|

बाँके : गैर सरकारी संस्थाहरुले बाढीग्रस्त क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्न चाहना राखे पनि सडक सुविधा नपुगेको ठाउँमा जान आनाकानी गरेका छन्। सडक सञ्जाल भएको र सजिलै जिप र भ्यान जान सक्ने ठाउँमा मात्र स्वास्थ्य शिविर सञ्चालनको माग गर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयका महामारी रोग नियन्त्रण फोकल पर्सन रामबहादुर चन्दले बताए।

उनले बाँकेको विकट मानिने नरैनापुर गाउँपालिकाको मटेहिया, गंगापुर र फत्तेपुरको खल्ला झगडिया, गेन्दवा, भर्ठा, बैजापुरका लालपुर, साविक बिनौना गाविसको चिलहरिया लगायत स्थानमा स्वास्थ्य शिविर आवश्यक भए पनि शिविर सञ्चालन गर्न नमानेपछि कडाई गरिएको बताए।

‘जिल्ला जनस्वास्थ्यले आवश्यक ठाउँमा नजानेलाई शिविर सञ्चालन गर्न नदिने चेतावनी दिइएको छ,’ चन्दले भने।  उनले स्वास्थ्य शिविर मार्फत हालसम्म ५ हजार ६ सय ७७ जना बाढी पीडितको स्वास्थ्य परीक्षण गरी औषधी प्रदान गरिएको बताए। उनका अनुसार आइतवार राप्ती–सोनारी गाउँपालिका अन्तरगत फत्तेपुर, बैजापुर, विनौना र राजपुर तथा नरैनापुर गाउँपालिकाको गंगापुर, खजुरा गाउँपालिकाको खजुरा एवम् डुडुवा गाउँपालिकाको कम्दी र बनकट्टीमा स्वास्थ्य शिविर सञ्चालन भएको छ।

भाइरल ज्वरोले एकको मृत्यु

भाइरल ज्वरोका कारण बाँकेमा थप एक जनाको मृत्यू भएको छ। भाइरल ज्वरोले थलिएका डुडुवा गाउँपालिका–३, बनकट्टीका १० वर्षीय सिमित्री कुम्हारको उपचारका क्रममा भेरी अञ्चल अस्पतालमा मृत्यू भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

यसअघि भाइरल ज्वरोले राप्ती–सोनारी गाउँपालिका–६, पनेरियाकी २३ वर्षीया श्यामा थापाको मृत्यू भइसकेको छ। उनको पनि उपचारको क्रममा भेरी अंचल अस्पताल नेपालगन्जमा मृत्यू भएको थियो।

बाढीपछि पशुको आँखा र मुख पाक्ने समस्या

जिल्ला पशु सेवा कार्यालय बाँकेले बाढीले घाइते भएका पशुपंक्षिको उपचारका लागि गाउँ–गाउँमा सञ्चालन गरेको पशु स्वास्थ्य शिविरमा ५ सय बढि घाइते र विरामी पशुको उपचार गरेको छ।

पशुपंक्षीमा विभिन्न किसिमका रोग र संक्रमण देखिन थालेपछि बाढीग्रस्त क्षेत्रमा शिविर मार्फत उपचार गरिएको बरिष्ठ पशु चिकित्सक डा. बेदबहादुर केसीले बताए। बाढीपछि पशुपंक्षीमा आँखा, मुख पाक्ने, पातलो दिसा गर्ने समस्या देखिएको जानकारी दिए।

‘तिब्र गतिमा बग्ने खोला र नदीको भेलमा परेका पशुको गर्भ तुहिने, ढुंगा तथा तारले काटेर घाउ हुने समस्या पनि देखिएको छ,’ उनले भने। उनले बाढीले साढे ११ करोड रुपैयाँ भन्दा बढी पशुपंक्षी र गोठ तथा खोरमा क्षति पुगेको बताए। सबैभन्दा धेरै राप्ती–सोनारी गाउँपालिकाको फत्तेपुर, बैजापुर, बिनौना र कचनापुर क्षेत्रमा क्षति पुगेको बताउँदै उनले प्रारम्भिक तथ्यांक संकलन गरेर मन्त्रालयमा पठाइसकेको बताए।

'बाख्राको पकेट क्षेत्र मानिने क्षेत्रका पशुचौपाया मरेको जानकारीमा आएको छ,’ डा. केसीले भने। उनले राहतका लागि पहल भए पनि अहिलेसम्म मन्त्रालयबाट कुनै जवाफ नआएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.