|
रिहर्सल गर्दै गायिका मीना निरौला र संगीतकार आभास

काठमाडौं : फिल्म गीत गायनमा चर्चित गायिका मीना निरौला पहिलोपटक पलेँटीमा एकल गायन गर्ने भएकी छन्। प्रत्येक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको 'आर' शालामा आयोजना हुने साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलाको आउने शुक्रबार हुने कार्यक्रममा मीनाले संगीतकार आभासको संगीतमा एकल प्रस्तुती दिन लागेकी हुन्।

फिल्मका गीत गायनमा व्यस्त गायिका मीना एक दशकयता पलेँटीसँग आवद्ध गायिका हुन्। उनले यसअघि गीतकार रत्नशमशेर थापा, किरण खरेल, राममान तृषित, दिनेश अधिकारी र संगीतकार अम्बर गुरूङ, शान्ति ठटाल लगायतसँग दर्जनौं पलेँटीमा सहगायनको रुपमा प्रस्तुति दिइसकेकी छन्।

मीनालाई संगीतमा सहयोग गर्ने संगीतकार आभास भने पलेँटीलाई स्थापित गर्ने व्यक्ति हुन्। उनले नेपाली कलाकार मात्र होइन सन् २००६ यता पलेँटीमा दार्जीलिङका नेपाली भाषी गायक र संगीतकारलाई पनि समेट्न थालेका हुन्। दार्जीलिङका नेपाली भाषी गायक/संगीतकारलाई समेटिसकेपछि सन् २००७ भारतको उत्तरपूर्वी राज्यका नेपाली भाषी गायकहरुलाई खोज्दै जाने क्रममा मणिपुर पुगेपछि काङ्ला तुम्बिका शान्तनुकुमार लिम्बुलाई पलेँटीमा निम्त्याएका थिए। उनैबाट मणिपुरमा जन्म भएर नेपालमा घरजम गरेर भित्रिएकी मीनाका बारे थाहा पाएका थिए।

‘मीनाले सन् २००७ मा शान्तनुकुमार लिम्बुको पलेँटीमा आफैँले स्वर दिएको एउटा मनिपुरी चलचित्रको गीत शान्तनुकासाथ प्रस्तुत गरिन्', मीनाको नेपाली गायन क्षेत्रमा प्रवेशबारे आभासले भने, 'भाषा नबुझ्ने त्यो गीतको गायकी सुनेर हामी मीनाको प्रसंशक भएको हो।’ मीना बहुआयामिक स्वर भएकी प्रतिभाशाली गायिका भएको उनले बताए।

शुक्रबारको प्रस्तुतिको रिहर्सल गरिरहेको मीनले भनिन्, ‘म संगीतकै लागि काठमाडौं आएकी थिएँ, मेरो अहोभाग्य हो पलेँटीमा स्थान पाएँ। आफूले कल्पनामा पनि नसोचेका आदरणीय अगुवाहरूसित सँगै मञ्चमा गाउन पाएँ।'

पलेँटीमा मीनाले नयाँ र पुराना १६ वटा गीत गाउनेछिन्। केही युगल गीतको प्रस्तुती रहनेछ जसमा मीनालई आभासले साथ दिनेछन्। पलेँटीका निम्ति वैरागी काईंला, मञ्जुल, दिनेश अधिकारी, श्रवण मुकारुङ र आभासले लेखेका गीतहरु छनोटमा परेको संगीतकार आभासले जानकारी दिए। उनले आफूले सिर्जना गरेका नयाँ गीतहरु पनि प्रस्तुत गरिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.