|

जनकपुर : बाढी प्रभावित धनुषासहित तराई क्षेत्रमा पानी र किटाणुजन्य महामारी फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै औषधि शुद्धिकरण गर्ने औषधि वितरण गर्न थालिएको छ।

बाढीका कारण पानीका मुहानहरु दूषित भएकाले  पानीजन्य रोग तथा सरसफाइको अभावमा महामारी फैलिन सक्ने सम्भावना रहेको छ। दुषित पानी तथा सरसफाइको अभावमा जण्डिस, हैजा, आउँ, झाडापखाला जस्ता  रोगहरुको प्रकोप बढ्न सक्ने भन्दै वास कलस्टरले सो कार्य थालेको छ।

बाढी प्रभावितहरुलाई लक्षित गर्दै खानेपानी शुद्धिकरण गर्न अक्वाट्याब्स, वाटर प्यूरिफायर, पानीको जार, विल्चिंग पाउडर, बाल्टिन, साबुन लगायतको औषधि तथा सरसफाइजन्य सामग्रीहरु वितरण गरिँदैछ। अहिले सम्म १३ सय ६१ घरपरिवारलाई उक्त सामग्रीहरु वितरण गरिएको छ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, शिक्षा कार्यालय, महिला तथा बालबालिका कार्यालय, युनिसेफ, यूएह्याविट्याट, नेपाल रेडक्रस सोसाइटी,एसएनभी लगायतका साझेदार संस्थाहरु समाज उत्थान युवा केन्द्र, समाज विकास पथ नेपाल, जानकी महिला जागरण समाज, पिपुल्स प्रमोट सेन्टर, प्याक नेपाल, हिमालय युवा क्लव लगायतका विभिन्न संस्थाहरुले उक्त क्षेत्रहरुमा पानी शुद्धिकरण गर्ने औषधी वितरण गरिरहेको खानेपानी कार्यालयका निमित्त प्रमुख रामगोविन्द यादवले जानकारी दिए। 

निमित्त प्रमुख यादवका अनुसार शनिबारसम्म जिल्लाको जनकपुर उपमहानगरपालिकाको मुसहर बस्तीमा अक्वाट्याब्स, पानीको जार, बेंगाडाबर लालगढमा विल्चिंग पाउडर, वाटर प्यूरिफायर, नक्टाझिजमा विल्चिंग पाउडर, सुगानिकास, लगमागढागुठी, बटेश्वर, पटेर्वा, मुखियापट्टी मुसहरनियाँ, जनकपुर उपमहानगर पालिकाको जानकी नगर, धनुषाधाम लगायतको स्थानहरुमा अक्वाट्याब्स तथा सरसफाइजन्य सामग्रीहरु वितरण गरिएको छ। 

सो क्रममा पानी शुद्धिकरण गर्ने घरेलु तरिकासहित अक्वाट्याब्स प्रयोग गर्ने तरिकाबारे टोलीले सर्वसाधारणहरुलाई जानकारी गराएको थियो। धनुषामा १ लिटर र ५ लिटर पानी शुद्धिकरण गर्न अक्वाट्याब्स तथा इनार र धाराको टयांकीको पानी शुद्धिकरण गर्न विल्चिंग पाउडर वितरण गरिँदै आएको वास कलस्टका संयोजक एवं खानेपानी, सरसफाइ डिभिजन कार्यालयका  निमित्त प्रमुख यादवले जानकारी दिए।

पिउने पानीमा पानी शुद्धिकरण गर्ने औषधी हालेको आधा घण्टा पश्चात पानी खानुपर्ने हुन्छ। ‘बाढी प्रभावित क्षेत्रहरुमा अहिले जण्डिस, हैजा, आउँ, झाडापखाला जस्ता पानीजन्य रोगहरुको प्रकोप बढ्न सक्ने भएकाले पिउने पानी सुरक्षित वा असुरक्षित रहेको भन्ने यकिन गरेर मात्र पिउन सर्वसाधारणहरुलाई हामीले सचेत गराउँदै आएका छौं,’ टोलीका सदस्य तथा युनिसेफका वास अफिसर राकेश मल्लिकले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.