|

पर्वत : फलेवास नगरपालिका-४ मुडिकुवास्थित सिर्सुवाका लीलाधर तिवारी नामको छोटो रुप ‘एलटी सर’बाट परिचित छन्। आफ्नो पूरै जीवन अस्थायी शिक्षक बनेर बिताएका उनले उमेरको २३ वर्ष पुग्दा ०३७ सालमा चितवनको खैरहनी माविबाट अंग्रेजी शिक्षकको रुपमा जागिरे जीवन सुरु गरेका थिए। अंग्रेजी पढ्न धेरै विद्यार्थीको रोजाइमा पर्ने ‘एलटी सर’ विद्यार्थीको अगाध माया पाउँदा निकै मख्ख छन्।

तर, उनको मनको पीडा भने बेग्लै छ। जीवनको ३७ वर्ष अस्थायी शिक्षक बनेर ६० वर्ष पुगेपछि ०७४ साउन १३ गते अनिवार्य अवकाश पाएका उनलाई रित्तो हात फर्किंदा ‘शिक्षक किन बनेछु!’ जस्तै भएको छ। यद्यपी सन्तुष्टी पनि छ। ‘सबै जीवन अस्थायी शिक्षक बनेर बिताएँ, धेरै विद्यार्थीको माया पाएँ। जागिर अस्थायी भए पनि विद्यार्थीको माया भने स्थायी हुँदो रहेछ।’ निमावि, मावि तहको अंग्रेजी शिक्षक रहँदा ०४९ सालमा उनी स्रोत व्यक्ति बनेर सर्लाहीको मलंगवामा बसेपछि सोही वर्ष मुस्ताङ सरुवा भयो।

तिवारी ०५२ सालमा स्रोत व्यक्ति छाडेर पर्वत मुडिकुवाको माटेदेवल माविमा आंग्रेजी शिक्षकको रुपमा आए। त्यसबेलाको शैक्षिक अवस्था सम्झिदै एलटी सर भन्छन्, ‘मैले पढाउन सुरु गर्ने बेलामा इंग्लिसको मेनपावर नै थिएन। कक्षाको टाठो विद्यार्थीले जसोतसो पढाएर धेरै स्कुलहरु धानिएका थिए। फलानो गाउँको मान्छेले अंग्रेजी पढेको छ भन्ने थाहा पाउँदा शिक्षक बन्न भनी बोलाउन उसको घरमा हेडसरहरुको लाइन लाग्थ्यो। अंग्रेजी विषय अरु नै विषय पढेका शिक्षकहरुले काम चलाउँथे।’

त्यसबेलामा शिक्षण गर्ने तरिकाहरु पनि उस्तै थिए। आफूले ०५२ सालको आयोगमा परीक्षा दिँदा शिक्षक सेवा आयोगको लिखित परीक्षामा नाम निस्केको भए पनि अन्तर्वार्तामा फेल भएपछि उनको उमेरको हद कायम रहने बेलासम्म आयोग नै खुलेन।

उनी भन्छन्, ‘म त अभागी पात्रको उदाहरण मात्र हो। सरकारले गरेको कमजोरीका कारण मजस्तै जीवनभर पढाएर रित्तो हात फर्किनेहरु धेरै छन्।’ नेपालको शिक्षा क्षेत्रमा सबैले राजनीति गरेको कारण शैक्षिक स्थिति पनि खस्किएको र शिक्षकहरु पनि यो पेसामा सन्तुष्ट बन्ने नसकेको उनको विश्लेषण छ। आफ्नो अध्यापनको अवधिमा ०४८ देखि ०७४ सम्म २५ ग्रुप एसएलसी ब्याच उतारेका उनले आफ्नो शिक्षण अवधिमा कसैले पनि यस्तो भएन भनेर गुनासो गरेको सुन्न नपर्नु आफ्नो ठूलो उपलब्धी रहेको बताउँछन्।

अबको समय समाजसेवामा बिताउने योजनामा रहेको तिवारी बताउँछन्। देशलाई समृद्ध बनाउने पहिलो आधार शिक्षा क्षेत्र भएकोले यसमाथि खेलवाड कसैले पनि नगरुन् र शिक्षण पेसालाई आकर्षित पेसाको रुपमा स्थापित गराउने हो भने शिक्षाको जग बलियो बन्ने उनको भनाइ छ। असल शिक्षक बन्नु शिक्षण पेसाको दायित्व र कर्तव्य भएकोले जागिर स्थायी वा अस्थायी जे भए पनि शिक्षक विद्यार्थीको सम्बन्ध सधैँ स्थायी हुनुपर्ने उनको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.