|

विराटनगर : फोहोरको कारण कुरुप बन्दै गएको विराटनगर माहानगरपालिकामा बृहत् सरसफाइ सुरु भएको छ। जनप्रतिनिधि तथा सरकारी उच्च अधिकारीहरुका साथ आइतबारदेखि विराटनगरको फोहोर संकलन सुरु गरिएको हो। बाढी र डुबानका कारण अझै बढेर फोहोरमय महानगर बनेको आरोप खेपिरहेको बेला माहानगरपालिकाले यस्तो अभियान सुरु गरेको हो।

फोहोरका कारण सर्वसाधरणमा समस्या नहोस् भनेर सर्वपक्षीय सहमतिमा फोहोर व्यवस्थापनको काम सुरु गरिएको विराटनगरका प्रमुख भीम पराजुलीले जानकारी दिए। यसलाई अभियानकै रूपमा अघि बढाइएको जानकारी दिँदै उनले फोहोर व्यवस्थापन नभएसम्म निरन्तरता दिइने बताए।

फोहोर व्यवस्थापनका लागि पहिलो चरणमा तीन ठाउँमा नगरपालिकाका कर्मचारी सहितको अलगअलग टोली परिचालित छ। सुरक्षाकर्मीलाई पनि अलगअलग ठाउँमा परिचालन गरिएको छ। विराटनगरको बरगाछीदेखि रोडशेषसम्म सशस्त्र प्रहरी, तीनपैनीदेखि रोडशेषसम्म नेपाल प्रहरी, हनुमानस्थानदेखि सिंघीय खोलासम्म नेपाली सेनाको टोली परिचालित छ।

सशस्त्रको नेत्रृत्व सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय मोरङका प्रमुख भेषबहादुर शाहा, नेपाल प्रहरीको नेत्रृत्व मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसी र सेनाको नेतृत्व सूर्य दल गण थालाहाका प्रमुख सेनानी इन्दिबर विष्टले गरेका थिए। सुरक्षा अधिकारीले नेतृत्व गरेको सुरक्षाकर्मीको टोलीमा सरफाइका लागि ठूलो संख्यामा नगरपालिकाका कर्मचारी पनि परिचालित रहेको एसपी बिसीले बताए।

पूर्वक्षेत्रीय प्रहरी प्रमुख डिआइजी रमेश भट्टराई र पूर्वक्षेत्रीय सशस्त्र प्रहरी प्रमुख डिआइजी जानकीराज भट्टराईले सबै ठाउँमा थुप्रिएको फोहोर संकलनमा जुटेर सर्वसाधारणलाई सम्भावित जोखिम र फैलन सक्ने विभिन्न रोगको महामारीको संक्रमणबाट जोगाउन सक्रियता बढाउन मातहतका युनिटहरुलाई निर्देशनसमेत दिएका छन्। महानगर प्रमुख पराजुली र प्रजिअ रामप्रसाद आचार्यले विराटनगरका सबै ठाउँमा पुगेर फोहोर संकलनमा सहयोग गर्दै फोहोर व्यवस्थापनको अनुगमन पनि गरेका छन्।

सरसफाइमा सक्रिय टोलीले आइतबार मात्रै विराटनगरमा थुप्रिएमध्ये १ सय १० मेट्रिक टन फोहोर संकलन गरेर ब्रह्मापुरास्थित डम्पिङ साइडमा व्यवस्थापन गरेको छ। कुहिने र नकुहिने फोहोरलाई अलगअलग रुपमा संकलन गरेर व्यवस्थापन गर्न थालिएको हो। विराटनगरमा सामान्य अवस्थामा दैनिक ७० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको नगरपालिकाले जनाएको छ।

विराटनगर महानगरपालिकाका प्रमुख पराजुली आइतबार बिहानै महानगरका कर्मचारी र सुरक्षाकर्मीसहित विराटनगरको बरगाछीमा हातमा ग्लोब्स (पञ्जा) लगाएर निस्किएका थिए। उनी मात्रै नभएर मोरङका प्रमुख जिल्ला अधिकारी आचार्य र सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय मोरङका प्रमुख एसपी शाह पनि सरसफाइमा खटेका थिए। विराटनगरको फोहोर तत्काल व्यवस्थापन नगरिए महामारी फैलन सक्ने चिकित्सकले यसअघि नै चेतावी दिएका थिए।

‘विराटनगरमा आएको बाढीले धेरै घर डुबानमा परे। घर डुबानसँगै बाढीले सबै ठाउँमा फोहोर थोपरिदियो,’ नगरप्रमुख पराजुलीले भने, ‘फोहोरको डंगुर गह्नाएर अहिले विराटनगरमा हिँडिसक्नु र बसिसक्नु छैन। त्यही भएर सबैसँग हातेमालो गर्दै फोहोर व्यवस्थापनमा सक्रियता बढाइएको हो।’

उनका अनुसार बाढीले थोपरेको फोहोरको दुर्गन्धका कारण विराटनगरलगायत आसपासका क्षेत्रमा विभिन्न रोगको महामारी फैलने खतरा बढेर गएको छ। फोहोरका कारण सर्वसाधारण पीडित हुन थालेपछि स्थानीय निर्वाचनमा जनताले दिएको मतको कदर गर्दै सडकमा फोहोर उठाउन जनप्रतिनिधि आफँै खट्न थालेको उनको स्पष्टोक्ति थियो।

भारी वर्षासँगै आएको बाढीले फोहोर थोपरेको एक सातापछि विराटनगरको फोहोर संकलन गरेर व्यवस्थापन गर्नका लागि जनप्रतिनिधि र सुरक्षा अधिकारीहरु आफैँ ‘फिल्ड’ मा खटिन थालेका हुन्। प्रमुख पराजुलीले बाढीले सबैभन्दा बढी फोहोर थोपरेको ठाउँलाई प्राथमिकतामा राखेर व्यवस्थानको काम सुरु गरिएको बताए। ‘विराटनगरमा धेरै फोहोर थोपरिएको छ।

वर्षा र बाढीका कारण सातादेखि फोहोर उठाउन सकिएको छैन,’ उनले भने, ‘फोहोर नउठ्दा मानवीय स्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ। सडकमा थोपरिएको फोहोरले मानिसलाई आवतजावत र सवारीसाधनलाई आवागमनमा समेत समस्या हुँदै आएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.