|

झापा : साउन २७ गते राति रतुवा खोलामा आएको बाढी धार परिर्वतन गर्दै  गौरादह–५ बालुवथानकी शारदा पन्धाकको घरमा पस्यो। घरका सबै सामानहरु बगायो। कुष्ठरोगबाट अपांग बनेका पतिलाई बचाउन समेत उनलाई हम्मेहम्मे पर्‍यो।

राति खोला तरेर बाहिर निक्लन सक्ने अवस्था भएन। भोलिपल्ट स्थानीयको सहयोगमा पतिलाई लिएर आफन्तकोसम्म पुगिन्। अहिले पनि उनकै घरबाट खोला बगेको छ। ३ बिगाह खेती पनि बगायो। अब घर फर्कन सक्ने अवस्था छैन।

‘खोला एक किलोमिटर पश्चिममा बग्दै थियो, हामीले कल्पनासम्म गरेका थिएनौँ, यहाँसम्म खोला बग्छ भनेर’, उनी भन्छिन्,‘ सधै गरिब दुखीलाई त समस्या आउने रहेछ नि।’

अब कसरी घर फर्कने भन्ने चिन्ता छ उनलाई। भन्छिन्,‘भएको सबै खोलाले बगर बनायो, अब कहाँ जाने आफन्तकोमा पनि कहिलेसम्म बस्ने, आफ्नो भन्नु एक चपरी माटो पनि छैन।’ खेत पनि बगाएपछि उनलाई अब के गरी खाने भन्ने चिन्ता छ। उनी भन्छिन्,‘ अहिलेसम्म त यही खेतीले खुवाउँदै थियो, अब के गरेर खाने?’

उनी मात्र होइन झापामा बाढीबाट विस्थापित २ हजार ४ सय ४४ घरपरिवार विभिन्न सामुदायिक भवन, विद्यालय तथा आफन्तकोमा आश्रय लिएर बसिरहेका छन्। सरकारी निकाय र सघं सस्थाले उपलब्ध गराएको राहतले उनीहरुको ज्यान त बच्यो, तर घर तथा जग्गाविहीन भएकाले अब कसरी पुनर्स्थापित हुने भन्ने चिन्ता छ।

विस्थापितहरु सकेसम्म घरलाई बस्न योग्य बनाउने र गुजारा सुरु गर्ने तरखरमा छन्। तर, घरबार नै गुमाएकाहरु संकटमा छन्। आश्रयस्थलमा बसेका बेला सरकारी निकाय तथा विभिन्न संघ सस्थाहरुले दिएको राहतले तत्कालको समस्या टरे पनि आउँदा दिनमा समस्या कसरी टार्ने भन्ने तनाव उनीहरुलाई छ।

बाढीबाट आफन्तसँगै घरबार गुमाएका र खेतबारी बगाएकाहरुले राहत सँगसँगै व्यवस्थित बसोबासको व्यवस्था सरकारले गरिदिनुपर्ने माग गरेका छन्।

बाढीले झापा गाउँपालिका ३ सिमलबाडी टेकबहादुर दर्नालको घरसंगै पत्नी र छोरी पनि लग्यो। उनी आफन्तकोमा पत्नी र छोरीको किरिया गर्दैछन्। ‘बुढी र छोरी त लग्यो नै, घर पनि लग्यो, सरकारले थोरै जग्गा र घर बनाइदिए हुन्थ्यो' उनले भने।

कमल गाउँपालिका–१ का रेवती गजुरेलको घर बाढीले भत्कायो। शनिबारसम्म त उनको ६ जनाको परिवार नजिकैको नवदुर्गे आधारभूत विद्यालयमा बस्दै थिए। तर आइतबारदेखि विद्यालयमा पढाइ सुरु भएपछि छाड्नुपर्‍यो। उनी अहिले घर छेउको जीर्ण अवस्थामा रहेको ग्वालीमा बस्दै छन्। ठाउँ साँघुरो भएकाले ग्वालीमा दुई जना र अरु चाहिँ आफ्नत तथा छिमेकीकोमा शरण लिएर बसेका छन्। ‘अब कहिलेसम्म यसरी दैनिकी चलाउने आफू त मजदुर मान्छे, अब त घर पनि फर्कनुपर्छ, अहिलेसम्म त राहत दिएको भरमा चल्दैछ, अब छोराछोरीको भविष्य पनि हेर्नुपर्छ, एउटा घरचाहिँ व्यवस्था भए, हामी जसरी पनि खाने थियौं।’

कमल गाउँपालिका १ वडाअध्यक्ष केदार कटुवालले बाढीपीडितहरुलाई खानको राहत भन्दा पनि बस्ने ठाउँको आवश्यकता रहेको बताए। उनले भने, ‘राहत भन्दा पनि उनीहरुलाई अहिले घरको आवश्यकता छ, कतिञ्जेल स्कुलमा बसेर बिताउने?’

जिल्ला विपद् व्यवस्थापन शाखाको तथ्यांक अनुसार झापामा बाढीका कारण २ हजार ४ सय ४४ घरपरिवार विस्थापित भएका छन्। २ हजार ५ सय २४ घर परिवार प्रभावित भएका छन् भने, १ सय २१ घर पूर्णरुपमा क्षतिग्रस्त छ। जिल्लामा ७ हजार हेक्टर जमिनमा गरिएको धान खेती बगरमा परिणत भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.