|

काठमाडौं : हिन्दू नारीहरुको महान् पर्व हरितालिका तिज सुरु भएको छ। हिन्दू नारीहरु आज बुधबार राती दर खाने र भोलि बिहीबार तिजको व्रत बस्नेछन्। सहरमा बसोवास गर्नेको संख्या बढेका कारण हिजोआज माइत गएर दर खानुअघि नै समूह बनाएर दर खाने प्रचलन पनि बढेको देखिन्छ। यद्यपि, तिजकै दिन खाइने दरका परिकार र प्रचलनमा पनि धेरै फेरबदल आइसकेको छ। तिजका दरमा के खाने र कसरी व्रत गर्ने भन्ने सन्दर्भमा डा. अरुणा उप्रेतीसँग सविना खनालले गरेको कुराकानीमा आधारित सम्पादित अंश।

विवाहित नारीहरुले पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर तथा अविवाहित युवतीहरुले सुयोग्य पति पाऊँ भनेर तिजमा पानी पनि नखाई व्रत बस्ने गरेको पाइन्छ। तर, डा. अरुणा आफू यस कुरामा विश्वस्त नभएको बताउँछिन्। उनी भन्छिन्, 'श्रीमती व्रत बसेर श्रीमानको आयु बढ्छ भन्ने कुरामा म विश्वास गर्दिनँ। श्रीमती व्रत बसेर श्रीमानको आयु बढ्ने हो भने कतिपय महिलाले  श्रीमान गुमाउनु पर्दैनथ्‍यो होला।'

तर, तिजमा दर खाने भन्ने सांस्कृतिक चलन चाहिँ आफूलाई सुरुदेखि नै  मन पर्ने गरेकाे अनुभव उनले सुनाइन्। 'पहिले गाउँघरमा महिलाहरुले सामान्य खानेकुरा मात्र खान पाउँथे। यसबाट पर्याप्त पौष्टिक आहार पुग्दैनथ्यो। शारीरिक रूपमा पोषण नपुग्ने भएकाले पनि दरको प्रचलन सुरु भएको हो। पहिले-पहिले गाउँघरमा मीठो खान चाडवाड नै कुर्नुपर्थ्यो।

त्यसकारण तीजको अघिल्लो दिन शरीरलाई दह्रो बनाउने खानेकुरासहित दर खुवाउने गरिन्थो।' हिजोआज पनि दरका रुपमा तिजको अघिल्लो दिन माछा, मासु, फलफूल दूध अन्डा, खीर, पनिर आदि आ-आफ्ना   रोजाइ अनुसारका मिष्ठान्‍न भोजन गर्ने गरिन्छ। 

सहरमा किन धेरै अगाडिदेखि सुरु हुन्छ तिज?

पहिले-पहिले महिलाहरुको विहे चाँढै हुने र माइत आउन धेरै समय कुर्नुपर्ने हुन्‍थ्यो त्यसैले तिजको बेलामा माइत आउने साथी संगीहरुलाई भेटेर दुख सुखका कुरा गर्दै दर खाने गरेको  डा. अरुणा सुनाउँछिन्। तर, अहिले महिलाहरुमा आएको सशक्तीकरणले महिलाहरु आर्थिक रुपमा पनि सबल भएका जसले गर्दा सहरी क्षेत्रमा तिज सुरु हुनभन्दा महिनौ‌ं अघिदेखि नै दर खान थालिने गरेको उनी बताउँछिन्।

 दरमा के खाने?

तिजको दरमा के खाने भन्नेमा धेरै महिला दिदिबहिनीहरु अलमलिइरहेको पाइन्छ। यसमा दुईवटा कुरामा ध्यान दिनुपर्छ उनको डा. अरुणा बताउँछिन्। एक तिजको दरमा के खाने र तिजको दिन कसरी व्रत बस्ने भन्नेमा धेरै अलमल भएको पाइन्छ। दरमा खाइने खानेकुराहरु स्वस्‍थ्‍य र पोषणयुक्त हुनपर्ने उनी बताउँछिन्। 'दरमा महिलाहरुले एकदम चिल्लो पीरोयुक्त माछा मासु ,विभिन्न किसिमका गुलियो पेय पदार्थहरु खाने चलन छ। यसले स्वास्थ्यमा राम्रो गर्दैन। हुनत हाम्रो घर भान्छामा चाड पर्व र विशेष समारोहमा विशेष खाने कुरा बनाउने चलन छ। 

