार रोपनी खोतीयोग्य जमिनमा सिंचाई गर्छन्। १ नम्बर वडामा खेतीयोग्य जमिन सिंचाई गर्नुका साथै उक्त खोलाबाट २०६३ सालमा १५ किलोवाट क्षमताको कुसुवा खोला लघु जलविद्युत आयोजना निर्माण गरी विजुली बालिएको छ।

अहिले वडा नम्बर ८ का वासिन्दाले पनि उक्त खोलाबाट खानेपानी लैजाँदा पानीको मुहान घटेर जलविद्युत आयोजना सञ्चालन र हिउँदे बाली लगाउन समस्या हुने स्थानीय स्वागत तामाङले बताए।

उक्त खानेपानी योजना सञ्चालन हुँदा १ र २ नम्बर वडा बासीहरुलाई हुने प्रत्यक्ष असर र क्षतिको विवरण सहित स्थानीयले खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय खाँदबारीमा योजना तत्काल रोक्न आग्रह गरेका थिए। दुई पक्षीय छलफल नहुँदा आयोजनाको निर्माण कार्य असार मसान्तदेखि रोकिएको छ।

८ नम्बर वडामा स्थायी बरोबास भएका श्रीप्रसाद राईको नाममा रहेको जग्गामा मुहान भएकोले ती जग्गाधनीले आयोजना निर्माणका लागि स्वीकार गरेपछि आफूहरुले ती वडामा छलफल नगरेको आयोजना निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राईले बताए। १ र २ नम्बर वडाका बासिन्दाले भने आफूहरुलाई थाहै नदिई र जनभावना नबुझी योजना सम्झौता गरेको आरोप लगाएका छन्।

गत आर्थिक वर्ष सुरु गरिएको आयोजनामा हालसम्म ३० लाख बराबरको सामान खरिद गरिसकिएको छ। २० हजार लिटर क्षमता रहेको पानी ट्यांकीको निर्माण समेत भइसकेको छ। पाँच वर्षमा पूरा हुने लक्ष्य राखिएको उक्त आयोजनाले ८ नम्बर वडाका एक सय घरलाई शुद्ध खानेपानी उपलब्ध गराउने योजना छ।

मुहानबाट ७५ मिलिमिटर मोटो पाइप प्रयोग गर्ने योजना छ। वडा नम्बर ८ मा खानेपानी योजनाको लागि उक्त मुहान सबै भन्दा नजिक रहेकोले आयोजना रोकिए पाँच किलोमिटर टाढा पर्ने भालुखोप भन्ने ठाउँबाट पानी ल्याउनु पर्ने उपभोक्ता समितिका अध्यक्ष राईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.