|

सिन्धुपाल्चोक :  इन्द्रावतीको तीर। ससाना टहरोको लाइन। केही बन्दै गरेको घर। कुनैमा ढलान हालेर छोडिएको छ त केही गाह्रो लगाउदै गरिएको छ। कुनै घर भने तयार भएर घरमूलीको प्रतिक्षामा बसेझैं चिटिक्क छ।

गाउँघरमा पर्ममा खेती चलाए जस्तै माझी समुदायका महिलाले भूकम्पपछि पर्म गरेर घर बनाउन जुटेका हुन्। दिउँसो मध्यान्हको चर्को गर्मीमा ३५ वर्षकी सुनमती माझी रड बाँध्दै थिइन्। माझी छिमेकीको घर बनाउन खटिएकी हुन्। उनीजस्तै चौतारा साँगाचोकगढी– ११ का माझी समुदायले आलो पालो पर्म चलएर पक्की घर निर्माण गरेका छन्।

पर्म चलाएरै यो समुदायको ३६ वटा पक्की (आरसीसी) घर बनेको छ। विनाशकारी भूकम्पले माझी समुदायका शतप्रतिशत घर भत्किएको थियो। पर्म गरेर नै शतप्रतिशत आवास निर्माण गरेपछि आवास अनुदान तेस्रो किस्ता सिफारिस भइसकेको छ।

‘तीन महिना भयो पर्ममा घर वनाउने काम गरेको’, स्थानीय अञ्जु माझीले बताइन्। अञ्जुले तीन महिना अघि सात दिने डकर्मी तालिम लिएकी थिइन्। ‘पहिले त घर वनाउने काम गर्न सकिन्छ भन्ने सोचेकै थिइन, तालिम लिएपछि त्यस्तो गाह्रो लागेन’ अञ्जु थप्छिन्, ‘भूकम्पले घर भत्काएपछि बस्न धेरै सकस भएको छ, त्यसले पनि हामीले छरछिमेक सवैको घर पालैपालो बनायौं।’ डकर्मी काम गर्न आफू दक्ष भएको बताउँदै अरु महिलाहरुलाई दक्ष बनाएर ठेकेदार बन्ने अञ्जुको योजना रहेछ।

यो समुदायमा पुननिर्मित घरको अवस्था अवलोकन गर्ने व्यक्ति हुन् सीता माझी। सात दिने डकर्मी तालिम लिएकी सीताले सबै घरको हरेको तहमा अनुगमन गरेको बताउँछिन्। ‘हामीले मापदण्डलाई पूर्ण अबलम्बन गरेका छौं’ घर ढलान गर्दैगर्दा भेटिएकी सीता निर्माण सामाग्रीको अनुपात मिलाउन सिकाउँदै थिइन्।

आलोपालो आवास निर्माण गरेका सवै घरमा पर्म लगाउन अधिकांश महिला सहभागी भएका छन्। तालिम पाएपछि महिलाहरु कामका लागि सक्षम भएका हुन्। काम गर्न सक्ने घरका जनशक्ति पर्म लगाउन जाने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.