|

काठमाडौँः नेपाली गजलको विकास, बिस्तार र परिष्कारमा एक दशकभन्दा अगाडिदेखि सक्रिय अनाममण्डलीले हरेक वर्ष प्रदान गर्दै आएको मोतीराम-सेतुराम गजल पुरस्कार यस वर्ष संगीतकार चण्डीप्रसाद काफ्ले र लोकेन्द्र बञ्जारालाई दिइएको छ।

आदिगजलकार मोतीराम भट्टको १५२औँ जन्मजयन्तीको अवसरमा सोमबार राजधानी काठमाडौँमा अनाममण्डली र नेपाल प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले दुवै स्रष्टालाई पाँच/पाँच हजार रुपैयाँ राशिका ती पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए।

संगीतकार काफ्ले शास्त्रीय संगीतको प्रशिक्षणमा लामो समयदेखि क्रियाशील छन्। उनी पछिल्लो समय गजल संगीतमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन्।

युवागजलकार लोकेन्द्र बञ्जारा दुई दशकदेखि नेपाली गजललेखनमा सक्रिय छन्। उनका ‘आँखाभरि सपना’, २०६२ र ‘जैतुन’, २०७३ गजलकृति प्रकाशित छन्। यस पटकको पुरस्कार बञ्जाराले ‘जैतुन’ गजलकृतिका लागि प्राप्त गरेका हुन्।

कार्यक्रममा डा. नारायणप्रसाद शर्मा गैरेले ‘समकालीन नेपाली गजलका प्रवृत्ति र प्रयोग’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमा डा. गैरेले २०३५ यताको समयलाई नेपाली गजलको समकालीनताको रूपमा लिँदै यस कालका नेपाली गजलमा विकृत राजनीतिप्रति असन्तुष्टि, शृङ्गार, अमानवीयता, बेरोजगारी समस्या, बहरको प्रयोग, गजलमै काव्य, महाकाव्य र नाटकलेखन जस्ता कुराहरू पाइएको उल्लेख छ।

प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै युवाकवि, गजलकार एवं समालोचक तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले ४० वर्षको अवधिमा धेरै कुराहरूमा परिवर्तन हुने हुँदा समकालीनता मान्न नसकिने धारणा राखे। विशेषतः २०४६ सालको राजनीतिक परिवर्तनपछि सामाजिक, साँस्कृतिक, राजनीतिक, आर्थिक रूपमा नयाँ कालको सुरुवात भएको हुँदा साहित्यमा पनि त्यसको प्रत्यक्ष, परोक्ष प्रभाव पर्ने भएकाले त्यसयताको समयावधिलाई समकालीनताभित्र समेट्न सकिने बताए।

ओझाले नेपाली गजलमा बहर वा लयका बारेमा ०६० को दशकयता अत्यधिक विवाद र बहस भएको उल्लेख गर्दै नेपाली गजलले बहर र लयको बाटोमा नहिँडी स्तरीय र गजलको शास्त्रीय मान्यताअनुरूपका गजल सिर्जना हुन नसक्ने दाबी गरे। उनले अग्रजहरूलाई गजलको शास्त्रीयताबारे प्रष्ट ज्ञान हुन नसकेको भन्दै आफूले जति जानेको छ, त्यति नै सबै हो भन्ने भ्रम अग्रजहरूले अनुजहरूमा छरेको र त्यसै कारण गजल बढी विवादित बनेको आरोप लगाए।

अनाममण्डलीका अध्यक्ष रूपक अलंकारले नेपाली गजललाई परिष्कृत गर्न र गजलको विकास गर्न अनाममण्डली क्रियाशील रहेको बताए। आगामी दिनमा पनि यस्ता कार्यहरू निरन्तर गरिरहने उनको भनाइ थियो।

प्रज्ञाप्रतिष्ठानका कुलपति उप्रेतीले नेपाली गजलको विकास र बिस्तारमा अनाममण्डलीले निकै लामो समयदेखि महत्त्वपूर्ण कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि अनाममण्डलीसँग मिलेर धेरै काम गर्ने बताए।

प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख डा. अमर गिरीले गजलका बारेमा अझै पनि धेरै स्रष्टा, समालोचकहरूमा भ्रम रहेको उल्लेख गर्दै गजल काव्यको अत्यन्तै सशक्त विधा भएकाले यसको उन्नयनमा लाग्नु सराहनीय कार्य भएको बताए। उनले अनाममण्डली जस्ता संस्थाले गजलको विकास र बिस्तारमा गरिरहेका कार्यको प्रशंसा पनि गरे।

कार्यक्रममा डा. देवी नेपाल, बलराम दाहाल, बाबु त्रिपाठी, पुरु लम्साल, प्रदीप मैनाली, राधा कणेल, विकास प्रहर, रामबहादुर पहाडी, कृष्ण घिमिरे, विवेक बिषालु, विपुल सिजापति, रचना दाहाल, संगीता पनेरु, ज्ञानु विद्रोहीलगायतले गजलवाचन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.