|

जुम्ला : स्वास्थ्य बिमा गरेका बिमितहरुका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शुक्रबारदेखि उपचार सेवा सुरु भएको छ। नेपाल सरकार, सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति जुम्लाले पत्रकार सम्मेलन गरेर स्वास्थ्य बिमाको सेवा सुरु भएको जनाएको छ। 

पत्रकार सम्मेलनमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति जुम्लाका सहायक प्रबन्धक प्रेमकुमार भण्डारीले असार महिनाभित्रमा ७ हजार १ सय ४४ जनाले स्वास्थ्य बिमा गरेको जानकारी दिए। त्यसमा १ हजार ४ सय ९२ घरधुरी रहेको उनले बताए। बिमा गरेकाबाट ४० लाख १४ हजार ५ सय ७५ रुपैयाँ संकलन भएको उनको भनाइ थियो।

पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य बिमा कार्यक्रमबारे सबैले स्पष्ट बनाउनुपर्ने बताए। उनले सरकारको कार्यक्रममा जनताले पनि सहयोग गर्नुपर्नेमा जोड दिए। त्यसको साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेल्प डेस्क राख्न र डाक्टरहरुले सेवाग्राहीलाई सजिलो तरिकाले सेवा दिन सल्लाह दिएका थिए।

स्वास्थ्य विज्ञानका प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिसँग गरेको सम्झौताअनुसार उपचार सेवा दिने जनाए। उनले सकेसम्म बिरामी सस्तो शुल्कमा सेवा दिनका लागि प्रतिष्ठानभित्रै फार्मेसी स्थापना गर्न थालिएको बताए। विद्युतको अभाव भएकाले गुठिचौर गाउँपालिकाको देपालगाउँबाट विद्युत् ल्याउन तयारी भइरहेको उनको भनाइ छ।

जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले यो कार्यक्रमबाट गरिबहरुलाई सहयोग पुग्ने बताए। उपचार सेवाका लागि भने सरकारले सेवा शुल्क बढाउनुपर्छ, सकेसम्म बिमा गरेका परिवारका सबै सदस्यले बिरामी भएमा उपचार गर्न पाउनुपर्छ, उनले भने। प्रतिष्ठानको सेवालाई विश्वसनीय बनाउनुपर्नेमा उनको जोड थियो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले दीन दुखी र निमुखाका लागि स्वास्थ्य बिमा कार्यक्रम सहयोगी भएको जनाए। छोटो समयमा जुम्लामा हजारौंले बिमा गरेको भन्दै उनले अब पनि बिमा गर्नेको संख्या बढ्ने विश्वास देखाए। उनले भने, ‘जुम्लामा जो जसले बिमा गरेका छन् उनीहरुले आफ्नो पायक पर्ने हिमा गाउँपािलकाको कालिकाखेतु प्राथमिक स्वाथ्य केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उपचार सेवा मिल्ने बताए।

कार्यक्रममा समितिका सम्पर्क व्यक्ति नरेश शाहीले शुक्रबारदेखि जुम्ला, जाजरकोट, चितवन, भक्तपुर र मकवानपुर जिल्लाबाट स्वास्थ्य बिमा गरेकाहरुका लागि सेवा सुरु भएको जनाएका थिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तथ्यांक शाखाका प्रमुख धनबहादुर शाहीले चन्दननाथ नगरपालिका २ का पृथक विक्रम शाहीले पहिलो स्वास्थ्य बिमा सेवा लिएको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.