|

विराटनगर : बाढी र डुबानका कारण ठप्प भएको नेपाल सामान आयात गर्ने भारतको जोगवनीको मुख्य राजमार्ग खुलेको ५ दिनमै पुनः बन्द भएको छ।

भारतको बिहार राज्यस्थित बथनाहाको पुल भासिएका कारण सामान बोकेका ठूला गाडीहरु ओहोरदोहोरमा भारतीय प्रशासनले रोक लगाएको छ। पुलबाट ठूला गाडी आवत–जावतमा रोक लगाएसँगै जोगबनी हुँदै विराटनगर भन्सार कार्यालयबाट आउने सामान आयात पनि रोकिएको छ।

‘भारतको बथनाहामा पुलमा समस्या भएको जानकारीमा आएको छ,’ विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरले भने, ‘कहिले बन्छ र कहिलेदेखि भन्सारको काम सुचारु हुन्छ कुनै जानकारी छैन।’

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले आफूले पनि भारतबाट जोगबनी हुँदै विराटनगर भित्रिने सामान आयातमा समस्या भएको थाहा पाएको बताए। ‘सामान आयात आजदेखि ठप्प छ भन्ने थाहा पाएको छु,’ पौडेलले भने, ‘कहाँ के भएको विस्तृत थाहा पाएको छैन।’ सामान आयात ठप्प हुँदा राजस्व असुली पनि प्रभावित भएको छ।

साउन महिनामा पनि बाढी र डुबानका कारण पीडितले सामान आयात रोक लगाउँदा विराटनगर भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको छ। पुलमा आएको समस्या समाधान नभएसम्म सामान आयात नहुँदा पुनः राजस्व असुली प्रभावित हुने देखिएको छ।

भन्सार कार्यालयका अनुसार भदौ महिनामा २ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ। पुल धसिएसँगै जोगवनी नाका भएर नेपाल आउने इन्धन तथा अत्यावश्यक सामान आयात पनि रोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.