जसले गर्दा चिल्लो र मसालेदार खाने कुरा धेरै पकाएर खुवाउने चलन छ। तर यस्तो खुसियाली अवसरहरुमा बनाएर खाइने यस्ता खानेकुरा स्वस्थकर हुदैनन् त्यसैले यस्तो अवसरमा बनाएर खाइने खानेकुराहरु स्वस्थकर हुनु आवश्यक छ, जसले पछि शरीरलाई कुनै असर नगरोस्' उनले भनिन्। तिजमा यस्ता मसलेदार र चिल्लोयुक्त खानालाई दरको रुपमा खानुभन्दा सादा खानेकुरा खाने र सकेसम्म हरियो सागसब्जी फलफूल सलाद दूध दही मही आदिमा बढी ध्यान दिनुपर्ने डा. अरुणाको सुझाव छ।

अहिले अझ गर्मी मौसमको भएकोले पनि खानपानमा विशेष ध्यान दिनुपर्नेमा उनको जोड छ। त्यसका लागि सकेसम्म सादा र ताजा खानेकुरालाई दरको रुपमा प्रयोग गर्ने र धेरै दिनसम्म राखेर खाइने खानेकुरा उपयुक्त नहुने उनले  बताइन्।

'अघिल्लो दिन धेरै खानेकुरा खाने र भोलिपल्ट खाली पेट बस्दा यसले शरीरलाई धेरै असर गर्छ। अझ शरीरमा दीर्घरोगहरु उच्चरक्तचाप, मधुमेह र मुटुको रोग भएका महिलाहरुमा झन् यस्तो गर्नाले धेरै असर गरिरहेको हुन्छ'  उनले भनिन् । त्यसैले दर खादा अघिल्लो दिन सादा र स्वस्थकर खाने कुरा खान तथा तिजको अघिल्लो दिन रातीसम्म खाना नखान पनि उनको सुझाव छ। 

 तिजको दिन भोकै नबसौ‌ं

तिजको दिन महिलाहरुलाई भोकै नबस्‍न डा. अरुणा सुझाव दिन्छिन्। 'अघिल्लो दिन टन्न खाने र भोलिपल्ट पानी पनि नखाई खाली पेटमा व्रत बस्ने चलन छ। यस्तो गर्नु हुँदैन यसले हाम्रो शरीरमा अत्यन्तै नकारात्मक असर गरिरहेको हुन्छ। अझ दीर्घ रोग भएका महिला र गर्भवती महिलाका लागि झन् यसरी व्रत बस्नुनै हुँदैन।' उनले भनिन्। 

'फलफूल जुस दूध  खाएर व्रत बस्ने र तिजका कतिपय राम्रा सांस्कृतिक पक्षको उपयोग गर्नुपर्ने अरुणाको मत छ। जस्तो कि पञ्चमीको दिन कर्कलो खाने चलन छ यो असाध्यै राम्रो पक्ष हो किन भने कर्कलोमा प्रचुर मात्रमा आइरन पाइन्छ। जुन हाम्रो शरीरलाई अत्यन्तै महत्पूर्ण तत्व हो।'

तिजको अर्को सकारात्मक र रोचक पक्ष भनेको नाचगान पनि हो। यसले महिलाको मानसिक थकान तनावहरु हटाउन ठूलो सहयोग गर्दछ। महिला सशक्तीकरणलाई जोड दिँदै मनाउनु राम्रो कुरा भएको उनको बुझाइ छ।

तिजको व्रत पतिले पनि बस्दा हुने पतिपत्नी भनेको एउटै रथको दुई पांग्रा जस्तै हुन् भन्ने उनको विचार छ। एकविना अर्को अपूरो हुन्छ, त्यसैले पतिले पनि पत्नीको नाममा व्रत बस्न सक्छन्। व्रत नबस्ने हो भने व्रत बसेको पत्नीलाई सहयोग गर्न सक्छन्। तर, पतिलाई राम्रो होस्, राम्रो पति पाउन् भन्दै आफ्नो शरीर र मनलाई अप्ठेरोमा पारेर पानी पनि नखाई व्रत बस्‍नु राम्रो नभएको डा. अरुणा बताउँछिन्। शरीरको अवस्थाअनुसार पानी, फलफूल, जुस, दूध, दही खाएर व्रत बस्‍न उनले सबैमा अनुरोध गरेकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.