|

चितवन : स्क्रबटाइफस र स्वाइन्फ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोग समेत देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो आर्थिक बर्ष लागेपछि जिल्लामा एक जना डेंगु रोगको विरामी देखिएको हो।

कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले २२४ जना विरामीको परीक्षण गरिएकोमा एक जनामा डेंगु लागेको पाइएको बताए। कालिका नगरपालिका स्थित जुटपानीकी १७ वर्षीया एक किशोरीमा रोग देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। गएको साउन २७ गते भरतपुर अस्पतालमा डेंगु पुष्टि भएको र उनलाई स्क्रब टाइफस समेत देखिएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरिक्षक केसीले बताए।

जिल्लामा यो आर्थिक वर्ष लागेपछि पहिलोपटक डेंगु देखिएको हो। यसअघि जिल्लामा स्क्रब टाईफस र स्वाईन्फ्लु भनेर चिनिने इन्फ्लुएन्जा ए एचवान एनवानको संक्रमण थियो। 

अहिलेसम्म जिल्लामा ३९१ जनामा गरिएको परीक्षणमा १०५ जनामा स्क्रब टाइफस रोग देखिएको छ। जसमा एकजना महिलाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। चितवनको भरतपुर अस्पतालमा २७, रत्ननगर अस्पतालमा ४, चितवन मेडिकल कलेजमा २३, नारायणी सामुदायिक अस्पतालमा ३६ र मनकामना अस्पतालमा २ जना स्क्रब टाइफसका विरामी फेला परेका छन्। यस्तै अन्य १३ जना विरामी अन्य विभिन्न निजी ल्यावमा पत्ता लागेका हुन्।

यस्तै स्वाइन्फ्लुबाट तीन महिनाको अन्तरालमा १७२ जना विरामी भएको केसीले जानकारी दिए। स्क्रब टाइफस र डेंगुको लक्षण अत्यधिक ज्वरो आउने, टाउको दुख्ने लगायत लक्षण उस्तै भएपनि स्वाइनफ्लुमा भने रुघाखोकी देखिने चिकित्सकले बताएका छन्। 

स्क्रब टाइफस माइट नामको सुक्ष्म किराले टोकेमा सर्छ भने डेंगु एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा सर्छ। जिल्लामा अहिले भाइरल ज्वरो समेत फैलिएकाले सचेत हुन र ज्वरोसँगै लक्षण देखिनेवित्तिकै चिकित्सकको निगरानीमा जान भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.