|

प्यूठान : जिल्लाको प्यूठान नगरपालिकाले चालु आर्थिक वर्षका लागि ५७ करोड ४४ लाख ३० हजार ७ सय ३६ रुपैयाँको बजेट पारित गरेको छ। शुक्रबार भएको नगरपालिका सभाले आर्थिक बर्ष २०७४/०७५ का लागि चालुतर्फ १८ करोड ८१ लाख १५ हजार र पूँजीगत तर्फ ३२ करोड ४८ लाख ४१ हजार २ सय ४३ रुपैयाँ बजेट विनियोजन गरेको छ। ।

प्यूठान नगरपालिकाले विश्व कीर्तिमानी आरोही सञ्जय पण्डितको सम्झनामा सडकमार्ग निर्माण गर्ने निर्णय गरेको छ। खेलकुद तथा पर्वतारोहण मार्फत विश्व कीर्तिमान राख्न सफल पण्डितको नाममा प्यूठान नगरपालिका ८ टिकुरीमा रहेको निर्माणाधीन नयाँ बसपार्कदेखि बाग्दुला बजारसम्मको सडकलाई सञ्जय पण्डित सडक नामाकरण गरी ३० लाख विनियोजन गरिएको हो।

नगरसभाले नगरका १० वडाहरुलाई एक वडा एक उत्पादन वा नमुना बनाउने योजना लिएको छ। सभाले वडा नं १ लाई नमुना बालमैत्री, वडा नं २ लाई वन तथा वातारण संरक्षण, ३ लाई  सहकारी ४ लाई तरकारी पकेट तथा प्लाष्टिकरहित, ५ लाई बाख्रा पकेट क्षेत्र तथा धुँवारहित, ६ लाई पूर्ण सरसफाइयुक्त, ७ लाई  लैगिंक हिंसारहित, ८ लाई एक घर एक धारायुक्त, ९ लाई नमुना उद्योग र १० लाई फलफूल पकेट क्षेत्रको रुपमा चिनाउने निर्णय गरेको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए ।

‘नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, संचार, यातायात, खानेपानी, विद्युत लगायतका विकासका पूर्वाधारहरूको अधिकतम उपयोग गरी वजेट विनियोजन गरिएको छ’ कक्षपतिले भने, ‘एक घर एक रोजगार, एक धारा, नमुना उद्योग, १२ महिना चल्ने सडक, एक गाउँ एक प्राविधिक, बैंक मार्फत सामाजिक सुरक्षा भत्ता, जेष्ठ नागरिकको निशुल्क आँखा उपाचार, बालमैत्री सरकार, शिशुस्याहार केन्द्र निर्माण, जातीय विभेदको अन्त्य लगायतका विषय वजेटले समेटेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.