|

बारपाक : कुनै समय नेपालकै नमुना होमस्टेबाट पुरस्कृत भएको र भूकम्पपछि बन्द रहेको बारपाक होमस्टे गत वर्षको मंसिरदेखि फेरि सुरु भयो। २०७२ वैशाख १२ मा यही बारपाकलाई केन्द्रविन्दु बनाई गएको विनाशकारी भूकम्पका कारण देशकै नमुना बनेको होमस्टे बन्द भएको थियो।

भूकम्प पश्चात विभिन्न संघसंस्थाद्वारा टेण्ट जस्तापाता लगायतका सामान सहयोग गरेर होमस्टेलाई टेवा पुर्‍याउन खोजे पनि पीडामा परेका बारपाकीले सहजै होमस्टेलाई उठाउन सकेनन्। बन्द भएको डेढ वर्ष पछि बारपाक होमस्टे पुन सञ्चालनमा आयो।  

बारपाकमा भूकम्प पहिले १७ घरमा होमस्टे सुविधा थियो। आन्तरिक तथा वाह्य पर्यटकहरुलाई बारपाकमा आकर्षण बढाउन २०६६ सालमा सेभेन सिस्टरले बारपाक होमस्टे विधिवत रुपमा दर्ता गरी सञ्चालन गरेपछि सुरु भएको हो।  

‘बारपाक आउनेहरुले यहाँ भएको र उहाँ उब्जाउ हुने जस्तो खानेकुरा खान खोज्छ त्यस्तै उपलब्ध हुन्छ’बारपाक होमस्टे सञ्चालन समितीका कोषाध्यक्ष पुरबहादुर घलेले भने ‘हाम्रो विशेषता भनेको बारपाकमा उब्जाउ भएको कोदोको ढिँडो, सिस्नुको खोले हो। यो पनि होमस्टेमा बस्न आउने पाहुनालाई सोधेर मात्र तयार गर्छौं। नत्र दालभात अनि सागसब्जीहरु भने यहिँ उत्पादन भएकै खुवाउँछौँ।'

होमस्टे सञ्चालन गरे पनि पहिलेकै जस्तो गरी पाहुनालाई सेवा दिन नसकेको उनले बताए। अहिले पाँच घरमा होमस्टे सञ्चालन भइसकेको र हरेक घरमा ६ जनासम्म राख्न सक्ने क्षमता रहेको उनी बताउँछन्। अन्य १४ घरमा पनि होमस्टेका सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको पुरबहादुर बताउँछन्। अन्य तीन वटा घरमा पनि होमस्टे सञ्चालन गर्ने भए पनि ती घरहरु भने पुननिर्माणको चरणमा छन्।

बारपाकको होमस्टेमा अब एक दिनमा ५० जना भन्दा धेरै बास बस्न सक्छन्। होमस्टे ब्यूँताउन बारपाकमा कार्यरत संस्था स्वाँरा सघन गाउँ विकास केन्द्रले पनि सहयोग गरेको स्थानीय बताउँछन्। स्वाँरा सघनले होमस्टेमा चाहिने फर्निचरका सामानहरु, कुर्सी, टेबल, जस्तापाता लगायतका सामाग्रीहरु सहयोग गरेको सो संस्थाका सीताराम श्रेष्ठले बताए। बर्खा लागेकोले अहिले बारपाकमा बाह्य पर्यटकको चाप कम छ।

भूकम्प पछि स्वरोजगारका लागि केहि बारपाकीहरुले होटल ब्यवसाय अँगालेका छन्। १० देखि १५ लाखसम्म लगानी गरेर दर्जन बढी होटल बारपाकमा सञ्चालन गरिएको छ। बारपाकमा भूकम्प यता आफुखुसी घर बनाउने क्रम पनि बढेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.