|
फाइल फोटो

चितवन : अघिल्लो हप्ता राप्ती र नारायणी नदीमा आएको बाढीले बगाएर भारत पुर्‍याएको दुर्लभ एकसिंगे गैंडाको उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जले टोली परिचालन गरेको छ।

बाढीले बगाएर तीन वटा गैंडा भारतीय बस्तीमा पुर्‍याएको पाइएकाले निकुञ्जमा फर्काउन प्राविधिक सहितको टोली परिचालन गरिएको चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

अर्यालको नेतृत्वमा व्यवस्थापकीय टोली र वरिष्ठ पशुचिकित्सक डा. कमल गैरेको नेतृत्वमा प्राविधिक सहित गरी झण्डै ५० जनाको टोली शनिवारदेखि गैंडाको उद्धारका लागि खटिएका छन्। चितवनबाट गएको टोलीले भारतको वाल्मीकि नगरमा पुगेर गैंडाको निगरानी गरिरहेको छ।

अर्यालका अनुसार तीन वटैं गैंडा उद्धार गरी ल्याउनका लागि डाट टोली तथा आवश्यक खोर सहित भारत पुगेका हुन्। चितवन निकुञ्जबाट बगाएकाले भारतको बाल्मीकि टाइगर रिजर्बका अधिकारीहरुसँगको समन्वयमा गैंडाको उद्धार गर्न लागिएको हो।

बाढीले बगाएका २ वटा बयस्क रहेको र एउटा बच्चा गैंडा भारत पुगेको पाइएको छ। भारतको बस्ती भएको र केही झाडी तथा वनमारा भएको क्षेत्रमा एउटा गैंडा रहेको र एउटा गैंडा नारायणी नदी किनारको सानो जंगलको टापुमा रहेको उद्धारमा खटिएका अर्यालले जानकारी दिए। अर्को गैंडा नेपाल भारत ओहरदोहर गरिरहेको भए पनि अहिले भने भारतमै रहेको पाइएको छ।

यसअघि भदौ २ गते अन्दाजी साँढे २ बर्षको जस्तो देखिने पोथी गैंडालाई नेपाल भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिण पूर्वमा पर्ने भारतको बगाहा भन्ने स्थानबाट उद्धार गरी चितवन निकुञ्जमा ल्याएर छाडिसकिएको छ। बाढीका कारण चितवन निकुञ्जमा गैंडा तथा चित्तल लगायत केही वन्यजन्तुहरु मरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.