|

काठमाडौं : प्रेस सेन्टर, नेपालले पत्रकार उजिर मगरलाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। अघिल्लो पटक प्रेस सेन्टरको तर्फबाट उम्मेदवार बनेर महासचिवमा विजयी भएका मगरले यसपटक संगठनको निर्णयविपरीत अध्यक्ष पदमा उम्मेदवारी दिएपछि उनलाई कारबाही गरिएको सेन्टरले सोमबार विज्ञप्तिमार्फत जनाएको छ।

'पत्रकार महासंघको २५औं महाधिवेशनमा संगठनले अध्यक्षमा गोविन्द आचार्यलाई उम्मेदवार बनाएकोमा उजिर मगरले संगठनको निर्णयविपरीत अध्यक्ष पदमा उम्मेदवारी दिई संगठनप्रति गम्भीर घात गर्नुभएको छ,' सेन्टरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'उम्मेदवारी फिर्ता लिई संगठनको निर्णय मान्न पटक-पटक निर्देशनात्मक आग्रह गर्दा पनि नमानी आफ्नो उम्मेदवारी कायमै राखेकाले उजिर मगरलाई आजकै मितिदेखि प्रेस सेन्टरको साधारण सदस्यबाट निष्कासित गरिएको सबैमा जानकारी गराइन्छ।'

साथै सेन्टरले संगठनका कुनै सदस्यले उनलाई सहयोग गरेको पाइएमा सहयोग गर्नेलाई समेत कारबाही गर्ने चेतावनी दिएको छ। विज्ञप्तिमा मगरले महासचिव छँदा गरेका कामहरुसमेत संगठनको हितविपरीत रहेको जनाइएको छ।

'पत्रकार महासंघको महासचिव भइसकेपश्चात उहाँले गरेका काम, कारबाही र कार्यशैलीका कारण प्रेस सेन्टरलाई क्षति तुल्याएको छ,' संगठनका महासचिव विष्णु सापकोटा जुगलद्वारा हस्ताक्षरित विज्ञप्पतिमा भनिएको छ, 'पत्रकार महासंघका बहालवाला केन्द्रीय सदस्यले समाचारलाई आधार बनाएर लाखौँ रुपैयाँ बार्गेनिङ गरेको घटनामा खेलेको भूमिका, पत्रकार महासंघको काठमाडौं शाखाको निर्वाचनमा संस्थागत धाँधली गरी प्रेस सेन्टरका उम्मेदवारलाई पराजित गरेकोलगायतका घटना संघठनको हितविपरीत छन्।'

महासंघको अध्यक्षमा माओवादी केन्द्रनिकट सेन्टर र कांग्रेसनिकट प्रेस युनियनका तर्फबाट आचार्य तथा एमालेनिकट प्रेस चौतारीका तर्फबाट तीर्थ कोइरालासहित ५ जना चुनावी मैदानमा छन्।

हेर्नुहोस् विज्ञप्ति:

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.