|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुलाई पार्टीको गम्भीर भूल ठहर गरेको छ। मकवानपुरको हेटौंडामा आइतबार सकिएको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई आत्मसमर्पणवादी भएको आरोप लगाउँदै सरकारमा सहभागी हुने निर्णय प्रत्युत्पादक भएको ठहर गरेको हो।

'आत्मसमर्पणवादी मानसिकताबाट ग्रस्त रहेको सरकारमा सहभागी हुनु राप्रपाजस्तो राष्ट्रवादी पार्टीका निमित्त प्रत्युत्पादक हुन पुग्यो' राप्रपाको निर्णयमा भनिएको छ,' प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावको कारण नैतिकताको आधारमा सरकारबाट अलग भएको बारे आम जनतालाई ठीक ढंगले बुझाउन सकिएन। स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा सरकारबाट फिर्ता हुँदा चुनावलाई समेत नकारात्मक प्रभाव पुग्न गयो।'  प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री र अरु दुई जना मन्त्री सहभागी थिए।

संविधान संशोधनको विपक्षमा मतदान गर्ने

बैठकले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। राष्ट्रिय जनता पार्टीले निर्वाचनमा भाग लिने प्रतिवद्धता व्यक्त गरिसकेको, विधेय पारित गराउन सत्तारुढ दल, सरकार र राजपा समेत गम्भीर नरहेकाले संशोधनमा सहयोग नगर्ने राप्रपाले निर्णय गरेको छ।

राप्रपाले आफ्नो पार्टी विभाजन गर्न सरकार र सत्तारुढ दल समेत क्रियाशील रहेको आरोप पनि लगाएको छ। '‍...राप्रपालाई विभाजन गर्ने कार्यमा सरकार र सत्तारुढ दलहरु क्रियाशील रहेको तथ्यलाई दृष्टिगत गर्दै राप्रपाले संसदमा प्रस्तुत संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ' राप्रपाको निर्णयमा भनिएको छ।

राप्रपाले बाढी, पहिरो र डुवान पीडितहरुको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ। त्यस्तै बाढी, पहिरो र डुवानमा ज्यान गुमाउनेका परिवारलाई ५ लाख रुपैयाँ दिन र बाढी तथा डुवानबाट विस्थापित परिवारलाई भूकम्प पीडितहरुलाई सरह ३ लाख दिन पनि राप्रपाले माग गरेको छ।

राप्रपाले भारतीय तटबन्धका कारण नेपालमा प्रत्येक वर्ष सीमा क्षेत्रका गाउँ वस्तीहरु डुवानमा पर्ने गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा यो विषयलाई उच्च प्राथमिकताका साथ उठाउन पनि आग्रह गरेको छ।

राप्रपाले सनातन धर्म र संस्कृतिको संरक्षण र हिन्दु राष्ट्र पुनर्स्थापना अभियानलाई सशक्त बनाउन भन्दै पार्टीको भातृ संस्थाको रुपमा सनातन धर्म संस्कृति परिषद गठन गरेको छ। यसको संयोजक पुष्पराज पुरुषलाई बनाइएको छ।

राप्रपाले भदौ १५ देखि पाँच विकास क्षेत्रमा पार्टीका तर्फबाट स्थानीय तहमा जित हासिल गरेका पदाधिकारीका लागि प्रशिक्षण कार्यक्रम राखेको छ। त्यस्तै पाँच विकास क्षेत्रमा धर्म सभा र असोज २३ देखि ३१ सम्म राष्ट्रिय स्वाभिमान यात्रा सञ्चालन गर्ने पनि निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.