|

  • मिला दरै-

तनहुँ : जिल्लामा आपराधिक घटना वृद्धि हुन थालेपछि तनहुँ प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको मुग्लिन-कोत्रे सडकखण्डका विभिन्न ठाउँमा प्रहरीले चेकिङ गर्न सुरु गरेको हो। जिल्लाको प्रवेशद्वारहरुमा विभिन्न अवैधानिक हातहतियारका सामग्रीसहित लागुपदार्थ ओसारपसार लगायतका आपराधिक घटनाका श्रृंखला बढ्ने गरेकाले चेकजाँचमा कडाइ गर्नुपरेको प्रहरीले बताएको छ।

बजार क्षेत्रमा चोरी डकैतीलगायत विभिन्न आपराधिक क्रियाकलापका घटना हुने हुँदा त्यसको न्यूनीकरणको लागि सुरक्षामा कडाइ गर्नुपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीको भनाइ छ। ‘आमनागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु हाम्रो कर्तव्य हो त्यसैले हामी प्रहरी दिनरात नभनी खटिएका छौं’ उनले भने।

जिल्लामा विभिन्न कार्यालयहरुले जिल्लाका कार्य सम्पादनका लागि टेन्डर खुलाउँदा झडप हुन सक्ने सम्भावना देखिने भएकाले नयाँ रणनीतिअनुरुप प्रहरीले अनुसन्धान तीव्र बनाएको हो। ‘प्रहरीलाई शंका लागेको व्यक्तिलाई कुनै पनि बेलाबेलामा सोधपुछ गर्ने र त्यस्तो व्यक्तिको फोटो खिचेर अनुसन्धान गर्ने गरेको छ,’ जोशीले भने।

स्थानीय तहको निर्वाचनपछि मात्रै विभिन्न प्रकारका हत्याहिंसाका घटना भएको र चोरी डकैतीका घटना वृद्धि भइरहेकाले आमनागरिकको शान्ति, सुरक्षाका लागि चेकजाँच कार्यलाई तीव्रता दिएको हो। केही समयअगाडि प्रहरीले चेकजाँचको क्रममा पेस्तोलसहित दुई युवालाई मादी पुलबाट पक्राउ गरेको थियो।

सडक दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले सावधानीका लागि राजमार्गमा सचेतनाका कार्यक्रम गर्ने गरेको छ। चालकको लापरबाहीको कारण दुर्घटना हुने गरेको जनगुनासोलाई मध्यनजर गर्दै सवारी चालकका लागि समय समयमा सचेतना कार्यक्रमहरुलाई ट्राफिक प्रहरीले तीव्र बनाएको छ।

मुग्लिन–कोत्रे सडकखण्डमा बढी मात्रामा चालकको लापरबाही र घुम्ती सडक बढी रहेका कारण दुर्घटना हुने गर्दछ। मापसे गरेर सवारी चलाउने, सहचालकलाई चलाउन दिनेलगायत विभिन्न कारणबाट सवारी दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ।

०७२/७३ को तुलनामा ०७३/७४मा तनहुँमा ट्राफिक नियम उल्लंघनका घटना वृद्धि भएको छ। राजमार्गमा सवारीसाधनले ट्राफिक नियम उल्लंघन गर्दा जरिवानाबाट राजस्वमा वृद्धि हुन पुगेको हो। नियमविपरीत सवारीसाधन चलाउँदा आर्थिक वर्ष ०७३/७४ मा  ८४ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय तनहुँको तथ्यांकमा छ। कार्यालयका अनुसार १३ हजार ५४७ सवारी साधनलाई कारबाही गरेर सो राजस्व संकलन गरेको हो।

मादक पद्धार्थ सेवन (मापसे)  गरी सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु राख्ने, लाईसेन्स वा बिलबुक नलिई सवारी चलाउने जस्ता ट्राफिक नियम विपरितका कार्य गर्ने सवारी धनीहरुबाट जरिवाना लिई राजस्व सङ्लन गरिएको हो। गतवर्ष १४ हजार १ सय सवारी साधनलाई कारबाही गरी ५५ लाख ९२ हजार ५ सय रुपैया राजस्व संकलन भएको थियो। गत वर्षको तुलनामा २८ लाख ८३ हजार ५ सय रुपैयाँ बढी संकलन भएको कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.