|

जनकपुरधाम : प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवले असोज २ गते तेस्रो चरणको निर्वाचनमा राजनीतिक सहमति अनुसार राष्ट्रिय जनता पार्टी नेपाल सहभागी हुने बताएका छन्। तेस्रो चरणको निर्वाचनमा राजपाको चुनाव चिह्न छाता नभए पनि ६ वटा राजनीतिक शक्तिहरु एक भएर बनेको राजपासंग ६ वटा चुनाव चिह्न भएकोले कुनै पनि चुनाव चिन्ह लिएर राजपा निर्वाचनमा जाने बताएका हुन्।

आइतबार जिल्ला निर्वाचन कार्यालय धनुषाले गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले प्रदेश नं. २ मा स्थानीय निकायको निर्वाचन र प्रादेशिक निर्वाचन एकै पटक गराउन सम्भव नभएको बताउदै आगामी मंसिर ४ गते हिमाली र उच्च पहाडी ३१ जिल्लाको निर्वाचन गराउन सरकारसंग छलफल भइरहेको बताए।

उनले प्रदेश नम्बर २ मा १ सय ३६ निर्वाचन अधिकृत सहित अधिकृत, मुख्य निर्वाचन अधिकृत, खटाइएको जानकारी गराउदै बाढीका कारण तराई मधेसका जिल्लाको बाटोघाटो अवस्था विग्रदो रहेकोले मतदान केन्द्र, निर्वाचन अधिकृत, मुख्य निर्वाचन अधिकृत र जिल्ला सदरमुकामसम्म आउने जाने बाटोको सहज पहुँच बनाउन सरकारलाई निर्देशन दिइसकिएको जानकारी गराए।

निर्वाचन आचार संहिता पालना गराउन तथा स्वच्छ एवं निष्पक्ष बनाउन मदिरा उत्पादनमा रोक, हातहतियार बुझाउने लगायत राजनीतिक दलद्वारा टि–सर्ट, टोपी, ब्याग वितरणमा रोक लगायतका आचार संहिता सम्बन्धित सम्पूर्ण कार्यमा रोक लगाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई र मन्त्रालयलाई निर्देशन दिइसकिएको प्रमुख आयुक्त यादवले बताए। यादवले भने 'निर्वाचनमा भनसुन, तथा लेनदनको आधारमा हुदै आएको कर्मचारी नियुक्ति, बालबालिकाको प्रयोग लगायतका विषयमा तेस्रो चरणको निर्वाचन सुक्ष्म अनुगमन कमिटीले अनुसन्धान र कारवाही गर्नेछ।' 

प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत तथा सुरक्षा निकाय पदाधिकारीको भूमिका स्वतन्त्र एवं निष्पक्ष हुनुपर्नेमा जोड दिदै प्रमुख आयुक्त यादवले संविधान कार्यान्वयनको जिम्मेवारी निर्वाचन आयोगको काँधमा रहेकोले जिम्मेवारीपूर्वक दिइएको भूमिका निर्वाह गर्न समेत निर्देशन दिइएको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.