|

पाँचथर : मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको याङ्वरक गाउँपालिकाको थर्पु बजार रातभरी पनि उज्यालो पार्ने योजनासहित केही महिनाअघि २५ वटा सौर्यबत्ती जडान गरियो। २१ लाख २५ हजार रुपैयाँको लागतमा काठमाडौंको अल्ट्रा इन्फोसिसबाट सौर्यबत्ती ल्याई जडान गरियो। तर अहिले जम्मा ५/६ वटा मात्रै बल्छ। अधिकांश बत्ती एकछिन बलेर झ्याप्पै निभ्छन्। सौर्यबत्तीबाटै चल्ने गरी बजारका विभिन्न ठाउँमा जडान गरिएको सिसी क्यामेरा पनि प्रभावहीन देखिएको छ।

थर्पुका होटल व्यवसायी जगत दाहालले सौर्यबत्ती नाम मात्रैको भएको बताए। एकाध बाहेकका बत्तीहरु एक छिन धिपिक धिपिक बलेर झ्याप्पै निभ्ने भएकाले सौर्यबत्ती 'हर्ष न विष्मात' भएको बताए। ‘बत्ती त छ, तर छ कि छैन भन्ने?’ उनले शंका गरे, ‘सौर्यबत्ती गुणस्तरीय नभएको हुनसक्छ।’

सौर्यबत्ती जडानको अगुवाई गरेको उद्योग वाणिज्य संघ थर्पुका अध्यक्ष राममोहन कार्कीले भने सौर्य प्यानल भूगोल अनुसार उपयुक्त जडान नगरिएको बताए। घाम कम लाग्ने क्षेत्रमा उपयुक्त हुने खालका प्यानल ठेकेदार कम्पनी अल्ट्रा इन्फोसिसले जडान गरिदिएको भए एकछिन बलेर झ्याप्प निभ्ने समस्या नआउने दावी गरे। ‘बजार क्षेत्र उज्यालो होस् भनेर सौर्यबत्ती जडान गरियो’ उनले भने, ‘अहिले बत्ती नबल्दा पैसा खाएर कम गुणस्तरको सौर्यबत्ती जडान गरियो भन्छन्, म बद्नाम भएँ।’

बजारवासीलाई भन्दा पनि सौर्यबत्तीको समस्याले आफूलाई बढी पीडा परेको अध्यक्ष कार्कीले बताए। सौर्य बत्ती बजार क्षेत्रको सडक आसपासमा जडान गरिएको छ।

सौर्य बत्ती जडान गर्ने अल्ट्रा इन्फोसिसका एड्मिनिस्ट्रेसन मेनेजर चन्द्र खनालले भने सौर्यबत्ती, प्यानल र व्याट्री वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबाट प्रमाणित भएको भन्दै घाम नलाग्ने हुनाले बत्ती बल्न समस्या भएको दावी गरे। उनले सोलारलाई आवश्यक न्यूनतम तापक्रम पनि नपुगेको हुनाले बत्ती नबलेको भन्दै निरीक्षण गर्न इञ्जिनियर सहितको टोली थर्पुमा आउने जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.