|

तनहुँ : कलिला बालबालिकाको भविष्य कोर्ने बाटो देखाउने शिक्षकहरुले लापरबाही गर्दै आफ्नो सम्पत्ति विवरण समयमा बुझाउन ढिलाइ गरेका छन्। तोकिएको समयमा शिक्षकहरुले सम्पत्ति विवरण नबुझाउँदा शिक्षा विभागले पुनः अन्तिम पटक ३० दिने सूचना जारी गरेको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ। 

तनहुँ जिल्लाभित्रका १ सय ८७ शिक्षकहरुले आर्थिक वर्ष ०७२/०७३ को सम्पत्ति विवरण बुझाएका छैनन्। जिल्लाका ३ हजार ४ शिक्षकमध्ये १ सय ८७ जनाले सम्पत्ति विवरण नबुझाएको जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीले जानकारी दिए। 
शिक्षा विभागले यही साउन १२ गते जारी गरेको सूचनाले अन्तिमपटक सम्पत्ति विवरण बुझाउने समय थप गरेको जिल्ला शिक्षा कार्यालय तनहुँका शाखा अधिकारी रामेश्वर लामिछानेले बताए। लामिछानेका अनुसार शिक्षकहरुको सम्पत्ति विवरणमा हुने संकेत नम्बर नै महत्वपूर्ण हुनेछ।

केही शिक्षकहरुको सङ्केत नम्बर, दोहोरो संकेत नम्बर कायम भएको, सङ्केत नलेखिएको, सच्याउनुपर्ने र केही शिक्षकले सम्पत्ति विवरण बुझाउदै नबुझाएको शाखा अधिकृत लामिछानेले बताए। ‘सम्पत्ति विवरण बुझाएका शिक्षकको हकमा फाराम भर्दा तिरेको शुल्कमै दर्ता गरिन्छ, तर सम्पत्ति विवरण नै नबुझाएका शिक्षकहरुले भने ५ हजार रुपैयाँ जरिवानामा सम्पत्ति विवरण भर्नुपर्नेछ,’ लामिछानेले भने। 

सम्पत्ति विवरण नबुझाएका जिल्लाका शिक्षकहरुको विवरण सङ्कलन गरी शिक्षा विभाग विद्यालय शिक्षक किताव खानामा पठाइने जिल्ला शिक्षा कार्यालय तनहुँका सहायक प्राविधिक रामेश्वर खनालले बताए। शिक्षकहरुको सम्पत्ति विवरण यही भदौ ११ गतेसम्म सङ्कलन गरिनेछ। 
अख्तियार दुरुपयोग अनुसन्धान हुँदै शिक्षा विभागले शिक्षकहरुको सम्पत्ति अनुगमनका लागि योजना महाशाखा केन्द्रिय कार्यालय टंकाल काठमाडौ, राष्ट्रिय सतर्कता केन्द्र सिंहदरबार, शिक्षा विभाग विद्यालय शिक्षक कितावखानामा विवरण सङ्कलन गरिने गरेको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.