|

चिरञ्जिबी घिमिरे
दमक : दुवै मृगौलाले काम नगर्ने भएपछि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेका झापा दमक–१ का २७ वर्षीय अरुण विश्वकर्मालाई रकम अभावका कारण समस्या भएको छ। 

आर्थिक अवस्था कमजोर भएका विश्वकर्मालाई बचाउन यतिबेला उनका जेठान मंगलसिंह विश्वकर्मा पैसा जुटाउन लागिपरेका छन्। ६ महिना अघि साहुसँग ऋण गरेर मलेसिया पुगेका अरुण दुवै मृगौलाले काम नगर्ने भएपछि एक महिनाअघि फर्केका हुन्। 

सुरुमा खुट्टा सुन्निएका उनीसँग पैसा नभएका कारण अस्पताल जान सकेनन्। मलेसिया छँदै रोगले च्याप्दै गएपछि उनी  अस्पताल गए। त्यहाँ डाक्टरले मृगौलाले काम नगर्ने भनेपछि उनी २५ दिनअघि नेपाल फर्किएको उनका जेठान मंगलसिंहले बताए। ‘ज्वार्इँले विदेशमै ६० हजार जति सक्नुभयो’, उनले भने, ‘यहाँ आएपछि पनि एक लाख रुपैयाँ सकियो। विदेश जाँदाको ऋण पनि त्यसै छ।’

अरुणको दमकस्थित सुकुम्बासी वस्तीमा बेराको घर छ। घर पनि ससुरालीले नै बनाइदिएका हुन्। उनका १० वर्षीया छोरी र पाँच वर्षीय छोरा अहिले फुपुकोमा बस्दै आएका छन् । श्रीमती धनमाया भने श्रीमान्लाई कुर्न बसेकी छिन्।

उनको अहिले मृगौलाको ‘डाइलासिस’ गर्न मात्र हप्तामा ६ हजार रुपैयाँ लाग्ने गरेको छ। जेठान मंगलसिंह भन्छन्,‘पाँच महिनामै विदेशबाट फर्किँदा ऋण पनि तिर्नुभएको थिएन, अहिले त्यतिकै खर्च लाग्दैछ। अब कसरी उपचार गर्ने भन्ने चिन्ता छ।'

उनले अहिलेसम्म सरकारी निकायबाट कसैले पनि सहयोग नगरेको गुनासो गरे। उनले भने,‘ यस्तो बिरामीका लागि सरकारले पनि सहयोग गर्छ भनेको सुनेका थियौँ तर हामीले पाएका छैनौँ।’

उनले मृगौला प्रत्यारोपण गर्न डाक्टरले १५ देखि २० लाख रुपैयाँ जोहो गर्न भनेको बताए। अरुणको उपचारमा सहयोग गर्न चाहनेहरूले अाफ्नो ९८१६९५०८३२ तथा बुबा (अरुणका ससुरा) खड्गबहादुर विश्वकर्माको नाममा रहेको नेपाल बैंक दमक शाखाको ०१९६१०२९२८३ नम्बरको खातामा पैसा जम्मा गर्न सकिने जानकारी मंगलसिंहले दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.