|

गोरखा : जिल्लामै सबैभन्दा धेरै आलु उत्पादन हुने गुम्दामामा तेस्रो आलु महोत्सव भएको छ। गत १ गतेदेखि सुरु भएको मेला सोमबार समापन हुँदैछ। स्थानीय स्तरमा उत्पादन हुने चार प्रकारका आलुहरुको प्रवद्र्धन गर्न महोत्सव आयोजना गरेको धार्चे गाउँपालिका ५ गुम्दाका वडाअध्यक्ष तुलबहादुर गुरुङले जानकारी दिए।

स्थानीय थमरा युवा क्लबको आफ्नो साधारण सभाको अवसरमा आलु महोत्सव समेत आयोजना गर्दै आइरहेको छ। आलु महोत्सव गरिएको गुम्दा गाउँ गोरखा सदरमुकामबाट ३ दिनको पैदलयात्रामा पुगिन्छ। गाउँसम्म कच्चीसडक पुगेकाले हिउँदमा भने जिप, ट्रक र ट्याक्टरहरु पनि चल्छन्।

‘यहाँको मुख्य खेती नै आलु हो’ उनले भने ‘यहाँ आलु धेरै भएर कुहिएर जान्छ। कोही वस्तु भाउलाई खुवाउँछ। त्यसो हुन नदिन र प्रचार प्रसार गर्न नै महोत्सव आयोजना गरिएको हो।’ गुम्दा आसपासको क्षेत्रमा कति आलु उत्पादन हुन्छ भन्ने सरकारी तथ्याङ्क नभएपनि त्यहाँको मुख्य बाली नै आलु हो।

गुम्दामा चार थरीका आलु पाइने वडा अध्यक्ष गुरुङले बताए। त्यहाँ सेतो, कालो, रातो र लाम्चो खालको आलु पाइन्छ। महोत्सवमा स्थानीयहरुले आलु लगायतका स्थानीय स्तरमै उत्पादन हुने खाद्यन्न सँगै, भेडाको उनबाट बुन्ने बख्खु, डोको, नाम्लो भकारी लगायतका चिजविजहरुको बिक्री समेत गरेका छन्।

मेलामा आलुको मूल्य प्रति पाथी एकसय ५० रुपैयाँ तोकिएको छ। मेला अवलोकन गर्न धार्चे गाउँपालिका सँगै सुलीकोट, शहिद लखन गाउँपालिका, आरुघाट गाउँपालिका, चुमनुब्री गाउँपालिकाबाट उल्लेख्य संख्यामा मानिसहरु आएको उनले बताए।

महोत्सवकै अवसरमा भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, भूकम्पपछिको पुननिर्माण सम्बन्धी सडक नाटक लगायतका कार्यक्रम पनि गरिएको छ। भलिबल प्रतियोगितामा, गुम्दा सगै, लाप्राक, सिर्दिबास, बारपाक, आरुघाट गाउँपालिका लगायतका क्षेत्रका स्थानीय स्तरका क्लबहरु सहभागी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.