|
फाइल फोटो

चितवन : अघिल्लो हप्ता भीषण वर्षापछि चितवनको राप्ती र नारायणी नदीमा आएको बाढीले बगाएर भारत पुर्‍याएको दुर्लभ एकसिंगे गैंडाको उद्धार गरी सोमबार चितवन ल्याइएको छ। बाढीले भारतको वाल्मीकि नगरमा पुर्‍याएको वयस्क पोथी गैंडालाई उद्धार गरी सोमबार बिहान चितवनको रत्ननगरस्थित सौराहा ल्याइपुर्‍याइएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।

आइतबार साँझ डाट गरेर नियन्त्रणमा लिई ट्रकमा राखेर भारतबाट पठाइएको गैंडा सोमबार राती १ः३० बजे चितवन निकुञ्जको पुर्वी सेक्टर सौराहामा ल्याईपुर्याईएको पाठकले जानकारी दिए। यसरी भारतबाट उद्धार गरिएको यो गैंडा दोस्रो हो।

बाढीले बगाएर थप २ वटा गैंडा भारत पुर्याएको पाईएकाले निकुञ्जमा फर्काउन पुन प्राविधिक सहितको टोली सो क्षेत्रमा परिचालन गरिएको चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

अर्यालको नेतृत्वमा व्यवस्थापकीय टोली र वरिष्ठ पशुचिकित्सक डा. कमल गैरेको नेतृत्वमा प्राविधिक सहित गरी झण्डै ५० जनाको टोली गैंडाको उद्धारका लागि खटिएका छन्। अर्यालका अनुसार थप दुई गैंडा उद्धारगरी ल्याउनका लागि डाट टोली तथा आवश्यक खोरसहित भारतमा छन्। चितवन निकुञ्जबाट बगाएकाले भारतको बाल्मीकी टाईगर रिजर्बका अधिकारीहरुसँगको समन्वयमा गैंडाको उद्धार गरिएको हो।

सोमबार ल्याइएको उक्त गैंडा भारतको बस्ती भएको र केही झाडी तथा वनमारा भएको क्षेत्रमा फेला परेको हो। उक्त गैंडालाई सोमबारै निकुञ्जमा छाडिने जनाइएको छ। अर्काे गैंडा नारायणी नदी किनारको सानो जंगलको टापुमा रहेको र अर्को गैंडा नेपाल भारत ओहरदोहर गरिरहेको भए पनि अहिले भने भारतमै रहेको पाइएको छ।

यसअघि, भदौ २ गते अन्दाजी साँढे २ बर्षको जस्तो देखिने पोथी गैंडालाई नेपाल भारत सिमाभन्दा ४२ किलोमिटर दक्षिण पुर्वमा पर्ने भारतको बगाहा भन्ने स्थानबाट उद्धार गरी चितवन निकुञ्जमा ल्याएर छाडिसकिएको छ।

  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.